धरान: नेकपामा विभाजन भएपछि त्यसको प्रभाव केन्द्रदेखि स्थानीय तहसम्म परेको छ । नेता, कार्यकर्ताहरु पनि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव समुहमा बाँडिएका छन् ।

प्रचण्ड माधव समुहको पकड क्षेत्र मानिएको धरानमा शुक्रबार भने नेकपाको ओली समुहले महिलाहरुको भेला आयोजना गरेको छ । भेलालाई केन्द्रीय सदस्य मुरारी सुवेदी, विजय राई र मोतिराज सुनुवारले सम्बोधन गर्ने तथा समसामयिक राजनीतिक घटनाक्रमबारे प्रष्ट पार्ने कार्यक्रम रहेको छ । अहिले पनि जारी भेलालाई केन्द्रीय सदस्य सुवेदीले भेला आयोजनाको उद्देश्य र वर्तमान राजनीतिक घटनाक्रमबारे प्रष्ट पारिरहेका छन् ।

भेलाको संयोजक गरेकी महिला नेतृ एवं उपप्रमुख मञ्जु भण्डारीले महिलाहरुको बीचमा समसामयिक राजनीतिक बिषयमा प्रष्ट पार्न भेला आयोजना गरिएको बताइन् । ‘महिलाहरुको भेटघाट कार्यक्रम हो, वर्तमान समसामयिक राजनीतिक बिषय, घटनाक्रम बारेमा महिलाहरु पनि प्रष्ट हुनुपर्छ, थाह पाउनुपर्छ भनेर भेला आयोजना गरिएको हो,’उनले भनिन्,‘अंग्रेजी नयाँ बर्ष पनि भएकोले शुभकामना आदनप्रदान, भेटघाट पनि हो ।’

oli1

धरान उपमहानगरपालिका नेकपाको प्रचण्ड माधव समुहको पकड भएको क्षेत्र मानिन्छ । यहाँ तत्कालिन नेकपा एमाले हँुदा नै माधव नेपाल समुहको पार्टीमा एकछत्र पकड थियो । अहिले पुर्वमाओवादीको प्रचण्ड र माधव समुह एकतिर हुँदा धरानमा स्वतः प्रचण्ड माधव समुह बहुमत रहेको छ । तर, धेरै स्थानीय नेता, कार्यकर्ताहरु खुलेका छैनन् । कतिपय नेता, कार्यकर्ताहरु कुन समुहले पार्टी आधिकारिकता र चुनाव चिह्न सुर्य पाउछ, त्यसैअनुसार समुहमा खुल्ने बताउने गरेका छन् ।

oli2