ताप्लेजुङ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको कामबाट आत्तिएकाहरुले आफ्नो राजिनामा मागेको बताएका छन् । उनले सरकार कुनै पनि हालतमा नफेरिने पनि जिकिर गरे ।

ताप्लेजुङको फक्तालुङ् गाउँपालिकाको वडा नं ६ लेलेपस्थित घुन्सामा आज(सोमवार) सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले लोकप्रिय काम गर्ने सरकारले निरन्तरता पाउदा आफ्नो अस्तित्व सकिन्छ भन्ने पीरले पार्टी नेतृत्व र प्रधानमन्त्रीबाट राजिनामाको माग भइरहकेो बताए । देशको विकास र प्रगतिमा काम नगरोस् भन्नेहरुले आफ्नो राजिनामा मागेको उनको भनाई थियो ।

'सरकारको प्रगतिबाट आत्तिएका र केही काम नपाएकाहरुले केही काम गर्न सकेन, सरकार ढलिहाल्छ जस्ता लाञ्छनाहरु लगाइरहन्छन्,'संक्षिप्त सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले भने । उनले बर्तमान सरकार जनताको पक्षमा निरन्तर रहीरहने पनि बताए । प्रधानमन्त्री ओलीसहितको टोलीले ओलाङ्चुङगोला रहेको सशस्त्र प्रहरीको बिओपीलगायत सीमावर्ती क्षेत्रको हवाई निरीक्षणसमेत गरेको थियो ।

प्रधानमन्त्री ओलीले अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक जस्ता जमिन वर्तमान सरकारले फिर्ता ल्याएमा लोकप्रियता झन् बढ्छ भनेर आत्तिएकाहरुले अर्नगल प्रचार गरिरहेको दाबी गरे । 'केही मानिसहरु देशमा अस्थीरता कायम राख्न चाहेको भन्दै उनले भने, देशको स्थिरता नचाहने मान्छेहरु, देशको प्रगति हेरेर तर्सिएका मान्छेहरु आत्तिएका छन् ।’