धरान: कोरोना भाइरसबाट धरानमा मात्र संक्रमित हुनेको संख्या २६ सय नाघिसकेको छ भने मृत्यु हुनेको संख्या ४५ पुगिसकेको छ । संक्रमणबाट मृत्यु दर बढ्दै जादा धरानेहरुको तारोमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बनिरहेको छ ।

वीपी प्रतिष्ठानलाई दक्षिण एसियाकै नमुना स्वास्थ्य संस्था मानिन्छ । यद्यपी, यहाँबाट जुनस्तरमा उपचार सेवा प्रवाह हुनुपर्ने हो, त्यो नहुदा आलोचना भइरहन्छ । जब विरामी सिकिस्त हुन्छन्, र आइसियु, भेन्टिलेटरको आवश्यकता पर्छ, तब विरामीलाई विराटनगर वा अन्यत्रको निजी अस्पतालतिर लैजानुपर्ने बाध्यता हुन्छ । यहाँको एमआरआई, सिटि स्क्यान बिग्रिरहन्छ, र निजी ल्याबहरु, डायग्नोष्टिक सेन्टरहरु मालामाल हुन्छन् । विल काट्न, रिपोर्ट लिन, डाक्टरलाई पालो कुर्दाको पीडा सधैं उस्तै नै हो । विरामीलाई सस्तो तथा सर्वसुलभ मुल्यमा औषधी उपलब्ध गराउने भनेर प्रतिष्ठान आफैले सञ्चालन गरेको फार्मेसीमा औषधी नै हुदैन । पेइङमा महंगोमा नगर्ने हो भने अप्रेशसनलाई पनि महिना दिन पछि मात्र पालो पाउने ठाउँ पनि यही प्रतिष्ठान नै हो ।

प्रतिष्ठान सेवा प्रवाहमा ढिलासुस्तीले मात्र सेवाग्राहीबाट आलोचित भएको होइन, भ्रष्टचार र आर्थिक अनियमिततामा लिप्त पदाधिकारी, कर्मचारीहरुको कारण पनि प्रतिष्ठान बेथितीको नमुना बनेको छ । यो बेथिती हिजोको दिनमा पनि, आज पनि व्यप्त छ । वीपीको 'बेथिती अन्त्य गर्छु' भन्दै प्रतिष्ठानको उपकुलपति बनेर आएका विराटनगरका डा.ज्ञानेन्द्र गिरी पनि विगतभन्दा फरक हुने छाटकाट देखाएका छैनन् ।

विश्व कोभिड १९ को महामारीबाट आक्रान्त भइरहेको बेला नेपाल सरकारले वीपी प्रतिष्ठानलाई लेभल थ्री अस्पताल घोषणा गरेर सोही अनुसारको उपचार व्यवस्थाको तयारी गरेको थियो । प्रतिष्ठानमा हाडजोर्नी विभाग मातहतको पुर्नस्थापना केन्द्रलाई कोभिड अस्पताल बनाइयो । सरकारले करोडौं अनुदान प्रतिष्ठानलाई दियो । तर, अहिले धरानकै कोरोना संक्रमित व्यक्तिहरुले सिरियस अवस्था हुँदा आइसियु, भेन्टिलेटर मात्र होइन, अक्सिजन भएको बेडसमेत नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आइलाग्यो । वीपीले भर्ना लिन नमाने पछि संक्रमितहरु विराटनगरका निजी अस्पतालहरुमा लैजानुपर्ने, र उतै ज्यान गुमाउने अवस्था छ ।

संक्रमितहरुको संख्या बढ्दै जादा गम्भीर प्रकृतिका संक्रमितहरुको संख्या बढ्ने र आइसियु, भेन्टिलेटर नपाउने अवस्था सृर्जना हुनुलाई अन्याथा मान्न सकिन्न । तर, यहाँ वीपी प्रतिष्ठानमा भने सिरियस विरामीको संख्या धेरै भएर मात्र होइन, कोभिड अस्पतालमा जडान गरेको नयाँ भेन्टिलेटरहरु सञ्चालनमा आएको ३ महिना पनि नपुग्दै बिग्रिएर थन्किए । जति भेन्टिलेटर जडान भएका थिए, ती पर्याप्त होइन । तर, भएका ती भेन्टिलेटरहरु चै सबै पुर्णक्षमतामा सञ्चालन नहुनु, ३ महिनामै बिग्रनु निन्दनीय पक्ष हो । व्यापारीसँग मिलेमतो, कमिशनको खेलले जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरियो । नक्कली वा पुराना सामानहरु जडान गरेकोले ती भेन्टिलेटरहरु ३ महिनामै बिग्रिएको आशंका गरिदै आएको छ ।

हिजोको दिनमा सिरियस अवस्थाका विरामीलाई मात्र राखेर उपचार गर्ने भनिएको सय बेडको लेभल थ्री अस्पताल आधा भन्दा बढी बेडमा अक्सिजन पट पनि छैन । अक्सिजन पट नभएको बेडमा सिरियस विरामीलाई राखेर के गर्ने हुन् ? अहिले अन्य बिषयलाई छोडौं, प्रतिष्ठानका पदाधिकारीहरु कति गैरजिम्मेवार छन् भन्ने उदाहरण यही कोभिड अस्पतालमा भएको बेथितीलाई मात्र नियाले पुग्छ । पात्र फेरिए, प्रवृत्ति भने उही–सेटिङ, कमिशन, अनियमितता र भ्रष्टचार ।

कहिले जाग्ने धरान ?

वीपी प्रतिष्ठान र कोभिड अस्पतालको बेथितीमाथि सामाजिक सञ्जाल फेसबुकमा आलोचना भने निरन्तर भइरहेकै छ । प्रतिष्ठानको बेथितीविरुद्ध धरानेहरुले आवाज उठाइरहेकै छन् । तर, सामाजिक सञ्जालको यो आवाजले एकीकृतरुप लिन सकिरहेको छैन । अभियानकोरुपमा थालनी हुन सकेको छैन ।

एउटा उदाहरण लिऊ । धरानका राम साम्पाङले फेसबुकमा पोष्ट गर्दै प्राइभेट अस्पतालको मालिकलाई वीपीको भिसि बनाइदिए पछि वीपीमा उपचार भन्दा रिफर बढी भइरहेको भनेका छन् । उनी लेख्छन्,‘ बिरामी आउन साथ पिसिआर रिपोर्ट खोज्दै गेटबाटै फर्काइदिए पछि प्राइभेट तिर नगइ धरै छैन बिरामीलाई ।आपतकालिन पिसिआर अस्पतालले गर्नु पर्दैन? घरमै पिसिआर गरेर आइजा भने जस्तो गर्छन् । आपतकालिन अबस्थामा पिसिआर बिपिले आफै गर्नु पर्दैन? प्राइभेट अस्पतालहरुले गरिरहेको छ त । यो बिरामीलाई प्राइभेट तिर जा भनेर घुमाउरो पाराले दबाब दिएको हैन यो?'

यस्तै, उनले बिपिको टेलिमेडिसिन सेवाबारे पनि टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘टेलिमेडिसिन सेवा रहेछ तर नाम दर्ता गराएको ४,५ दिन पछि मात्रै पालो आउने रहेछ, कति छिटो सर्भिस ? ४,५ दिन पछि फलोअप गर्ने । यती फास्ट सर्भिस दिए पछि बिरामी प्राइभेट अस्पताल नगएर के गर्नु ?’ पत्रकार एवं अभियन्ता महेश श्रेष्ठले पनि ७ दिनको अल्टिमेटम दिदै पुरा नभए उपकुलपति, अस्पताल निर्देशकलाई धरानबाट बाहिर जाने बाटो देखाउने पनि चेतावनी दिएका छन् । ‘प्रतिष्ठानको अक्सिजन प्लान्ट, भेन्टिलेटरसहित सम्पुर्ण यन्त्र, उपकरणहरु पुर्णरुपमा सञ्चालनमा ल्याइयोस्,’श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘स्वास्थ्य विमा गरेकाहरुलाई कोरोना समेतको उपचारमा औषधीसहित सेवा प्रदान गरियोस् । प्रतिष्ठानमा उपचारार्थ ल्याइएका विरामीलाई बाहिर पठाउन बन्द गरियोस् ।’

यस्तै, धरानका वामपन्थी बुद्धिजिवि गोपी खतिवडाले पनि स्थानीय सरकार, राजनीतिक दलका अगुवाहरुले चासो नदिएकोप्रति प्रश्न उठाएका छन् । अस्पताल साझा संस्था हो, र सबैभन्दा बढी जनसरोकारको क्षेत्र हो भन्ने चेत नभएकोप्रति उनले आक्रोश पोखेका छन् । ‘के आरोप, प्रत्यारोप, दलीय स्वार्थसिद्धि र कमाउ केन्द्रको माध्यम मात्रै हो यो हस्पिटल ?’ खतिवडाले भनेका छन्,‘हस्पिटल जस्तो संवेदनशील क्षेत्रमा पनि राजनीतिक दल र नगर सरकार एकमत हुन सक्दैनन् भने यिनीहरुसँग धरानको नेतृत्व गर्ने वा गछैं भन्ने कुनै नैतिक धरातल म देख्दिन ।’