धरान: दशैंअघि नै सुनसरीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) फडिन्द्रमणी पोखरेलले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र पठाएर कोभिड अस्पताललाई तत्काल सुधार गर्न निर्देशन दिएका थिए ।

प्रतिष्ठानभित्रै संक्रमण संख्या बढ्दै गएको कारण गेटदेखि नै सेनिटाइज गर्ने व्यवस्था मिलाउन, भेन्टिलेटर तत्काल सुचारु गर्न र अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याएर उपचारलाई सहज बनाउन प्रजिअ पोखरेलले पत्रमार्फत निर्देशन दिएका थिए । उनले भेन्टिलेटर बिग्रनुमा, अक्सिजनको व्यवस्था नहुनुमा जिम्मेवार को हो ? भन्दै पत्रमा भनेका थिए,‘उनीहरुलाई कारबाही हुनुपर्ने हो कि होइन ? हुनुपर्ने हो भने कस्लाई कारबाही गर्नुपर्ने हो, नाम पठाउनु ।’

प्रजिअ पोखरेलको जवाफमा प्रतिष्ठानले तत्काल सुधार गछौं भनेर पत्र पठाएको थियो । प्रतिष्ठानले तत्काल सुधार गछौं भन्ने जवाफ पठाए पनि नदेखिएको प्रजिअ पोखरेलले बताए । सुधार नभएको पाएपछि आज(बिहिबार) पुनः प्रतिष्ठानलाई पत्र पठाएर जनताबाट विरोध भएमा आफै जिम्मेवार हुन भनेको पनि उनले बताए । ‘पहिलो पटक पत्र पठाएपछि तुरुन्त सुधार गछौं भनेर जवाफमा पत्र पठायो । आजसम्म पनि सुधार भएको नदेखिएकोले जनताबाट विरोध हुनसक्छ, विरोध भयो भने जिम्मेवारी पदाधिकारी आफै हुनुपर्छ भनेर आज फेरि पत्र पठाएको छुँ,’ क्लिक धरानसँग प्रजिअ पोखरेलले भने ।