धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्यको लागि गठन गरिएको वीपी प्रतिष्ठान सुधार दबाब समुहले मागसहितको अवधारणा पत्र बुझाउने भएको छ ।

दबाब समुहको आज बसेको पहिलो बैठकले भोली (आइतबार) प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई मागहरुसहित अवधारणा पत्र बुझाउने निर्णय गरेको हो । बैठकले अवधारणा पत्रको मस्यौदा तयार गरेर अन्तिम रुप दिने जिम्मेवारी समुहका सहसंयोजक प्रा.डा.राजेन्द्र शर्मालाई दिएको छ । दबाब समुहका संयोजक एवं सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाका अनुसार अवधारणा पत्रमा वीपी प्रतिष्ठानलाई सुधार गर्नुपर्ने बिषय, प्रतिष्ठानको समस्याहरु र समाधानको उपायहरु पनि समेटिएको हुनेछ ।

दबाब समुहका यी हुन् प्रमुख मागहरु

दबाब समुहले प्रतिष्ठानको सञ्चालक परिषद (सिनेट) सदस्यको संयोकत्वमा अधिकार सम्पन्न अनुगमन समिति बनाउनुपर्ने माग गरेको छ । उपकुलपति डा.गिरीलाई बुझाउने अवधारणा पत्रमा यो प्रमुखताको साथ समेटिएको माग हुनेछ ।

यस्तै, वर्तमान अवस्थाको यथार्थ चित्रणसहितको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, एक्सन प्लान तयार गर्न बिशेषज्ञसहितको समुह निर्माण गर्न पनि दबाब समुहको माग हुनेछ । यसैगरि, अक्सिजन प्लान्ट सञ्चालन, उत्पादन तथा सुलभ पहुँचको व्यवस्था गर्न, लेभल थ्रीको कोभिड हस्पिटलको प्रत्याभुति सर्वसाधारण नागरिकलाई हुने गरि सेवा प्रदान गर्न, आचारसंहिता तर्जुमा र कार्यान्वयन गर्न पनि दबाब समुहको आवधारणा पत्रमा मागकोरुपमा उल्लेख हुनेछ ।

‘सामाजिक लेखा परिक्षण कस्ले गर्ने हो ? जिम्मेवारी तोकियोस् । नागरिकको स्वास्थ्य विमालाई कोभिड उपचारको हकमा पनि लागु गरियोस्,’ दबाब समुहको मागबारे संयोजक सापकोटाले भने,‘सेवा सुचारु हुन नसकेको उपकरणहरु अविलम्ब मर्मत गरेर सेवा सुचारु गरियोस् । इर्मजेन्सी सेवा प्रभावकारी गरियसोस्, पिसिआर गर्ने सेवा २४ घण्टा उपलब्ध गरियोस् ।’ दबाब समुहले कोभिड अस्पताल भित्रको अव्यवस्था तुरुन्त निराकरण गर्न, सिटिस्क्यान खरिदको प्रक्रियालाई तत्काल अघि बढाउन पनि समुहले माग पेश गर्ने भएको छ ।