धरान: होम आइसोलेसनमा बसेका धरान ९ का कोरोना संक्रमितको बुधबार राती मृत्यु भएको छ ।

होम आइसोलेसनमा रहेका गौतम पथका ५८ बर्षीय व्यक्तिलाई थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । अस्पताल पुर्याएको केही समयमा नै राती साढे ११ बजे मृत्यु भएको वडा नं ९ का अध्यक्ष रत्न कटवालले जानकारी दिए । उनका अनुसार मृतकलाई बुधबार दिउँसो नै अक्सिजन कमी भएर समस्या भएको थियो । उनलाई वीपी प्रतिष्ठानमा दिउँसो नै उपचारको लागि लैजाने पहल गरेपनि अक्सिजन भएको बेड खाली नभएको भन्दै भर्ना लिन नमानेको अध्यक्ष कटवालले बताए ।

‘मैले नै वीपीमा फोन गरेको थिए, भेन्टिलेटर बेड भनेको पनि होइन । अक्सिजन बेड मिलाउनुस भन्दा यहाँ छैन । अक्सिजन सिलिण्डर किनेर घरमै राख्नुस् भन्यो,’अध्यक्ष कटवालले भने । उनका अनुसार वीपी प्रतिष्ठानले बेड नभएको भनेपछि विजयपुर हस्पिटलबाट सिलिण्डर ल्याएर अक्सिजन दिएर घरमा नै राखिएको थियो । राती झन् अवस्था बिग्रदै गएपछि परिवारजनले प्रतिष्ठान लगेपनि उनको मृत्यु भएको अध्यक्ष कटवालले बताए ।

मृतकलाई ८, १० दिनदेखि ज्वरो आएको भएपनि ३ दिन अघि मात्र रिपोर्ट पोजेटिभ आएको थियो । उनी घरमा नै होम आइसोलेसनमा बसेका थिए । धरानमा होम आइसोलेसनमा बसेकाहरुको मृत्यु दर बढ्दै गइरहेको छ । अक्सिजन कमी भएर समस्या हुन थालेका संक्रमितहरुले वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटर मात्र होइन, सामान्य अक्सिजन बेड पाउन पनि सकिरहेका छैनन् । अक्सिजन पट जोडिएको बेड ९ वटा मात्र रहेको छ । नयाँ जडान गरिएको भेन्टिलेटरहरु पनि अधिकांश बिग्रिसकेको छ ।