धरान: झुटो विवरण पेश गरेर धरान वडा नं ९ बाट नागरिकता निकाल्ने मञ्जु क्षेत्री धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

सुनसरी जिल्ला अदालतका न्यायाधिश कैलाशप्रसाद सुवेदीको इजलाशले २ लाख ३० हजार धरौटी माग गर्ने आदेश दिएको थियो । अदालतको आदेश पछि धरौटी बुझाएर क्षेत्री तारेखमा छुटेको अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । ‘मञ्जु क्षेत्रीको हकमा २ लाख ३० हजार धरौटी माग भयो । धरौटी बुझाएर तारेखमा रिहा भइन्,’पोखरेलले भने । अन्य ३ जनाको हकमा भने पक्राउ पुर्जी वा म्याद पुर्जी जारी हुने पनि उनले जानकारी दिए ।

झुटो विवरण पेश गरेर स्याङ्जाकी मञ्जु क्षेत्रीले धरान वडा नं ९ बाट दोहोरो नागरिकता निकालेपछि उनलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि, थप थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई धरान पठाएको थियो । यो प्रकरणमा क्षेत्रीसहित ४ जनाविरुद्ध मुद्दा दायर भएको थियो । उनलाई छोरी बनाएर धरानबाट नागरिकता निकालिदिने अर्घाखाँचीका गोपाल सेजुवाल हाल जापानमा छन् ।

झुटो विवरणअनुसार नागरिकता बनाउन सिफारिश गर्ने वडाअध्यक्ष रत्न कटवाल र वडा सचिव रञ्जु भुजेल फरार सुचीमा छन् । अध्यक्ष कटवालविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार अब अन्य फरार सुचीमा रहेकाहरुलाई अदालतबाट म्याद पुर्जी जारी हुन्छ । उक्त अवधिमा फरार भएकाहरु अदालतमा हाजिर भएर वयान दिनुपर्ने डिएसपी बस्नेतले जानकारी दिए ।