धरान: ऐतिहासिक विजयपुर गढीमा अवस्थित मठमन्दिरहरु भक्तजनको लागि खुला गर्ने निर्णय भएसँगै धरानको बुढासुब्बा मन्दिरमा भक्तजनहरुको घुँइलो लागेको छ ।

धरान वडा नं १४ मा पौराणिक एवं ऐतिहासिक महत्वको पिण्डेश्वर, दन्तकाली, पञ्चकन्या मन्दिर छन् । तीमध्ये पिण्डेश्वर र दन्तकाली मन्दिर आज शनिबारदेखि खुलेको हो भने बुढासुब्बामा भक्तजनहरुको अत्यधिक भिड भएकोले बिहिबारदेखि नै भक्तजनहरुलाई खुला गरिएको थियो । बुढासुब्बामा आज शनिबार बिहान भक्तजनहरुको थामिनसक्नु भिड लागेको छ ।

मन्दिर खुला गर्दा स्वास्थ्य प्रोटोकल अनिवार्य पालना गराउने भनिए पनि बुढासुब्बामा पुर्णरुपमा लागु भएको छैन । मुल गेटमा सेनिटाइजर लगाईदिने, मास्क अनिवार्य गर्ने प्रोटोकल पालना भएपनि अत्यधिक घुँइचोको कारण मन्दिर परिसरमा भौतिक दुरी भने कायम छैन । बुढासुब्बाको तुलनामा पिण्डेश्वर र दन्तकाली मन्दिरमा भक्तजनहरुको संख्या अन्यन्तै न्युन थियो । बुढासुब्बामा पनि बिशेष गरि शनिबार र मंगलबार भक्तजनहरुको भिड लाग्छ ।

budha-subba4

वडा नं १४ का बासिन्दा एवं समाजसेवी प्रेमप्रसाद पराजुली बुढासुब्बा मन्दिरको भक्त असाध्यै धेरै भएको बताउँछन् । अझ उनी त सुनसरी जिल्लाको मठमन्दिरमध्ये बाह्रै महिना भक्तजनहरु भिड हुने मन्दिर बुढासुब्बा भएको अनुमान गर्छन् । ‘शनिबार र मंगलबार थामिनक्सनु भिड हुन्छ । यति मान्छेहरु आउदै गर्दा प्रहरी, सशस्त्र, नगरप्रहरी देख्न नपाउदा दुःखलाग्छ । स्वास्थ्य प्रोटोकल पुर्णरुपमा पालना भएन,’उनी भन्छन्,‘राम्रो दर्शन गर्ने व्यवस्था हुनुपर्छ, र सहयोग गर्ने वातावरण पनि बनाउनुपर्छ । यहाँका राजनीतिक दल, सामाजसेवी, जनप्रतिनिधि सबै मिलेर यो मन्दिरलाई वैभवशाली बनाउनेतर्फ ध्यान दिनुपर्छ ।’

budha-subba1

बुढासुब्बा मन्दिर देवताको मुर्ति नभएको मन्दिर हो । मन्दिर भित्र माटोको ढिस्का छ । ढिस्को भएपनि भक्तजनहरुमा अथाह भक्तिभाव छ । ढिस्कोबारे धेरै किवंदन्तीहरु छन् । कसैले बुढा सुब्बा र सुब्बेनीको समाधी भन्छन् । कसैले बुद्धिकर्ण रायको समाधी पनि भन्छन् । यहाँ खुकुरा, अण्डा, वंगुर, फुलपाती र रक्सी पनि चढाइन्छ । कुखुरा वलि दिइपछि मुटू कलेजोबाट बुढा मगर पुजारीले जोखना पनि हेरिदिने गरेका छन् । यहाँ भाकल गर्नेहरु र मनोकांक्षा पुरा भएपनि आउने भक्तजनहरु धेरै छन् । मन्दिर परिसरमा टुप्पो विनाका बाँसको झ्यांग छ । ती बाँसहरु धनु काँडाबाट उम्रेकोले टुप्पो नभएको भन्ने किंबदन्ती छ । प्रेम सफल हुन्छ भन्ने विश्वासले ती बाँसमा पहिला प्रेमी प्रेमिकाले आफ्नो नामको पहिलो अक्षर खोप्ने गर्थे । अचेल डोरा बाध्ने चलन छ ।

दन्तकाली र पिण्डेश्वर मन्दिर पनि खुल्यो

dantakali 1

आज शनिबारदेखि पिण्डेश्वर र दन्तकाली मन्दिर पनि भक्तजनहरुलाई दर्शन गर्नको लागि खुला गरिएको छ । दन्तकाली मन्दिरका पुजारी विश्वराज खनालका अनुसार स्वास्थ्य प्रोटोकल पालना गरेर मन्दिर खुला गरिएको बताए । ‘आजदेखि हामीले ढोका खोलेर भक्तजनहरुलाई प्रवेश गर्न दिएका छौं । सेनिटाइज र मास्क प्रयोग गरेर, प्रोटोकल पालना गरेर मात्र प्रवेश गर्न पाइन्छ,’उनले भने । पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले पनि आजदेखि मन्दिरको ढोका खोलिएको बताए । ‘आजदेखि पिण्डेश्वर मन्दिरको पनि ढोका खोलिएको छ, बिहान म नै गएर ढोका खोलेको हो,’उनले भने ।

कोरोना महामारी र लकडाउनको कारण मठमन्दिरहरु लामो समयदेखि बन्द थियो । नित्य पुजा मात्र भइरहेको मठमन्दिर दशैं तिहार जस्तो चाडपर्वमा पनि खुलेको थिएन । बन्द भएपनि पछिल्लो समय बुढासुब्बामा भक्तजनहरुको अत्यधिक भिड हुन थालेपछि स्थानीय सरकार, मन्दिर व्यवस्थापन समितिलाई मन्दिर खुला गर्न दबाब परेको थियो । 

pindeswor 1 budha-subba3 budha-subba7 budha-subba5 budha-subba6 budha-subba8 budha-subba11 budha-subba-10 budha-subba9 budha-subba12