धरान: खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयले भोली शुक्रबारदेखि बिल काउन्टर खुला गर्ने भएको छ ।

संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरणको प्रक्रियामा भएकोले धरान खानेपानी व्यवस्थान बोर्डले बिल काउन्टरसहित आर्थिक कारोबार बन्द गर्न पत्राचार गरेको थियो । बोर्डको पत्रअनुसार संस्थानको शाखा कार्यालयले बुधबारदेखि बिल काउन्टरसहितको आर्थिक कारोबार बन्द गरेको थियो । तर, बिहिबार केन्द्रीय कार्यालयले बोर्डबाट हस्तान्तरण हुने मितिसहितको पत्र प्राप्त नभएसम्म उपभोक्तालाई असहज बनाउन नहुने निर्देशन आएको भन्दै संस्थानको धरान शाखा कार्यालयले शुक्रबारदेखि काउन्टर खुला गर्ने जनाएको छ ।

संस्थानको धरान शाखाका निमित्त प्रमुख सुर्यज्योति बास्कोटाले बोर्डबाट हस्तान्तरण हुने मिति तोकेर पत्र नआएसम्म विगतमा जस्तै सेवा तथा कारोबारहरु सुचारु हुने बताए । केन्द्रीय कार्यालयबाट ग्राहकहरुलाई असुविधा हुने भएकोले बिल काउन्टरलगायतका सेवाहरु सुचारु गर्न निर्देशन आएको पनि उनले बताए । ‘खानेपानी बोर्डको पत्र आएपछि बिल काउन्टर बन्द थियो, तर केन्द्रीय कार्यालयबाट खुला गर्न निर्देशन प्राप्त भएकोले भोली शुक्रबारदेखि काउन्टर खुला हुन्छ,’बास्कोटाले भने ।

खानेपानी व्यवस्थापन बोर्डले काउन्टरलगायत आर्थिक कारोबार बन्द गर्न र मंसिरसम्ममको सम्पुर्ण हरहिसाब दुरुस्त राखी आर्थिक विवरण बुझबुझारथ गर्न पत्राचार गरेको थियो । सोही अनुसार बुधबारदेखि संस्थानले बिल काउन्टर बन्द गरेको थियो । तर, दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले बुधबार दिनभर जसो नै संस्थानका प्रमुख रामकुमार श्रेष्ठलाई काउन्टर खुला गर्न दबाब दिएका थिए भने संस्थानका महाप्रबन्धकलाई पनि फोनमार्फत काउन्टर खुला गर्न चर्को दबाब दिएको थियो ।water