धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नै दल नेकपाका सांसदहरुबाट अविश्वासको प्रस्ताव सामना गरिरहेका छन् । उनको विरुद्ध ३७ जना सांसदहरुले हस्ताक्षर गरेका थिए ।

प्रस्ताव दर्तासँगै संसदीय दलमा मुख्यमन्त्री अल्पमतमा परेका थिए भने सरकार टिकाउन पनि उनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथको खाँचो छ । तर, प्रदेशसभाको हिउँदे अधिवेशन(माघ ७) गते नजिकिदै गर्दा भने संसदीय दलभित्र मुख्यमन्त्री राईको पल्ला भारी हुदै गएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३७ मध्ये नेकपाका ५ जना सांसदहरुले फिर्ता लिइसकेका छन् । जसले गर्दा प्रचण्ड माधव पक्षमा ३२ जना मात्र सांसदहरु देखिएको छ भने मुख्यमन्त्री अर्थात ओली समुहमा ३३ सांसद देखिएका छन् ।

यो अंकगणितले नेकपा संसदीय दलमा मुख्यमन्त्री राईको बहुमत पुगेको चर्चा हुन थालेको छ । ओली समुह संसदीय दलमा मुख्यमन्त्री राईको बहुमत भइसकेको दाबी छ । मुख्यमन्त्रीका प्रेम सल्लाहकर ध्रुव सुवेदी विभिन्न प्रयोजनमा लिएको सांसदहरुको हस्ताक्षर आफ्नै दलको मुख्यमन्त्रीविरुद्ध दुरुपयोग भएकोले फिर्ता लिने क्रम जारी रहेको बताउँछन् । ‘पाँच जना सांसदले अविश्वासको प्रस्ताव फिर्ता लिएकोले संसदीय दलमा मुख्यमन्त्री ज्युको बहुमत पुगिसकेको छ,’सुवेदी भन्छन्,‘अन्य माननीयहरुले पनि कुरा बुझ्दै हुनुहुन्छ, उहाँहरुले पनि विवेकपुर्ण निर्णय लिनुहुनेछ । फिर्ता लिने संख्या अझै बढ्छ ।’

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु मध्ये कला घले र बसन्तीदेवी यादवले यसअघि नै प्रस्ताव फिर्ता लिइसकेका थिए भने आज सांसदहरु जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले पनि अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका छन् । प्रदेशसभामा नेकपाका ६५ जना सांसदहरु छन् । अहिलेसम्म ती मध्ये ३३ जना ओली समुहमा देखिएका छन् । संसदीय दलमा बहुमत पुगेपनि मुख्यमन्त्रीलाई सरकार टिकाउन ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । नेकपाको दुवै समुहलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसको साथ अनिवार्य छ । तर, कांग्रेसले कुन समुहलाई साथ दिने भनेर निर्णय गरिसकेको छैन । प्रदेशसभामा ९३ सदस्य छन् । सभामुख र उपसभामुखबाहेक ९१ सदस्य छन् । प्रचण्ड माधव समुहले भीम आचार्यलाई मुख्यमन्त्रीकोरुपमा प्रस्ताव गरेको छ ।

'५०/५० भएको हुनसक्छ’

नेकपाको संसदीय दलका उपनेतासमेत रहेका प्रचण्ड माधव समुहका नेता टंक आङबुहाङ भने संसदीय दलमा मुख्यमन्त्रीको पक्षमा बहुमत पुगेको मान्न तयार छैनन् । आफुहरुको पक्षमा ४० भन्दा बढी सांसदहरु खुलेको भएपनि ३७ जनाको मात्र अविश्वासको प्रस्तावमा हस्ताक्षर भएको र अहिले केही सांसदहरु अदल बदल भइरहेको उनको भनाई छ ।

‘अविश्वासको प्रस्ताव त २५ जनाले गर्दा पनि हुन्थ्यो, तर ३७ जनाको हस्ताक्षर थियो । हाम्रो पक्षमा खुलेको ४२, ४३ जना थियो,’उपनेता आङबुहाङले भने,‘निर्णायक विन्दुमा नपुगेसम्म यो अदल बदल भइरहन्छ । अहिले नै कसैको बहुमत भनिहाल्ने अवस्था छैन । ५०/५० भएको हुनसक्छ ।’