धरान: किरात राई साँस्कृतिक कलाकार संघको आयोजनामा विश्वव्यापी अनलाइन यलम्बर संगीत प्रतियोगिता अन्तर्गत पहिलो चरणको अडिसनबाट ५० जना छनौट भएका छन् ।

विश्वका विभिन्न १० वटा देशबाट सहभागी २ सय १३ प्रतिस्पर्धी मध्येबाट उत्कृष्ट ५० छनौट गरिएको हो । संघले छैठौं संस्करणको यलम्बर संगीत प्रतियोगिताको अडिसन चरणको नतिजा असोज १८ गते आफ्नो आधिकारिक यूट्व च्यानलमार्फत सार्वजनिक गरेको जनाएको छ । प्रतियोगितामा नेपाल, भुटान, भारतसहित विश्वका विभिन्न १० वटा मुलुकबाट २ सय १३ जना सहभागी बनेको संघका अध्यक्ष रामकर राईले बताए ।

अध्यक्ष राईका अनुसार प्रतियोगितामा सुनसरीबाट ९, खोटाङबाट ७ र धनकुटाबाट ६, झापाबाट ४, उदयपुरबाट ३, ओखलढुङ्गा ३, ललितपुरबाट ३, भोजपुरबाट २, काठमाडौं २, इलामबाट २ भक्तपुरबाट १ सोलुबाट १ छनौट भएका छन् । यस्तै, कोरियाबाट २, सिक्किम, भुटान, इजरायल, मलेसिया, कतारबाट पनि १–१ जना छनौट भएका छन् । छनौट भएका प्रतिस्पर्धीहरुले दुई हप्ता भित्र गित गाएर पठाइसक्नु पर्ने उनले बताए । प्रतियोगितामा उत्कृष्ठ ५० बाट अर्को चरणका लागि २० जना र अन्तिम चरणका लागि उत्कृष्ट १० छनौट गदै विजेताको लागि प्रतिस्पर्धा गराइने उनको भनाई छ ।

प्रतियोगिताको अडिसन भदौं २७ देखी असोज १६ गतेसम्म खुला गरिएको थियो । प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी हात पार्ने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताको दोस्रो र तेस्रो विजेताले क्रमसः नगद १५ हजार र तेस्रोले नगद १० हजार रुपैयाँसहित ट्रफी पाउने छन् । यस्तै, टप १० प्रतिस्पर्धीहरुको भिडियो लाइकको आधारमा सबै भन्दा धेरै लाइक पाउनेलाई ‘स्रोता छनौंट’ विजेता घोषणा गरी नगद ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक वर्षको जेष्ठ २२ गते संघले आफ्नो स्थापना दिवशको अवसरमा प्रतियोगिता आयोजना गदै आएको थियो । तर, यस वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ का कारण अनलाइनमार्फत प्रतियोगिताको आयोजना गर्न लागिएको हो । प्रतियोगिताको फाइनल आगामी कार्तिक दोस्रो साता हुने आयोजकले जनाएको छ ।