वीपी प्रतिष्ठानको समस्या र समाधानका उपायहरु: यस्तो छ वीपी प्रतिष्ठान सुधार दबाब समुहको अवधारणा पत्र

  • प्रकाशित: कार्तिक १५, २०७७ / 554 पटक पढिएको
  • क्लिक धरान
alt

    पृष्ठभूमिः

सन् १९९३ मा जन्मिएको यस प्रतिष्ठानले २७ वर्षे आफ्नो जीवनकालमा धेरै आरोह-अवरोह पार गरेको छ । आयोजना अवधि रहँदासम्मको आर्थिक खुकुलोपन समयको यो अन्तरालमा कसिँदै गएको कुरा सर्वविदितै छ । आर्थिक सवलता कुनै पनि संस्थाको सफलताको एक महत्वपूर्ण अङ्ग हो । यद्यपि प्रतिष्ठानको लक्ष्य हासिल गर्ने कुरामा आर्थिक पक्ष बाहेक अन्य विषयहरुले पनि उत्तिकै महत्व राख्दछन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुख्यतया ३ प्रकारका कामहरु गर्नुपर्दछ¸ जो यसले निरन्तर गर्दै आएको देखिएको पनि छः- पठन-पाठन सम्बन्धी काम¸ उपचार सम्बन्धी काम¸ र अनुसन्धान सम्बन्धी काम ।

बजारमुखी आजको परिवेशमा¸ विश्व बजारमा यस्ता प्रतिष्ठानले पस्कने Franchise भनेकै यी माथिका कामहरु हुन्¸ जसका आधारमा यस्ता प्रतिष्ठानको नाम वा ख्याति तौलिने गरिन्छन् । कस्ता विद्यार्थीहरु हामी उत्पादन गर्दैछौँ¸ कुन Protocol को उपचार हामी प्रदान गर्दैछौँ र कुन कुन क्षेत्रमा हाम्रा अनुसन्धानहरुले नयाँ ढोका उघार्दैछन्¸ भन्ने जस्ता प्रश्नको जवाफ हाम्रो प्रतिष्ठानले छाती फुकाएर र शिर उठाएर विश्व बजारमा दिने हैसियत राख्छ भनेमात्र हाम्रो नाम र ख्याति संसारभर फैलिनसक्छ । तसर्थ बि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुसञ्चालनको सैद्धान्तिक लक्ष्य Franchise ले यही उत्कृष्टता हासिल गर्नु नै हुनुपर्दछ भन्ने हामीलाई लागेकोछ ।

उत्कृष्ट प्रतिष्ठान¸ हाम्रो शान ।

 २.         प्रतिष्ठानको अन्तिम लक्ष्य के हो ?

अब यो प्रतिष्ठान एउटा विश्वविद्यालय बन्नुपर्छ । बि.पि.कोइराला स्वास्थ्य विज्ञान विश्वविद्यालय हुनुपर्छ यो प्रतिष्ठान । बाबुको हैसियत पाउनु र बाबु हुनुमा फरक हुन्छ । छुट्टै विश्वविद्यालयका रुपमा संगठित हुन आवश्यक पर्ने कानुन तथा ऐनको निर्माण गराई यस प्रतिष्ठानलाई चाँडो भन्दा चाँडो विश्वविद्यालय बनाउन लबिङ प्रारम्भ गर्नुपर्दछ ।

 ३.         प्रतिष्ठानलाई उत्कृष्ट बनाउन के के गर्नुपर्छ ?

कुनै जादुको छडीले छोएर उत्कृष्ट बन्ने सपना पूरा हुँदैन । त्यसका लागि काम गर्नुपर्छ । त्यो पनि योजनावद्ध र नियन्त्रित ढाँचामा रणनीतिक ढंगले साना साना लक्ष्यहरु किटान गर्दै काम गर्ने Roadmap तयार गरेर । व्यवस्थापनका PERT र CPM जस्ता जुक्तिहरु प्रयोग गरेर अघि बढ्नुपर्छ । बुँदागत रुपमा भन्नुपर्दा प्रतिष्ठानले उत्कृष्टता हासिल गर्न निम्न अनुसारका कामहरु प्रति प्रतिवद्ध भएर अघिबढ्नु पर्दछः-

क. TQM अर्थात Zero defect :- Total Quality Management का सिद्धान्तहरुको अवलम्बन गरी निरन्तर सुधार¸ शून्य त्रुटि अर्थात त्रुटिरहित उपलब्धि¸ सहभागितामूलक व्यवस्थापन¸ उच्च गुणस्तरको पालना¸ अनुशासित नियन्त्रण¸ समन्वयात्मकता जस्ता कुरामा प्रतिवद्ध हुनु जरुरी छ ।

ख. आफ्नै स्रोतमा उभिने क्षमताः- प्रतिष्ठानसंग प्रशस्त संभावनाहरु छन् जस्का बलमा प्रतिष्ठानले पर्याप्त आय आर्जन गर्न सक्छ । अर्काको मुख ताक्नु नपर्ने र आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर बन्ने योजना बनाउनु पर्छ । त्यसकालागि संभाव्यता अध्ययनको एउटा प्राविधिक कार्य सम्पन्न गर्नुपर्छ । सामुदायिक साझेदारी¸ विशिष्ट सेवा¸ आर्थिक अनुशासन¸ पारदर्शिता¸ आयवृद्धि र खर्च कटौति जस्ता काम उदाहरणका लागि भन्न सकिन्छ । यसको वृहत्ताकार व्याख्या गरेर कार्यान्वयनमा जानुपर्दछ । तत्काल संभाव्यता अध्ययन टोली निर्माण गरिनु पर्दछ ।

ग. प्राप्त ख्यातिको बृद्धिः- आज विश्वसामु एक परिचित र ख्यातिप्राप्त संस्थाका रुपमा उभिएको छ यो प्रतिष्ठान । यसले कमाएको यो नामलाई रक्षागर्दै यसको श्रीवृद्धिका लागि थप काम गर्नुपर्दछ । राष्ट्रिय र अन्ताराष्ट्रिय जगतमा फैलिएको यसको ख्यातिलाई अभिवृद्धि गर्ने भनेको यसको काम र योगदानले नै हो¸ तसर्थ त्यसमा निपुणताको प्रयास हाम्रो मुख्य ध्येय हुनुपर्दछ ।

घ. लागत प्रभावकारिता र खर्च नियन्त्रणः- हामीले थाहै नपाई हाम्रो आम्दानिको एउटा ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा चुहिएर गइरहेको हुन्छ । त्यसको नियन्त्रण गर्न सकियो भने लागत प्रभावकारिता हासिल हुन सक्छ । कमजोर बिन्दूहरु र चुहिने प्वालहरुको पहिचान गरी खर्च नियन्त्रण तथा लागत प्रभावकारिता प्राप्त गर्नु पर्दछ । त्यसकालागि विज्ञ सम्मिलित एक समूह गठन गरी निर्देशिका तयार गराइनु पर्दछ ।  

ङ. क्षमता विकासः- हाम्रो कार्यलाई उच्च गुणस्तरको पार्न हामीसंग भएका साधन (मानवीय र गैह्र मानवीय) को गुणस्तर उच्च हुनु जरुरीछ । रुग्ण सामग्री र कमसल जनशक्तिका बलमा राम्रो उपलब्धिको सपना देख्नु हुदैन । तसर्थ उपलब्ध साधनको क्षमता विकास नै उत्कृष्टता प्राप्तिको अनिवार्य आधार हो । यसकालागि उच्चस्तरीय वैशिष्ट्य विभागहरुमा जोड दिनु जरुरी छ । आफुसंग भएका साधनको क्षमता वृद्धि र चालु हालतमा नरहेका साधनको मर्मत संभार अविलम्ब गरिनु पर्दछ । अक्सिजन प्लाण्ट¸ भेण्टिलेटर¸ सिटि स्क्यान र डायलासिस मेसिन आदि ।

च. रुल अफ लः- विधि¸ ऐन तथा नियमको परिधि भित्र रहेर काम गर्ने बानीले संस्थाको अनुशासन मजबूत पार्छ । अनुशासन मजबूत भएमात्र कामदार तथा कर्मचारीको मनोबल उच्च हुन्छ । उच्च मनोबल भएका व्यक्तिबाट मात्र उच्चकोटिको उपलब्धि हासिल गर्न सकिन्छ । त्यसैले एक अर्कामा अन्योन्याश्रित भएर रहेका यी तमाम तत्वहरुको जड भनेको विधिको शासन हो । प्रतिष्ठानको उत्कृष्टता हासिल गर्ने अभियानको एउटा प्रमुख कडी हो विधिको शासन । यसको परिपालन शून्य सहनशीलताका आधारमा गरिनु पर्दछ । नियम पालन नगर्नेलाई कडा कारबाही गरिनु पर्दछ ।

छ. पारदर्शिताः- जुन संस्थाका तमाम कार्यहरु पारदर्शी हुदैनन् त्यसको सफलतामा पनि र असफलतामा पनि धेरै शङ्का उपशङ्काहरु देखापर्दछन् । त्यसैले प्रतिष्ठानका सबै गतिविधिहरु पारदर्शी बनाएर मात्र यसलाई उत्कृष्ट बनाउन सकिन्छ । आम नागरिकको विश्वास जित्न र आफूले पूरा गरेको दायित्व प्रति सन्तुष्ट हुन पनि पारदर्शिता अनिवार्य हुन्छ । आजसम्म यस प्रतिष्ठानका विरुद्ध जे जति अफवाहहरु बाहिर आएका छन् ती सबैको पछाडिका कारण भनेको अपारदर्शिता नै हो । खरीदमा¸ टेण्डरमा¸ निर्माणमा¸ नियुक्तिमा¸ विद्यार्थी भर्नामा¸ आपूर्तिमा जे जे मा कुरा आए पनि पारदर्शिता प्रमुख विषय भएर आएको देखिएको छ । पारदर्शी बन्न प्रतिष्ठान भित्र अधिकार सम्पन्न एक अनुगमन इकाइको आवश्यकता छ । र सोही इकाइ मार्फत वार्षिक रुपमा सामाजिक लेखापरीक्षण गराउनु जरुरी छ ।

४.         यी कार्यहरु कसरी सम्पन्न गर्ने र मूर्त बनाउने ?

क. Internal control system:- आन्तरिक नियन्त्रण प्रणालीको सवलीकरण । विद्यमान आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ पार्न अन्तरपदीय तथा अन्तर विभागीय सञ्जालको समन्वयात्मक ढाँचा निर्माण गर्नुपर्दछ । Check and balance को व्यवस्था स्थापित गर्नुपर्दछ । व्यवस्थापनलाई सबल बनाउन संगठनको Flow Chart लागु गर्नुपर्दछ । जसले गर्दा एक व्यक्ति दुईटा Boss प्रति उत्तरदायी होस् र कसको अधिकार के हो र दायित्व के हो प्रष्ट देखियोस् । भ्रष्टाचार मुक्त प्रतिष्ठान निर्माणमा यसले सहयोग पुर्‍याउँछ ।   

ख. योजना र नियन्त्रणः- Budgetary Control लाई आर्थिक अनुशासनको मन्त्र बनाइनु पर्दछ । योजनावद्ध कृयाकलाप गर्न दीर्घकालीन¸ मध्यकालीन र अल्पकालीन योजनाहरु तयार गरी Vision र Mission हासिल गर्ने रणनीतिक बाटो तय गर्नुपर्दछ । योजना नबनाई काम नगर्ने अठोटले मात्र¸ कति अवधिमा हामी कहाँबाट कहाँ आइपुग्यौँ भन्ने चित्र प्रष्ट देखिन सक्छ । Chart हरुको प्रयोगले यसलाई Visionary पार्नुपर्छ । आम नागरिकले देखिने गरी यो चार्ट राखिनु पर्दछ ।   

ग. Focus on weaknesses:- आफ्ना सवल पक्षमा मात्र केन्द्रित हुनु हुदैन । संस्थालाई अघि बढाउन कमजोरीहरु माथि केन्द्रित भएर समाधान तर्फ उन्मुख हुनुपर्दछ । हाम्रा गतिविधिहरु हामीले हासिल गरेका उपलब्धिहरुको बखान गर्न होइन कि हामी माथि आइपर्ने चुनौतिहरुको सामना गर्न तत्पर रहने हनुपर्दछ । आत्मसमीक्षाले हामीलाई गल्तिहरु नदोहोर्‍याउन मद्दत गर्ने भएकाले आवधिक समीक्षाको एउटा अनिवार्य कार्यतालिका तयार गरेर अघि बढ्नुपर्दछ ।

घ. अन्तरसम्बन्ध विभागः- प्रतिष्ठान भित्रको विभागीय अन्तरसम्बन्धले यसको गतिविधिलाई मजबूत पार्नुका साथै र एक आपसमा विश्वासको वातावरण सिर्जना गर्दछ भने प्रतिष्ठान बाहिर राष्ट्रिय तथा अन्ताराष्ट्रिय सम्बन्धको विकासले यसको पहिचानलाई विहंगम क्षितिज प्रदान गर्दछ । अतः त्यसकालागि एउटा विभाग वा जिम्मावाल निकायको स्थापना हुनु आवश्यक देखिन्छ । समाजका जिम्मेवार मानिस समेत सम्मिलित एउटा निकाय बनाएर आपसी समन्वय र समाजसंगको अन्तरसम्बन्ध मजबूत पार्न सकिन्छ ।

ङ. निरन्तर अनुगमनः- प्रतिष्ठान भित्रका कामहरु स्वचालित रुपमा सम्पन्न हुनुपर्दछ । काम नियमानुसार हुने गरेको वा नगरेको सम्बन्धमा नियमित अनुगमनको जरुरी पर्दछ । नातावाद र कृपावादबाट मुक्त प्रतिष्ठान निर्माण गर्न एक अधिकार सम्पन्न स्थायी अनुगमन समिति वा विभागको स्थापना आवश्यक छ ।

च. अनुशासन वा आचारसंहिताको परिपालनः- प्रतिष्ठानमा आवद्ध जुनसुकै पक्षले अनिवार्य रुपमा पालन गर्नैपर्ने आचारसंहिता छुट्टा छुट्टै निर्माण गरी लागु गर्नुपर्दछ । Carrot & Stick को सिद्धान्तले कामप्रतिको उत्प्रेरणा जागृत गराउँछ । कानुन बमोजिम गर्ने गराउने अवस्था सिर्जना हुनुपर्दछ । राम्रो काम गर्नेले पुरस्कृत हुने र नराम्रो काम गर्ने दण्डित हुने पारदर्शी व्यवस्था लागु गर्नुपर्दछ । Performance Evaluation का आधारमा यसलाई लागु गर्नुपर्दछ । प्रवेश नाका मै आगन्तुक¸ बिमारी¸ विद्यार्थी वा कर्मचारीको प्रवेशका समयमा कुनैपनि झोला वा निजी सामान लिएर प्रवेश नगर्ने र लिएर बाहिर नजाने अनुशासन जरुरी छ ।

छ. प्रशासन सुधार कार्य योजनाः- प्रशासन सुधार गर्न एउटा कार्य योजना (Action Plan) तत्काल लागु गर्नुपर्दछ । चुस्त प्रशासन¸ कम लागतमा उच्च कार्यसम्पादन गर्ने आधार हो । त्यसका लागि Right man in the right place हुनु जरुरीछ । Modification of personnel management and administration अनिवार्य छ ।

ज. कोभिड अस्पतालका सम्बन्धमाः- महामारीबाट बच्न निर्माण गरिएको १०० शैयाको भनिएको लेभल ३ अस्पतालका सम्बन्धमा जनगुनासाहरु व्यापक आएका छन् । प्रथमतः त्यहाँ बेड नै सयवटा छैनन्¸ अक्सिजन सेवा न्यून छ¸ भेण्टिलेटर पर्याप्त छैन र भएका पनि चालु अवस्थामा छैनन्¸ चिकीत्सकीय रेखदेख भिजिट शून्य बराबर छ¸ खानाको व्यवस्था पर्याप्त पनि छैन र समयमा पनि दिइदैन¸ सरसफाई बेहाल छ¸ शौचालय फोहोर छन्¸ बेडहरु गुणस्तरीय छैनन्¸ अर्थात समग्रमा कोभिड अस्पताल अस्तव्यस्त छ भन्ने गुनासाहरु त्यहाँ भर्ना भएर ज्यान गुमाएका घरका परिवारका सदस्यहरु तथा भर्ना भएर घर फर्किएका बिरामी स्वयंले गरेका छन् । ती जनगुनासाको सम्बोधनको अविलम्ब व्यवस्था गर्न के के गरिनु पर्दछ - हामी त्यसको तत्काल प्रत्याभूतिको माग गर्दछौं । ज्यानको जोखिम लिएर सेवा दिइरहेका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई हेजार्ड बीमा र भत्ताको पर्याप्त व्यवस्था हुन नसकेको गुनासो छ । त्यसको अविलम्ब न्यायोचित व्यवस्था गरिनु पर्दछ ।   

५.         उपसंहारः-

बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एक प्रतिष्ठित तथा सक्षम संस्था हो¸ जसको नाम विश्वभरि परिचित छ । यसको सञ्चालनमा देखापरेका साना-मसिना समस्याहरुसंग संघर्षरत देखिने यो प्रतिष्ठानमा व्यवस्थापकीय विशेषज्ञताको सख्त खाँचो देखिएको छ । Vision → Mission → Goal → Objective → Strategy → Activity को एउटा चरणवद्ध श्रृंखला पूरागर्ने गतिमा प्रतिष्ठानका कृययाकलापहरु निर्देशित गराइनु पर्दछ । यसकालागि प्रष्ट नीति र योजना तर्जुमा आवश्यक हुन्छ¸ त्यो आवश्यकता अविलम्ब पूरा गरेर अघिबढ्नु पर्दछ भन्ने हाम्रो विश्वास छ।

हाम्रा सुझावहरुः

१ -   प्रतिष्ठानको सिनेटर संलग्न रहेको अधिकार सम्पन्न एक अनुगमन समितिको गठन गरियोस्

२  -  वर्तमान अवस्थाको यथार्थ चित्रण सहितको प्रतिवेदन सार्वजनिक गरियोस्

३   -  एक्सन प्लान तयार गर्न विशेषज्ञ सहितको समूह निर्माण गरियोस्

४  -  अक्सिजन प्लाण्ट सञ्चालन उत्पादन तथा सुलभ पहुँचको व्यवस्था गरियोस्

५  - लेभल ३ कोभिड अस्पतालको निर्दिष्ट सेवा प्रत्याभूत गरियोस्

६  -आचार संहिता तर्जुमा तथा कार्यान्वयन होस्

७  - अन्तर सम्बन्ध समन्वय इकाइको गठन गरियोस्

८  - सामाजिक लेखा परीक्षण हुने र कसले गर्ने सो को जिम्मेवारी तोकियोस्

९  - नागरिकले स्वास्थ्य वीमाको उपयोग कोभिडका हकमा पनि गर्न पाउने व्यवस्था गरियोस्

१०- सेवा सुचारु हुन नसकेका उपकरणहरु अविलम्ब मरमत संभार गरी सेवा सुचारु गरियोस्

११  -  इमर्जेन्सी सेवालाई प्रभावकारी बनाउँदै OPD सेवा नियमित गरियोस्

१२ -  PCR परीक्षण २४ सै घण्टा चालु गरी सरकारले घोषणा गरेको सुविधा सुलभ ढंगले प्रदान गरियोस्

१३ - कोभिड अस्पताल भित्रका अव्यवस्था तुरुन्त निराकरण गरी CC Camera र गेटमा मनिटर राखियोस्

१४ - अस्पताल शैयाको १० प्रतिशत ICU रहने व्यवस्था पालन गरियोस्

१५  - CT Scan र Dialysis Machine चालु अवस्थामा ल्याई सेवा सुचारु गरियोस्

१६  - फार्मेसीबाट व्यहोर्नु परिरहेको नोक्सानी पुनःसमीक्षा गरी फार्मेसि व्यवस्थित गरियोस्

१७  - बिरामीको चाप अनुसार मातृशिशु वार्डमा बेडसंख्या कम भएकाले त्यसको व्यवस्था गरियोस्

१८  - कोभिड अस्पतालको अस्तव्यस्तताको जिम्मेवार को हो ? कतै नेतृत्वमा समस्या छ कि ? पुनर्बिचार गरियोस्

(यो अवधारणा पत्र वीपी प्रतिष्ठान सुधार दबाब समुहले आइतबार प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई बुझाउने कार्यक्रम रहेको छ।)

 

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित