धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ज्यालादारी कर्मचारीहरु आन्दोलन शुरु गरेका छन् ।

एक साताको अल्टिमेटम दिदै माग पत्र पेश गरेका उनीहरुले प्रतिष्ठानका पदाधिकारीहरुले सुनुवाई नगरेको भन्दै आजदेखि आन्दोलन शुरु गरेका हुन् । प्रतिष्ठानमा कार्यरत ज्यालादारी कर्मचारीहरुको २ बर्ष अवधि पुरा भएकाहरुलाई करार गर्नुपर्ने उनीहरुको प्रमुख माग छ । ज्यालादारीलाई करार गर्नुपर्नेलगायत विभिन्न १२ बुँदे मागसहित उनीहरुले असोज २० गते रजिष्ट्रारलाई मागपत्र पेश गरेका थिए । 

ज्यालादारीहरुले आजदेखि जिओपिडी भवनअघि धर्ना शुरु गरेका हुन् । उनीहरुले दैनिक ज्यालादारीलाई करार गर्नुपर्ने भन्दै नाराबाजी पनि गरिरहेका छन् । यस्तै, प्रतिष्ठानमा हुने राजनीति बन्द गर्न, भ्रष्टचार बन्द गर्न माग गर्दै नारा लगाइरहेका छन् । यस्तै, आर्थिकरुपमा धरासायी हुदै गइरहेको प्रतिष्ठानका उपकुलपतिको सल्लाहकार दिलिप भट्टराईलाई १ लाख रुपैया तलब सुविधा दिएको भन्दै उनीहरुले त्यसविरुद्ध पनि चर्को नाराबाजी गरेका छन् । यस्तै, भट्टराईले प्रतिष्ठानको खर्चमा महंगो मोवाइल फोन बोकेको, प्रतिष्ठानकै खर्चमा गेष्टहाउसमा बसिरहेको भन्दै त्यहाँबाट तुरुन्त निकाला गर्न पनि नाराबाजी गरेका छन् ।

bp-jyaladari- 1

आन्दोलनको नेतृत्वकर्ता जुनियर फोरमेन किरण भट्टराईले रजिष्ट्रारलाई माग पत्र बुझाउदा चाडै छलफल गरेर जानकारी गराउछु भनेपनि अहिलेसम्म जानकारी नआएकोले आन्दोलन गर्न बाध्य भएको बताए । ‘२ बर्ष पुरा भएका ज्यालादारीलाई तुरुन्त करार गरिदिनुस्, अन्य माग विस्तारै पुरा गर्दा पनि हुन्छ भनेको थियौं,’उनले भने,‘पदाधिकारीले सुन्न भएन । अझै वेवास्ता गर्ने हो भने इर्मजेन्सीबाहेक काम छोडेर आन्दोलनमा उत्रन बाध्य हुनेछौं ।’ प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले उपकुलपति बाहिर गएकोले फर्किए पछि मागको बारेमा छलफल गर्ने बताए ।