धरान: वडाअध्यक्षसँगको मिलेमतोमा धरान ९ को बासिन्दा भएर दोहोरो नागरिकता निकाल्ने स्याङ्जाकी मञ्जु क्षेत्री र उनको बुबा बन्ने अर्घाखाँचीका गोपाल सेजुवालको धरानमा बसोबास नभएको पाइएको छ ।

अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय धरानले उपमहानगरपालिका र मालपोत कार्यालय धरानलाई दोहोरो नागरिकता र राहदानी लिएको बिषयमा विभिन्न ५ जनाको विवरण माग गरेको थियो । प्रहरीले विवरण माग गरेपछि उपमहानगरपालिका र मालपोत कार्यालयले आवश्यक विवरण खोजी गरेर जवाफ पठाइसकेको छ । प्रहरीले अनुसन्धानको दायरामा रहेका ५ जनाको नाममा धरानमा कहि कतैं जग्गा जीमन र बसोबास भए कुन स्थानमा के कति जग्गा जमिन र घर छन् ? भनेर विवरण उपलब्ध गराउन आग्रह गदै पत्राचार गरेको थियो ।

प्रहरीको पत्राचार पछि दुवै निकायले आवश्यक जाँचबुझ गरेर जवाफ पठाइसकेको स्रोतको भनाई छ । उपमहानगरपालिका स्रोतका अनुसार ती ५ जनाको नाममा धरानमा व्यापार, व्यवसाय भएको वा घर, जग्गा भएको कुनै पनि रेकर्ड देखिएन । उपमहानगरपालिकाले सोही व्यवहोराको पत्र प्रहरीलाई पठाइसकेको छ । ‘जग्गा, जमिन वा घर भएको भए, व्यापार व्यवसाय भएको भए कर तिरेको वा कुनै न कुनै रेकर्ड भेटिन्थ्यो, त्यस्तो केही पनि भेटिएन । उनीहरु धरानको बासिन्दा नै होइनन्,’उपमहागनर स्रोतले भन्यो ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले उपमहानगरपालिका र मालपोत कार्यालयसँग अनुसन्धानको क्रममा आवश्यक विवरण माग गरेको र जवाफ आइसकेको बताए । उनले अनुसन्धानको क्रममा माग गरेको विवरणको बिषयमा अदालतमा पेश हुने भन्दै विस्तृत जानकारी दिन मानेनन् । उनले भने,‘जवाफ आइसकेको छ, अनुसन्धानको बिषय हो । अदालतमा पेश हुन्छ ।’ यद्यपी उनले दोहोरो नागरिकता लिनेहरुको धरानमा कुनै स्थायी बसोबास देखिने गरि रेडर्क नभेटिएको बताए ।

प्रहरीले अर्घाखाँची डिभार्ना १ का डिलबहादुर सेजवाल, अर्घाखाँची घर भई धरान ९ मा बसोबास रहेको भनिएका डिलबहादुरका छोरा गोपाल सेजवाल, गोपाल सेजुवालको श्रीमति धरान ९ बसोबास भनिएका विमला खड्का सेजवाल, गोपाल सेजुवालको छोरा घर भई धरान ९ बसोबास रहेका केशवराज सेजवाल र गोपाल सेजवालको छोरी भई धरान ९ मा बसोबास रहेका भनिएका मञ्जु सेजवालको बारेमा उपमहानगरपालिका र मालपोतसँग विवरण माग गरेको थियो ।

स्याङ्जा घर भएकी मञ्जु क्षेत्री पक्राउ परिसकेकी छिन् भने उनलाई झुटो विवरणको आधारमा नागरिकता दिलाउने धरान वडा नं ९ का अध्यक्ष रत्न कटवालविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । वडा सचिव रञ्जु भुजेल पनि सम्पर्कविहिन छ । मञ्जुलाई छोरी बनाएर नागरिकता झिकिदिने गोपाल सेजवाल हाल जापानमा रहेका छन् । मञ्जुलाई जापान लैजानकोलगि ठुलो रकम खर्च गरेर धरानबाट नागरिकता निकालिएको हालसम्मको अनुसन्धानबाट खुलेको छ ।