धरान: भोलीबाट शुरु हुने प्रदेश नं १ को हिउँदे अधिवेशनलाई लक्षित गरेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक प्रदेशको वर्तमान राजनीतिक परिस्थितिबारे केन्द्रीत हुनेछ । तर, सबैको चासो र प्रतिक्षाको बिषय बनेको नेकपाको कुन समुहलाई कांग्रेसले समर्थन गर्छ ? भन्ने बिषयमा भने निर्णय नहुने संकेत संसदीय दलका नेता राजिव कोइरालाले दिएका छन् । उनका अनुसार बैठक वर्तमान परिस्थितिमा केन्द्रीत भएपनि नेकपा एउटै पार्टी भएकोले कुन समुहलाई समर्थन जनाउने भनेर निर्णय हतारमा हुनेछैन । कांग्रेसले निर्णय लिन ढिलाई गर्दा मुख्यमन्त्री शेरधन राई र प्रचण्ड माधव समुहलाई संसदमा आवश्यक बहुमत ४७ सांसद पुर्याउन हम्मे परेको छ ।

कांग्रेस नेता कोइराला अहिलेसम्म नेकपा औपचारिकरुपमा विभाजन भइसकेको छैन । नेकपा एउटै पार्टी भएको र एउटाले अर्कोलाई कारबाही गरेको दाबी गरिरहेकोले अन्योलको स्थिति छ । ‘उहाँहरुको पार्टी एउटै छ, एउटाले अर्कोलाई कारबाही गरेको भन्ने छ,’कांग्रेस संसदीय दलका नेता कोइराला भन्छन्,‘हामीले हतार हतार गर्नुपर्ने स्थिति छैन । भोलीदेखिको बैठकमा कसरी प्रस्तुत हुने भनेर छलफल हुन्छ ।’

ओली पक्षको बैठक स्थगित, प्रचण्ड-माधवको १२ बजे

आज नै नेकपा प्रचण्ड-माधव समुहले १२ बजे संसदीय दलको बैठक बोलाएको छ । ओली समुहको दिउँसो २ बजे बोलाइएको बैठक भने स्थगित भएको छ । दुवै बैठकमा उपस्थित हुने सांसदको संख्याले संसदीय दलमा अब कस्को बहुमत छ भन्ने प्रष्ट देखिनेछ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक एवं ओली समुहका नेता बुद्धि राजभण्डारीले आफु सोलुबाट आज समयमा नै विराटनगर आइनपुग्ने भएकोले बैठक स्थगित गरिएको बताए । संसदीय दलका उपनेतासमेत रहेका प्रचण्ड-माधव समुहका नेता टंक आङबुहाङले भने भीम आचार्यको तर्फबाट १२ बजे बैठक राखिएको बताए । प्रचण्ड-माधव समुहले मुख्यमन्त्रीमा नेता आचार्यलाई प्रस्ताव गरेको छ ।

प्रदेशसभामा सभामुख र उपसभामुखबाहेक नेकपाका ६५ जना सांसद छन् । ती मध्ये ३७ जनाले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको कारण संसदीय दलमा मुख्यमन्त्री अल्पमतमा परेका थिए । तर, हस्ताक्षर गरेकामध्ये ५ जनाले हस्ताक्षर फिर्ता लिइसकेको हुनाले मुख्यमन्त्री राईको पक्षमा ३३ र प्रचण्ड ओली पक्षमा ३२ जना सांसद देखिएका छन् । तर, अझै पनि सांसदहरु तानातानको अवस्थामा भएकोले स्पष्ट बहुमत कस्को पुग्छ भन्ने प्रष्ट छैन ।