धरान: स्याङ्जा घर भएकी एक महिलाले धरानको वडा नं ९ को बासिन्दा बनेर झुटो विवरण पेश गरी नागरिकता लिएको खुलेको छ ।

झुटो विवरण पेश गरेर नागरिकता लिने ती महिला पक्राउ परिसकेकी छिन् भने झुटो विवरण सिफरिश गरेर नागरिकता दिलाउन सहयोग गर्ने धरानको वडा नं ९ का अध्यक्ष रत्न कटवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका वडाअध्यक्ष कटवाल भने फरार छन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले अनुसन्धान जारी रहेको र अध्यक्ष कटवालविरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भएको बताए । ‘वडा नं ९ का अध्यक्षलाई पक्राउ पुर्जी हिजो जारी भएको छ,’डिएसपी बस्नेतले भने ।

स्याङ्जाको वालिङ ३ घर भएकी मञ्जु क्षेत्रीले २०७५ माघ ८ गते धरानबाट नागरिकता लिएकी थिइन् । उनलाई अर्घाखाँचीका गोपाल सेजुवालले बुबा बनेर नागरिकता दिलाएका थिए । वडा ९ का बासिन्दा बनेर मञ्जुलाई नागरिकता दिलाएका उनी हाल जापानमा रहेको खुलेको छ । झुटो विवरण पेश गरेर नागरिकता निकालिएको कारण ठुलो रकम खर्च गरेको अनुमान छ । पक्राउ पुर्जी जारी भएका वडाअध्यक्ष कटवालको मोवाइल स्वीच अफ छ भने कार्यालयमा पुग्दा पनि उनी भेटिएनन् । 

धरान प्रहरीका अनुसार यो मुद्दा स्याङ्जा प्रहरीमा नै दर्ता भएको हो । अनुसन्धानको क्रममा नागरिकता धरानबाट झिकेको खुलेपछि स्याङ्जा प्रहरीले पक्राउ परेकी महिलासहित यो मुद्दा धरान पठाइदिएको हो । धरान प्रहरीले पनि अनुसन्धानको क्रममा ती महिलालाई झुटो विवरण पेश गरेर नागरिकता दिलाएको खुलेको जनाएको छ । ‘झुटो विवरण पेश गरेर नै नागरिकता झिकेको देखियो,’डिएसपी बस्नेतले भने ।

धरानबाट नागरिकता निकाल्ने महिलाको वास्तविक उमेर बढी भएपनि २०५५ सालको जन्मदर्ता गरेर दुई बर्षअघि २० बर्ष उमेरको नागरिकता लिएकी थिइन् । जापानमा रहेका सेजुवालसँग फेसबुकमा चिनजान भएको र छोरी बनेर जापान जाने भनेर धरानबाट नागरिकता निकालेको हालसम्मको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी बस्नेतले जानकारी दिए । सेजुवल दुई बर्षअघि जापानबाट नेपाल आएर धरान ९ को बासिन्दा भई मञ्जुलाई नागरिकता निकालिदिएका थिए । त्यसपछि उनी पुनः जापान फर्किएका थिए ।