धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सल्लाहकारसमेत रहेका स्वकिय सचिव दिलिप भट्टराई आर्थिक विवादमा मुछिएका छन् ।
उपकुलपतिका प्रशासनिक सल्लाहकार र स्वकिय सचिवमा नियुक्ती पाएपनि प्रतिष्ठानको हरेक कार्यमा उनको हस्तक्षेप हुने गरेको आरोप लाग्दै आएको छ । उपकुलपति डा.गिरीको हरेक निर्णय उनकै प्रभावमा हुने गरेको छ भने पछिल्लो समय कोभिड अस्पतालमा प्रक्रिया विपरीत खरिद भएको सामान तथा उपकरणहरुमा पनि व्यापारीसँग मिलेमतोको विवादमा उनी मुछिएका थिए । प्रक्रिया विपरित भएको खरिदको बिल बनाउन अनावश्यक दबाब परेपछि कोभिड अस्पताल प्रमुखले राजिनामा दिइन् भने खरिद शाखा प्रमुख तथा मुल्यांक समितिका सदस्य सचिव विष्णु चापागाई ४ महिना पनि नपुग्दै सरुवा भए । यो सरुवामा पनि भट्टराईकै हात रहेको आरोप छ ।
विगतमा लाग्दै आएको आरोपलाई पुष्टि हुने गरि अहिले भट्टराईमाथि पुनः कोभिड अस्पतालको डोर क्लोजर मेशिन फिट गरेको कम्पनीबाट खाली बिल लगेर ज्याला भन्दा झण्डै ४ गुणा बढी बिल पेश गरेको आरोप लागेको छ । उनले मिडियालाई दिने प्रतिक्रिया तथा अभिव्यक्तिले पनि उनी सल्लाहकार र स्वकिय सचिवमा मात्र सिमित नभै 'कार्यकारी' भएको सहजै अनुमान गर्न सकिन्छ । कोभिड अस्पतालमा डोर क्लोजर मेशिन धरान १५ स्थित दिप्सन ग्रिल उद्योगले फिट गरेको थियो । उक्त उद्योगका सञ्चालक भुपाल राईका अनुसार करिब ६ महिना अघि २५ वटा मेशिन फिट गरेपनि अहिलेसम्म भुक्तानी पाएका छैनन् । तर, उपकुलपतिको सल्लाहकार भट्टराईले ७ वटा खाली बिल लगेर आफुले पाउनुपर्ने भन्दा झण्डै ४ गुण बढी मुल्य राखेर बिल पेश गरेको प्रमाण आफुले पाएको ग्रिल सञ्चालक राईले बताए ।
उपकुलपतिका सल्लाहकार भट्टराईले लेखामा पेश गरेको भनिएको बिलसमेत उद्योगी राईले सार्वजनिक गरेका छन् । उनका अनुसार एउटा मेशिनको बजार मुल्य ८५० र १०० रुपैया फिटिंग चार्ज गरेर ९५० मा भट्टराईले नै सिधै डिल गरेपछि काम भएको थियो । अस्पतालको २५ वटा डोर क्लोजर मेशिनको काम सकेपछि भट्टराईले ७ वटा बिल मागेर लगेका थिए । भट्टराईले भने ३३ सयको बिल पेश गरेको आफुले प्रमाण फेला परेको उनले बताए । ‘मलाई अहिलेसम्म पैसा दिएको छैन । माग्दा पनि झुलाको झुलाकै गर्यो । तैले के गर्न सक्छस् भनेर पनि धम्की दियो,’उद्योग सञ्चालक राईले भने,‘लेखामा गएर बुझे । मैले ९५० मा काम गरेको थिएँ, तर उसले एउटाको ३३ सयको बिल पेश गरेको रहेछ ।’
ग्रिल उद्योग सञ्चालक राईले ९५० को दरले २५ वटा मेशिन फिट गर्दा कुल २३ हजार ७ सय ५० पाउनुपर्नेछ । तर, उपकुलपतिको सल्लाहकारले भने ८० हजारको बिल पेश गरेका छन् । यो हिसाब गर्दा ५६ हजार २ सय ५० रुपैया बढी हो । ‘२० हजार माथिको भ्याट बिल काट्नुपर्छ । त्यसैले उसले १९ हजार २ सयको ४ वटा बिल बनाएछ, र एउटाको ३३ सयको बिल बनाएर पेश गरेको रहेछ,’राईले भने ।
यो भन्दा अघि पनि राईले डोर क्लोजर मेशिन १२ वटा फिट गरेका थिए । त्यसबेला पनि भट्राईले विल विना नै काम सकेलगत्तै पैसा भुक्तानी दिएका थिए । त्यो १२ वटा र २५ वटा मेशिन पनि जोडेर ९५० को दरले हिसाब गर्दा पनि राईले पाउनुपर्ने रकम ३५ हजार १ सय ५० मात्र देखिन्छ । ‘खाली बिल लगेर म आफै मिलाउछु भन्थ्यो, अहिलेसम्म मैले काम गरेको पैसा पाएको छैन,’राईले भने ।
के भन्छन् भट्टराई ?
उपकुलपति डा.गिरीका सल्लाहकार भट्टराई भने आरोप अस्वीर गर्छन् । उनले कोरोना हस्पिटलमा डोर लक हाल्नुपर्ने डाक्टरहरुको अनुरोध आएपछि शुरुमा केही संख्यामा विराटनगरबाट मगाएर जडान गरिएको बताए । ‘जडान गर्न चै उहाँको सपोर्ट मागेको हो । शुरुमा १०÷१२ हजार कति हो, उहाँले भनेर दिए, मेरो तलब आएको थियो । पछि बिल लिएर दिनु भने, अहिलेसम्म दिएको पनि छैन,’भट्टराईले भने,‘पछि थप डोर लक लगाउनु पर्ने भयो । विराटनगरकै रेटमा यहाँ पाईन्छ भने गर्दिनु भनेर उहाँलाई नै दिएको हो ।’
उनले काम लगाउने बेला रेट नसोधेको र पछि काम सकिएर एकैचोटी ८० हजार भयो भनेर राईले नै भनेको दाबी गरे । बिलमा दररेट उद्योग सञ्चालक राईले नै लेखेको भट्टराईको दाबी छ । ‘उहाँले नै ८० हजार जति भयो भनेको हो । मैले डिभाईड गरेर बनाउनुस् भने, बिल उहाँले नै लेखेर दिएको हो । खाली बिल ल्याएर मैले बनाएको होइन,’भट्टराईले भने,‘रजिष्ट्रार नियुक्तीको प्रोसेस, सिनेट बैठकलगायतले गर्दा पेमेन्ट गर्न ढिलाई भयो ।’ उनले वीपी प्रतिष्ठानलाई सुधार गर्न लाग्दा विगतमा दुहुनो बनाउदै आएकाहरु अत्तालिएर अनेक हतकण्डा गर्न थालेको पनि दाबी गरे ।