धरान: नेपालीहरुको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात तिहार आजदेखि शुरु भएको छ ।

यमपञ्चकको पहिलो दिन आज कागको पुजा गरेर मनाइदैछ । यमराजको दूतका रुपमा कागलाई मिठो परिकार खान दिइने गरिन्छ । यमराजले लोकको खबर कागको माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मानिन्छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घरवरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । कागलाई दहीभात मीठो लाग्छ । आजको दिन कागलाई दहीभात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ ।यसवर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि नै सुरु भए पनि काग तिहार भने २८ गते परेको हो । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि आजै परेको छ । तिथि घटबढका कारण यस्तो भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने समितिले जनाएको छ । सायंकालमा औंसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय विधान छ । औंसी तिथिमा गरिने स्नान र दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। आइतबार बिहान ११ः२७ बजेसम्म औंसी तिथि छ । मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ । नेवार समुदायका केही संस्थाले भने मंसिर २ गते भाइटीका मनाउने निर्णय गरेका छन् । त्यसैले सरकारले मंसिर २ गते पनि देशभर सार्वजनिक बिदा दिएको छ ।