सुनसरीः लकडाउनका कारण बन्द रहेका विद्यालयलाई कसरी शिक्षण सिकाइ क्रियाकलाप सँचालन गर्ने भन्ने अन्यौल छ । तर, सुनसरीका केहि विद्यालयले भने केन्द्रको सर्कुुलर नपर्खि वैकल्पिक शिक्षण पद्धतीलाई आत्मसाथ गरेका छन् भने यो केहि हदसम्म प्रभावकारी रहेको पाइएको छ ।

भारतीय सीमासँग जोडिएको सुनसरीमा दिनहुँ कोरोना सँक्रमित थपिरहेका छन् । दिनदिनै चुनौती बढिरहेको छ भने यता शैक्षिक सत्र खेर जाने हो कि भन्ने चिन्ता पनि बढिरहेको छ । यहि चिन्ताका बीच केहि विद्यालयले भने वैकल्पिक शिक्षण पद्धतीलाई अघि बढाएका छन् । सुनसरी सदरमुकाम इनरुवा र बराहक्षेत्रमा रहेका एक एक विद्यालयले फरक मोडेलमा सिकाइ क्रियाकलाप जारी राखेका हुन् ।

इनरुवाको पुरानो विद्यालय भगवती माध्यमित विद्यालयले जेठ मासान्ताभित्र सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुुर्याएको छ भने एक तिहाइ पाठ भित्रकै सेरोफेरोमा रहेर प्रश्नपत्र समेत बाँडेको छ । ‘भौतिक रुपमा सँगै रहेर पढ्ने वातावरण नभएपछि हामीले विद्यार्थीको वैकल्पिक सिकाइ कसरी गर्न सकिन्छ भनेर यो पद्धती अवलम्वन गरेका हौँ ।’ विद्यालयकी प्रधानाध्यापक गंगा पौडेल बरारले बताइन् । हाल ९० प्रतिशत भन्दा माथि विद्यार्थी पढाइमा केन्द्रित भएका छन् भने उनीहरुको सिकाइ प्रभावकारी रहेको शिक्षक दुुर्गाकुमार श्रेष्ठ बताउँछन् ।

यता बराहक्षेत्र नगरपालिकाको सरस्वती माध्यमिक विद्यालयले भने नौलो अभ्यास थालेको छ । यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष केसव प्रसाद तिम्सिनाले लकडाउन अवधिभर विद्यार्थी के गर्दैछन् भन्ने बुझ्न एक समिति नै बनाइ हरेक विद्यार्थीका घरघर पुुगेको छ । उक्त समितिले ५ भागमा विद्यार्थीका अवस्थाको वर्गिकरण गरेको छ ।

सोहि वर्गिकरणका आधारमा इन्टरनेट हुने, नहुने , पाठ्यपुुस्तक हुने र नहुने लगाएत सबै सुविधा भएका गरि विद्यार्थीको अवस्थको आँकलन गरेर विद्यालयबाट शिक्षकले डिटिजल शिक्षा दिने वा हातहातमा पुुग्ने गरि गृहकार्य दिइ सिकाइलाई प्रभावकारी बनाउने भन्ने उपाय लगाएको छ । ‘अहिले विद्यालयमै पुुगेर शिक्षक सिकाइ प्रभावकारी बनाउने वातावरण पटक्कै छैन ।’ तिम्सिनाले भने ‘हामी सबैको सल्लाहमा कसरी यो शैक्षिक सत्र खेर जान नदिने भन्ने बारे छलफल भयो र यो मोडेलमा गयौँ ।’

३५ कोरेना सँक्रमितको ज्यान गइसकेको सुनसरीमा, बुधवार मात्रै १ सय  ९७  नयाँ सँक्रमित थपिएका छन् भने हालसम्म ३ हजार बढि सँक्रमित पुुग्दा १५ सय मात्र निको भएका छन् । जिल्लाका करिब ८ सय ५० विद्यालय रहेका छन् भने ति मध्ये कतिपय विद्यालयका आइसोलसन अझै हटाइएको छैन । कहिलेसम्म कोरोना त्रास हुने र विद्यालय शिक्षा कहिलेसम्म अन्यौल रहने ? टुँगो नभइरहेको बेला विद्यालय खुल्ने दिन पर्खिनु भन्दा स्थानीय स्तरमै पढाइलाई प्रभावकारी बनाउन जोखिमबाट जोगिँदै वैकल्पिक विधिमार्फत पढाइ सुचारु गर्नुको विकल्प देखिदैन ।