विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन पहल थालेका छन् ।
मुआब्जा विवादका कारण कटहरी क्षेत्रमा लामो समयदेखि रेलमार्ग निर्माण कार्य अवरुद्ध भएको छ । मन्त्री घिमिरेले आज मन्त्रालयमा रेल विभागका प्रतिनिधि, स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहितको बैठक राखेका थिए । जनप्रतिनिधिविहिन अवस्थामा स्थानीयको आवाज नसुनिएको कारण रेलमार्ग भित्र रहेको करिव २५ विगाहा क्षेत्रफलको मुआब्जा रोकिएको मन्त्री घिमिरेले बताए । रेलमार्ग निर्माण हुने भएपछि सो क्षेत्रमा ९ बर्षअघि जग्गाको मूल्यांकन गरि मुआब्जा वितरण शुरु गरिएको थियो । मुआब्जा वितरण बैज्ञानिक नभएको भन्दै करिव २२ घर परिवारलेले मुआब्जा लिन मानेका छैनन ।
मन्त्री घिमिरेले पुर्नमुल्यांकनका लागि हुनेसम्म पहल गर्ने बताए । उनले स्थानीयको पीरमर्कालाई बुझ्दै परियोजनालाई अघि बढाउनुपर्ने धारणा राखेका थिए । मन्त्री घिमिरेले भने,‘परियोजना जति छिटो बन्छ, त्यति छिटो स्थानीयले पनि लाभ लिन सक्नेछन् ।’ उनले राजनीतिक रुपमा पनि समस्या समाधानका लागि पहल गर्ने बताए । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जग्गाको पुर्नमूल्याकंनको अधिकार जिल्ला प्रशासनलाई नभएको बताए । गृहमन्त्रालयबाट निर्णय भएर आएमा मात्र पुर्नमुल्यांकन गर्न सकिने प्रजिअ निरौलाको भनाई थियो ।
कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामतले प्रतिकठ्ठा ८ लाख भन्दा कम पाउनेहरुले मुआब्जा नलिएको जानकारी दिए । पीडितका समस्या समाधान नगरी डोजर चलाएर विकास निर्माणको कार्य अघि बढाउन नसकिने उनको भनाई छ । प्रमुख कामतले पुर्नमुल्यांकन गरेर मुआब्जा वितरणका लागि पहल गरिदिन मन्त्री घिमिरे समक्ष आग्रह गरे ।
स्थानीय सतनलाल चौधरीले एउटै कित्ताको जग्गाको मूल्यांकन फरक–फरक भएपछि मुआब्जा नलिएको बताए । मुआब्जाको विवाद छिटो मिलाउन उनले आग्रह गरे । जग्गाको मुल्यांकनपछि ९ बर्षमा पहिलो पटक पीडितका कुरा सम्बन्धित निकायले सुनेको चौधरीको भनाई छ । पीडितसँग कहिलै सरोकारवालाले छलफल नगरेको उनको गुनासो थियो । रेल विभागका साइट इन्जिनियर विनोद ओझाले रेलमार्ग निर्माणका लागि सम्पूर्ण कानुनी प्रक्रिया पुरा भईसकेको बताए । कानुनी प्रक्रिया अघि बढेकाले चाँडै काम शुरु गर्ने उनको भनाई छ ।
दुई वर्षभित्र सम्पन्न गर्ने गरी सन् २०११ मा सुरु भएको भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको १८.६ किलोमिटर रेलमार्गमध्ये पाँच किमिमा भारतमा पर्छ । नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३.६ किमि भूभाग पर्छ । विराटनगर–रंगेली सडकसँग जोडिएको कटहरी गाउँपालिकासम्म रेल ल्याउने योजना भए पनि यो मार्गमा काम ठप्प छ । मुआब्जा विवादका कारण रेलमार्गको ३ किमि क्षेत्रमा काम अबरुद्ध छ ।