धरान: झुटो विवरण पेश गरेर स्याङ्जाकी महिलालाई नागरिकता दिलाउने धरान उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष रत्न कटवालविरुद्ध हिजो पक्राउ पुर्जी जारी भयो । तर, उनलाई प्रहरीले फेला पार्न सकेको छैन ।

धरान प्रहरीले अध्यक्ष कटवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको खबर आज (बिहिबार) सार्वजनिक भएपछि उनी कहाँ छन् ? भन्ने सर्वत्र चासो बढेको छ । प्रहरी स्रोतका अनुसार अध्यक्ष कटवालले आफु पक्राउ पर्ने संकेत केही दिनअघि नै थाह पाइसकेका थिए । धरानको वडा नं ९ को बासिन्दा बनेर नागरिकता निकालेकी महिला पुष पहिलो साता नै स्याङ्जामा पक्राउ परेकी थिइन् । यता, वडा अध्यक्ष कटवालले उक्त खबर त्यसबेला नै पाइसकेका थिए ।

स्याङ्जा प्रहरीले अनुसन्धान गरेर मञ्जु क्षेत्री नामकी ती महिलासहित मुद्दा धरान पठाएको एक साता पनि बितेको छैन । धरान प्रहरीले अनुसन्धान शुरु गर्दा नगर्दै अध्यक्ष कटवाल सम्पर्क विहिन भइसकेका थिए । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेत भन्छन्,‘यो केस हामी कहाँ आइपुगेको एक साता मात्रे भयो, तर अध्यक्षले ती महिला पक्राउ पर्दा नै थाह पाइसकेका रहेछन् ।’

धरान प्रहरीले पनि घटनाबारे मिहिनढंगले अनुसन्धान गर्दा झुटो विवरण पेश गरेर नागरिकता दिएको खुल्यो । वडाअध्यक्ष कटवाल भने वडा सदस्य मनोज राउतलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर सम्पर्कविहिन भइसकेका थिए । ‘अर्घाखाँचीको मान्छेलाई के आधारमा सिफारिश गरेको हो ? यसको जवाफ वडाअध्यक्षले दिनुपर्छ, तर उहाँ सम्पर्कविहिन हुनुभएको छ । हामीले खोजी गरिरहेका छौं,’डिएसपी बस्नेतले भने ।

धरान ९ को बासिन्दा बनेर नागरिकता निकाल्ने मञ्जु क्षेत्री स्याङ्जाकी हुन् । तर, उनलाई छोरी बनाएर सिफारिश लिने गोपाल सेजुवाल भने अर्घाखाचीका हुन् । उनी हाल जापानमा छन् । मञ्जुलाई २०५५ सालको जन्मदर्ता बनाएर २०७५ माघ ८ गते धरानबाट नागरिकता निकालेको देखिएको छ ।

वडा कार्यालयका कार्यवाहक अध्यक्ष राउत भने ४ दिनअघि सञ्चो नभएको भन्दै उपचारको लागि वडाअध्यक्ष कटवाल विदामा बसेको बताउँछन् । नागरिकता प्रकरणबारे आफुले आजै मात्र सुनेको उनले बताए । ‘४ दिन अघि सञ्चो भएन भनेर डाक्टरलाई देखाउन विदा बस्नु भयो । कहाँ जानु भयो भन्ने थाहै भएन,’कार्यवाहक अध्यक्ष राउतले भने,‘जुन कुरा बाहिर आयो, मैले पनि आजै सुन्दैछुँ ।’

वडा सचिव पनि सम्पर्कविहिन

नागरिकता प्रकरणबारे प्रहरीले अनुसन्धान गर्न थालेपछि वडा सचिव रञ्जु भुजेल पनि सम्पर्कविहिन बनेका छन् । करिब २ बर्षअघिको यो घटनाको बेला पनि वडा सचिवकोरुपमा उनी नै रहेको खुलेको डिएसपी बस्नेतले बताए । ‘त्यतिबेला पनि वडा सचिवमा उहाँ नै रहेछ, कहाँ जानु भयो भनेर बुझ्दैछौं,’डिएसपी बस्नेतले भने ।

घरायसी काम छ भनेर एक सातादेखि उनी पनि विदामा रहेको उपमहानगरपालिकाले जनाएको छ । ‘घरायसी काम छ भनेर एक हप्तादेखि उहाँ विदामा बस्नु भएको हो । अरु कुरा थाह भएन,’उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले भने ।

ईलाका प्रशासनको कर्मचारी पनि अनुसन्धानको दायरामा

नागरिकता प्रकरणमा ईलाका प्रशासन कार्यालय धरानका तत्कालिन कर्मचारीलाई पनि अनुसन्धानको दायरामा तानिने प्रहरीले जनाएको छ । झुटो विवरण पेश गरेर नागरिकता दिएको प्रकरणमा ईलाका प्रशासनका सम्बन्धित कर्मचारीहरु पनि अनुसन्धानमा पर्ने डिएसपी बस्नेतले बताए । ‘ईलाका प्रशासनको कर्मचारी पनि अनुसन्धानको दायरामा आउछन्,’उनले भने ।