धरान: लोकगायक सुरेश गन्धर्वलाई तरुण दलले आर्थिक सहयोग गरेको छ ।

अस्पतालमा उपचाररत गायक गन्धर्वलाई औषधी खर्चको लागि आर्थिक सहयोग गरेको तरुण दलका धरान उपमहानगर अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार ११ हजार २ सय ५५ रुपैया सहयोग गरिएको हो । यो रकम नगर कार्यसमितिबाट जुटाएर सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए । उनले भने, 'उहाँको स्वास्थ्य अवस्था बुझ्यौं । औषधीमा लाग्ने खर्चको लागि यो सहयोग गरेका हौं, भविष्यमा पनि थप सहयोग गछौं ।'

अध्यक्ष श्रेष्ठले भविष्यमा गायक गन्धर्वलाई स्वास्थ्य विमा गराउन पनि सहयोग गर्ने बताए । सरकारले विमा नगरिदिए तरुण दलले गरिदिने उनको भनाई छ । 'कलाकार राष्ट्रका अमुल्य निधि हुन्, उहाँहरुलाई जोगाउनु सबैको दायित्व हो,'श्रेष्ठले भने । सहयोग रकम हस्तान्तरण गर्न अध्यक्ष श्रेष्ठसँगै उपाध्यक्ष नरसिंह राई र सदस्य बिक्रम तामाङ पनि अस्पताल गएका थिए । गायक गन्धर्व वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ट्रपिकल वार्डबाट सारेर मेडिसिन वार्ड युनिट ३ को बेड नं २१ मा राखिएको छ ।

खोलियो बैंक खाता, कर्मचारीले जम्मा गरिदिए ४ हजार रकम 

help-tarun.

लोक गायक गन्धर्वको नाममा आएको सहयोग रकम पारदर्शि बनाउन बैंक खाता खोलिएको छ । मेघा बैंकको धरान शाखामा गायक गन्धर्वका छोरा यमकुमार गन्धर्व र सञ्चारकर्मी सञ्जिता धमलाको नाममा संयुक्त खाता खोलिएको हो ।

उक्त खातामा पहिलो रकम मेघा बैंकका शाखा मेनेजर सविन श्रेष्ठसहित १४ जना कर्मचारीहरुले नगद ४ हजार सहयोग स्वरुप जम्मा गरिदिएका छन् । ‘जे जति सहयोग रकम आउछ, सबै बैंक खातामा जम्मा गरेर पारदर्शि बनाउन खाता खोलिएको हो,’गायक गन्धर्व बचाउन पहल गरिरहेका रंगकर्मी विष्णु मोक्तानले भने,‘खातामा पहिलो रकम बैंकका कर्मचारीहरुकोतर्फबाट ४ हजार जम्मा भएको छ ।’ गन्धर्वलाई सहयोग गर्न चाहने व्यक्तिहरुले मेघा बैंकको धरान शाखास्थित खाता नम्बर ०२२००५८२६९५४ मा सहयोग पठाउन पनि मोक्तानले अपिल गरेका छन् ।