धरान: उपचारको क्रममा मृत्यु भएकी भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको आइतबार गाउँमै अन्त्येष्टि गरिने भएको छ ।

विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा आज(शनिबार) बिहान निधन भएकी ४५ बर्र्षीया राईको शव अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ । उनको शव भोली हतुवागढी–४ खैराङस्थित आफ्नै गाउँमा अन्त्येष्टि गरिने गाउँपालिकाले जनाएको छ । उपाध्यक्षको निधन भएपछि आज विहान गाउँपालिकाको आकस्मिक बैठकले शव गाउँमा नै ल्याएर अन्त्येष्टि गर्ने निर्णय भएको गाउँपालिकाका प्रबक्ता कुमार विष्टले बताए । ‘उपचारको क्रममा विराटनगरको न्यूरो अस्पतालमा उहाँ(उपाध्यक्ष राई)को दुःखद निधन भयो’ प्रबक्ता विष्टले भने ‘अहिले उहाँको पार्थिब शरीरलाई वीपी प्रतिष्ठानको मर्चरीमा राखिएको छ । अब भोली(आइतबार)गाउँमा ल्याएर अन्तिम संस्कार गर्ने निर्णय गरिएको छ ।’

मृतक उपाध्यक्ष राईको भाई पोखरामा भएकोले आइतबार आइपुगेपछि गाउँमा ल्याउने उनले बताए । ‘उहाँको भाई पोखरामा हुनुहुन्थ्यो, अब भोली(आइतबार) धरान आइपुगेपछि उहाँको पार्थिब शरीर गाउँमा ल्याउछौं । अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम राखिएको छ । परिवारले आफ्नै जग्गामा राख्ने भन्ने छ,’प्रवक्ता विष्टले भने ।

धरानमा मुख्यमन्त्री, सभामुखले श्रद्धाञ्जली दिने

मृतक उपाध्यक्ष राईको पार्थिब शरीरमा आइतबार बिहान प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिपकुमार भण्डारीले श्रद्धाञ्जली दिने नेकपा जिल्ला कमिटि सदस्य तथा हतुवागढी गाउँकमिटिका अध्यक्ष मुक्ति राईले बताए । ‘भोली वीपी प्रतिष्ठानको मर्चरीमा पुगेर प्रदेश १ का माननिय मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी पनि पुगेर उहाँलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ,’ उनले भने ।

'ज्वरो पछि जन्डिस भएको थियो' 

गाउँपालिकाका प्रबक्ता विष्टका अनुसार उपाध्यक्ष राईलाई गत भदौं २७ गते ज्वरो आएपछि भदौं २९ गते घोडेटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि भर्ना गरिएको थियो । त्यहाँ उनलाई जण्डिस देखापरेको उनले बताए । ‘उहाँलाई भदौं २७ गते ज्वरो आएपछि दुई दिन घरैमा बस्नुभएछ । जाती नभएपछि गाउँपालिका अध्यक्ष ज्यूलाई खबर गर्नुभयो । अनी हामीले घोरेटार प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर भर्ना गर्यौं,’उनले भने,‘त्यहाँ चेक गर्दा जण्डिस देखियो । फेरी दुई दिनपछि चेकगर्दा जण्डिस घटेको देखियो, ज्वरो पनि कम भयो ।’

असोज १ गते बेलुका डिस्चार्ज गर्ने तयारी हुदैगर्दा उपाध्यक्ष राईलाई विहान एक्कासी पखाला लागेको र रक्तचाप समेत कम देखिएपछि समस्या भएको थियो । त्यसपछि जिल्ला अस्पताल भोजपुरको सुझाव अनुसार त्यही दिन दिउसो ३ बजेतिर सहयोगीका साथ एम्बुलेन्सबाट वीपी प्रतिष्ठान पठाएको प्रवक्ता विष्टले बताए । वीपीमा पीसीआर नेगेटिभ आएपछि राती ११ बजेदेखि उपचार सुरु गरिएको उनको भनाई छ ।

‘वीपीको इमरजेन्सीमा राखेर राती ११ बजेदेखि उपचार सुरु भएको जानकारी आयो, तर, विहानै वीपीले कोसी अस्पताल लैजानु भनेपनि न्यूरोमा लगेर आइसियूमा राखिएको थियो । एक्कासी आज विहान ३ बजे तिर निधन भयो भन्ने खबरले हामी स्तब्ध भयौं ।’ उपाध्यक्ष राईको के कति कारणले निधन भएको हो भन्ने बारे प्रष्ट थाहा नभएकोले बुझ्ने प्रयास भइरहेको समेत उनले बताए । मृतक राई उनी तत्कालिन नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । हाल नेकपा जिल्ला कमिटि सचिवालय सदस्यसमेत रहेकी मृतक राई अविबाहित हुन् । उनी आफ्नै भाई बुहारीको साथमा बस्दै आएकी थिइन् ।