धरान: नेपाल सरकारले २२० केभी कोशी कोेरिडोर प्रसारण लाइन अन्तर्गत धरानमा १३२ केभी क्षमताको सब स्टेशन बनाउने निर्णय गरेको छ ।

गौरवको आयोजना रहेको कोशी कोरिडोर आयोजनाले प्रस्ताव गरेअनुसार धरानमा सब स्टेशन बनाउने निर्णय सरकारले गरेको छ । मन्त्रीपरिषदको बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्दै आज सरकारका प्रवक्ता एवं सुचना सञ्चार मन्त्री पार्वत गुरुङले धरानमा २२० केभी प्रसारण आयोजनाको सब स्टेशन निर्माण गर्न आवश्यक प्रक्रिया शुरु गर्ने निर्णय गरेको बताए । यो सब स्टेशनको क्षमता १३२ केभी हुनेछ।

धरानको वडा नं २० हुँदै निर्माण गरिएको २२० केभी कोशी कोरिडोरले स्थानीयस्तरमा र पर्यटकीय विकासका सम्भावनाहरुलाई ठुलो क्षति पुर्याउने भएपछि स्थानीयबासी साथै उपमहानगरपालिकाले पनि एलाइमेन्ट स्थानान्तरण गर्नुपर्ने भन्दै आग्रह गरेको थियो । आयोजनाले माग पुरा गर्न तत्परता नदेखाएपछि स्थानीयको विरोधले आयोजनाको काम ठप्प भएको थियो । विवाद अन्त्यको लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहल गरेका थिए भने विद्युत प्राधिकरणका तत्कालिक कार्यकारी निर्देशक कुलमान घिसिंगसहित धरानमा छलफलसमेत भएको थियो । 

cabinet प्राधिकरणका निर्देशक घिसिंगले विरोध गरेर काम रोक्नुको साटो धरानलाई फाइदा हुने गरि सबस्टेशन बनाउने, विकासका योजना ल्याउने लगायत अन्य विकल्पमा जान सकिने प्रस्ताव गरेका थिए । सोही सहमति अनुसार आयोजनाले प्राधिकरण, उर्जा मन्त्रालयमार्फत धरानमा सब स्टेशनको प्रस्ताव गरेको थियो । सोही प्रस्ताव अनुसार धरानमा १३२ केभी क्षमताको सब स्टेशन बनाउन बजेट विनियोजन भइसकेको छ भने मन्त्रीपरिषदले पनि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

सब स्टेशन बनाउन पौने २ अर्ब हाराहारीको बजेट

धरानमा सब स्टेशन बनाउन १ अर्ब ७० करोड हाराहारीमा बजेट विनियोजन पनि भइसकेको छ । साथै, प्रोजेक्ट मेनेजर पनि नियुक्ती भइसकेको २२० केभी प्रसारण लाइनको धरान सेक्सनका कर्मचारी उदय गुँरागाईले जानकारी दिए ।  उनका अनुसार १३२ केभी क्षमताको यो सब स्टेशन धरानको भोल्टेजको समस्यालाई सुधार गर्ने लक्ष्यसहित स्थापना हुन लागेको हो । यसले धरानलाई ५० औं बर्षसम्म भोल्टेज समस्याबाट मुक्त बनाउने पनि गुँरागाईको भनाई छ ।

उनका अनुसार हाल राष्ट्रिय प्रसारण लाइनको धरानको ३३ केभी क्षमताको मात्र हो । धरानमा बन्न लागेको १३२ केभीको सब स्टेशन हाल दुहबी र झापाको अनारमनीमा मात्र रहेको पनि उनले बताए । ‘धरानलाई ५० आंै बर्षसम्म पनि भोल्टेज समस्याबाट मुक्ति दिलाउछ,’उनले भने । सब स्टेशनको लागि जग्गा खरीद गर्ने प्रक्रिया अघि बढीसकेको छ ।

धरानको मुहार फेरिन्छ: उपमेयर

धरानमा २२० केभी प्रसारण लाइनको विवाद हुँदा कार्यवाहक मेयरकोरुपमा उपमेयर मञ्जु भण्डारी सुवेदी थिइन् । मुख्यमन्त्री राईसहित विद्युत प्राधिकरणको कार्यकारी निर्देशक घिसिंग विवाद समाधानको लागि स्थलगत निरीक्षण र छलफल हँुँदा पनि उनी नै कार्यवाहक मेयर थिइन् । उपमेयर भण्डारी अहिले धरानमा सब स्टेशन बन्ने निश्चित भएकोमा खुशी व्यक्त गर्दै भन्छिन्,'यसले धरानको मुहार नै फेरिन्छ ।'

उनका अनुसार सब स्टेशन बनेपछि धरानका चौबिसै घण्टा विजुली उपलब्ध हुनेछ भने भोल्टेज समस्या पनि हुनेछैन । जसले गर्दा धरानमा निर्माण हुन लागेको औद्योगिक ग्राममा उद्योग, कलकारखानालाई राहत हुनेछ भने नयाँ लागनीकर्ताहरु पनि धरानमा आकर्षित हुनेछ । ‘विजुलीमा आधारित उद्योग, कलकारखानाहरु धरानमा आउनेछ, र रोजगारी सृर्जना हुन्छ,’उनी भन्छिन् ।