धरान: गएको बैशाखमा पाँचथरको मिक्लाजुङ गाउँपालिकाको एउटा निर्णयले राष्ट्रव्यापी चर्चा पाएको थियो, त्यो निर्णय थियो-४० मुरी भन्दा बढी धान उत्पादन गर्ने परिवारलाई १ लाख पुरस्कार दिने ।

गाउँपालिकाको यो निर्णयले चर्चा मात्र पाएन, सर्वत्र प्रशंसा पनि भएको थियो । कोभिड १९ को महामारी तथा लकडाउनको कारण खाद्य संकट उत्पन्न हुनसक्ने भएकोले उत्पादन बढाउन गाउँपालिकाले यस्तो निर्णय गरेको जनाएको थियो । गाउँपालिकाले किसानलाई पुरस्कृत गर्न कार्यविधिसमेत बनाएको छ । अहिले किसानको खेतमा धान पाकिसकेको छ । यो बेला किसानलाई धान भित्र्याउने चटारो छ भने गाउँपालिकालाई पनि ४० मुरी धान उत्पादन गर्ने किसानको खोजी तथा अनुगमन गर्ने चटारो छ ।

गाउँपालिका अध्यक्ष अमरराज माखिमका अनुसार कार्यविधि अनुसार किसानले ४० मुरी धान उत्पादन गरे नगरेको स्थलगत अनुगमन गर्ने काम भइरहेको छ । यसको लागि सम्बन्धित वडाका अध्यक्ष, वडा सचिव, गाउँपालिकाको कृषि शाखा प्रमुखलगायतको टोली खटिएको पनि अध्यक्ष माखिमले बताए । ‘जसकोमा ४० मुरी धान फलेको भन्ने लाग्छ, त्यो परिवारले वडामा फारम भरेर मेरो धान झाट्छौं भनेर भनेपछि वडाले जानकारी गराउछ, र हामी टोली पठाउछौं,’गाउँपालिका अध्यक्ष माखिमले भने,‘दशैं अघिदेखि नै अनुगमन गरिरहेका छौं ।’

Amar-makhim

अध्यक्ष माखिमका अनुसार किसानले जहाँ धान झट्ने हो, सोही स्थानमा पुगेर टोलीले अनुगमन गरिरहेको छ । अहिले दैनिकरुपमा ३, ४ ठाउँमा अनुगमन भइरहेको पनि अध्यक्ष माखिमले बताए । उनका अनुसार कसैले ढाटेर अर्काको धान मिसाएको पाइएमा कडा कारबाही पनि गरिनेछ । ‘कसैले ढाटेर अर्काको धान ल्याएर मिसाएको छ भने किसानलाई पुरस्कार वापत कै रकम जरिवाना गरिन्छ । सिफारिश गर्ने वडाअध्यक्षलाई २५ हजार र सर्जमिन गर्ने ५ जनालाई वडाअध्यक्ष जति नै जरिवाना गरिनेछ,’अध्यक्ष माखिमले भने, '४० मुरीभन्दा बढी धान ज जसले उत्पादन गर्नुभएको छ, त्यो परिवारलाई १, १ लाख पुरस्कार दिन्छौं ।'dhan dhan1 dhan3