धरान: एसएलसी पास गरेपछि उदयपुरको बसाह (हाल चौदण्डीगढी नगरपालिका)का युवा धिरज राई कलेज पढ्दै थिए । उनलाई ब्रिटिश लाहुरे हुने रहर जाग्यो । उनी लाहुरे भिड्न धरान आए । यो करिब ८ बर्ष अघिको कुरा हो ।

उदयपुरबाट लाहुरे सपना बोकेर धरान आएका तिनै युवा धिरज लाहुरे त भएनन्, तर कला क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्षरत छन् । आफु लाहुरे हुन नसकेकोमा उनलाई कुनै पछुतो छैन । पैसा कमाउन नसके पनि उनले नाम कमाउदैछन्, प्रशंसा बटुल्दैछन्, आफ्नो अलग्गै परिचय बनाउदैछन् । २८ बर्षीय धिरज भन्छन्,‘खासमा म लाहुर हुन धरान आएको थिएँ, तर सफल भइन । मसँग यही कला थियो, यसैमा लागियो ।’

धिरज अचेल क्यानभासमा चित्र बनाउछन् । उनी पोट्रेट(मुहारचित्र) र ल्याण्डस्केप बनाउन खप्पिस छन् । त्यति मात्र होइन, मुर्तिकलामा पनि उनी पोख्त छन् । अहिले यही कलाबाट उनले कमाई पनि गर्न थालेका छन् । यसैमा उनलाई सन्तुष्टी मिलेको छ । ‘सोचे जस्तो छैन, तर विदेश गएर दुःख गर्नुभन्दा यही आर्टमा केही हुन्छ,’उनी भन्छन्,‘बाहिर जान नपरोस् । सोचेजस्तो नभएपनि बाँच्न सकिन्छ ।’

लाहुरे बन्न असफल भएपछि मलेसिया पनि गए

भिडियो:

 ब्रिटिश आर्मी भिड्न धरान आएका धिरज असफल भएपछि निराश बने । पढाई पनि बिग्रियो । प्रायः लाहुर भिड्न तयारी गर्ने युवाहरुको असफल भएपछि पढाई पनि छुट्छ । लाहुरे बन्न असफल भएपछि उनी विदेशिए ।

धिरजकै भनाई अनुसार उनी मलेसिया पुगे । तर, त्यहाँ धेरै समय टिकेनन् । उनी घर फर्के । सानैदेखि उनी चित्र बनाउथे । विदेशबाट फर्केपछि उनले कला क्षेत्रमा लाग्ने सोच बनाए । उनी लाहुरे बन्ने तयारी गर्दा धरानमा कलाकार महेन्द्र राईको युमा आर्ट ग्यालरी देखेका थिए । जहाँ बालबालिकादेखि किसोर, युवाहरु पेन्टिङ सिक्थे । धिरज उनै महेन्द्र राईलाई खोज्दै गए । ‘महेन्द्र सरको ग्यालेरी भेटिन, खोज्दै घरमा गएँ,’उनले भने,‘उहाँसँग चित्र बनाउन सिके, जीवन पौडेल सरसँग उहाँले भेट गराइदिनु भयो, र मुर्ति बनाउन सिकने ।’

कलालाई अझै निर्खाछुँ

dhiraj-art

युवा कलाकार धिरज अहिले धरान १३ फुस्रे चोकमा मुर्तिहरु बनाइरहेका छन् । फुस्रेमा नै उनले वर्कसप खोलेका छन् । त्यहाँ १३ नम्बर वडा कार्यालयको अवधारणा अनुसार उहिलेको फुस्रे बजारको इतिहास झल्काउने मुर्तिहरु लगभग तयार भइसकेको छ ।
धिरज भविष्यमा पनि कला क्षेत्रलाई नै निरन्तरता दिने बताउँछन् । ‘भविष्यमा पनि यहीँ क्षेत्रमा हुन्छुँ, जानेकै यही छुँ,’उनी भन्छन्,‘कलालाई अझ निखार्ने कोसिस गर्छु । राम्रो कलाकार बन्ने इच्छा छ ।’

भिडियो: