धरान: धरान १३ स्थित कृषि थोक बजार यो बर्ष पनि देशभरिका थोक बजारहरुमध्ये सर्वोत्कृष्ट हुन सफल भएको छ ।

धरानको कृषि बजारले योसँगै सातौं पटक प्रथम पुरस्कार हात पाएको हो । यसअघि पनि २०६१, २०६३, २०६८, २०७२, २०७५ र २०७६ सालमा पनि धरानको कृषि थोक बजारले प्रथम पुरस्कार पाएको थियो । प्रत्येक बर्ष संघीय कृषि मन्त्रालयले अक्टोवर १६,विश्व खाद्य दिवसको अवसरमा नेपालभरिका कृषि थोक बजारहरुलाई पुरस्कृत गर्दै आएको छ । नेपाल भरि सरकार मातहतको काठमाण्डौंको कालिमाटीसहित ११ वटा थोक बजार सञ्चालित रहेको छ । यो बर्ष कोभिडले गर्दा पूरस्कार वितरणको औपचारिक कार्यक्रम गर्न नसकेकोले समय अनुकुल बनाएर पुरस्कार लिन आउन आग्रह गरेको पत्र कृषि बजारले पाएको छ ।

मन्त्रालयले बजार सफाईको अबस्था, बजारले सेवा प्रदान गरेको स्तर, कारोबारको अबस्था, कृषि बस्तु अन्य राष्ट निर्यात गर्ने गरेको अबस्था, नेपाल सरकारको नियम पालना नभए नभएको, बजारको पुर्वाधारलगायतको मुल्यांकन गरेर पुरस्कृत गर्ने गरेको व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । कृषि बजारले पुरस्कृत भएवापत पुर्वाधार विकासको कुनै योजना छनौट गर्ने अवसर पाउनेछ । मन्त्रालयले छनौट गरेको कम्तीमा एउटा योजनामा बजेट दिने व्यवस्थापक भट्टराईको भनाई छ । ‘पुरस्कृत हुने बजारले कम्तीमा एउटा पुर्वाधार विकासमा योजना छान्ने अवसर पाउछ, बजेट भयो भने २ वटा योजना पनि पाउन सक्छ,’उनले भने ।

यो बजारले गत आर्थिक बर्षमा १ लाख ४५ हजार मेट्रिक टन बराबर कृषि बस्तुको कारोबार गरेको थियो । जसको नगदमा ५ अरब ५० करोड रुपैया बराबर रहेको छ । त्यस कारोबारको २० प्रतिशत भारत निर्यात हुने व्यवस्थापक भट्टराई बताउँछन् । कारोबारको ४० प्रतिशत सुख्खा तरकारी र फलफूल आयात हुने गरेकोछ । त्यसमध्ये ३५ प्रतिशत भारतमा निर्भर छ भने चीन, भुटान र बंगालादेश ५ प्रतिशतमा निर्भर रहेको छ । आयतको मात्रा बढ्दो छ भने निर्यातको मात्रा घट्दो रहेको बजारले जनाएको छ ।

कृषि बजारमा भएका सुविधाहरु: 

krisi-prize

कृषि बजारमा फिल्टर प्लान्टसहितको खानेपानी पानी, निःशुल्क शौचालयको व्यवस्था छ भने निःशुल्क तौल गर्ने डिजिटल काटाको ब्यबस्था गरेको छ । यस्तै, न्युन शुल्कमा कृषक तथा ब्यापारीलाई वासको पनि व्यवस्था गरिएको छ । सामानको सुरक्षाको लागि सोलार बत्ति, सिसिटिभि र चौकिदारको ब्यबस्था रहेको छ ।

चौबिसै घण्टा खुला रहने बजारमा कृषकको सामान राख्न कृषक सेडको ब्यबस्था छ । सबैले देखिने स्थानमा डिजिटल मुल्य सुचिको ब्यबस्था गरिएको छ भने पुर्बी पहाडबाट आउने खसी, बाख्रा राख्न थुन्ने घरको ब्यबस्था र निःशुल्क काटा गर्ने ब्यबस्था पनि गरिएको छ । यस्तै, महिला मैत्री सेनिटरी प्याडसहितको महिला शौचालय, फ्रि वाईफाइको सुबिधा, कृषक ब्यापारीहरुलाई फार्म तथा थोक बजारहरुको अबलोकन भ्रमण पनि व्यवस्था गरिएको छ । ‘कृषकमैत्री बजार बनाउन अलग्गै महिला कृषक आवास गृह, कृषक व्यापारीहरुलाई तालिमको व्यवस्था गर्नेलगायत प्रयासहरु जारी रहेको छ,’व्यवस्थापक भट्टराईले भने ।

यो बजार स्वर्गीय पूर्ब मेयर ध्यान बहादुर राईको पालना स्थापना भएको हो । बजारलाई सफलरुपमा सञ्चालन गर्न अर्का पूर्ब मेयर मनोज कूमार मेन्ङ्योवोको ठुलो योगदान रहेको छ । मेन्याङ्बो हाल कृषि बजारको प्रमूख सल्लाहकारकारुपमा रहेका छन् । शुरुवातमा बजारको आफनो आम्दानी नहुदा ततकालीन मेयर मेन्याङ्बोले नगरपालिकाबाट ५० हजार ऋण लिएर सेवा दिन शुरु गरेको थियो ।