विराटनगरः माघ १६ गते विराटनगरमा पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल सहभागी कार्यक्रममा ६० हजार मान्छे उतार्ने तयारी भएको बताएको छ ।

बुधबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा नेकपा प्रदेश इन्चार्ज भीम आचार्यले प्रदेशका १४ जिल्लाबाट आउने नेता कार्यकर्ता सम्मिलित सभामा कम्तिमा ६० हजारको भेला गर्ने गरी सर्कुलर जारी गरिएको जानकारी दिए । ‘हामीले हेड काउण्ट गरेरै ६० हजार भनेका छाँै,’उनले भने,‘त्यो भन्दा बढिको पनि सहभागीता हुनसक्छ ।’

उक्त दिन विराटनगरमा उपस्थित प्रदेश एकका जनताले सत्ताबाट केपी ओलीको सर्वसत्तावादलाई प्रहार गर्ने आचार्यले चेतावनी दिए । ‘ओलीले गरेको निरंकुश कदमको सबैतिरबाट बिरोध भइरहेको छ । हामी सडकबाटै ओलीको दम्भलाई परास्त गर्नेछौँ । उनको हैकमवादी चरित्रलाई उदाँगो पार्नेछाँै,’उनले थपे ।

नेकपा प्रदेश एक (प्रचण्ड–नेपाल समूह) घनन्द्र बस्नेतले लामो समय कम्युनिष्ट चरित्र नदेखाएको हुँदा ओली सत्तामा बसिरहन अनुपयुक्त भएको निस्कर्षसहित नेपाली जनताले आन्दोलन थालेको बताए । उनले प्रधानमन्त्री पदमा रहेर विधि र कानून मिच्न अभिसप्त भएको हुँदा सर्वसत्तावाद हावी भएको व्यक्ति शासक हुन नसक्ने जिकिर गरे ।

‘हामी ओलीको चरित्रलाई जनसमक्ष उदाँगो पार्दै शासक हुनलायक छैनन् भन्ने जनतालाई बुझाउन चाहन्छौँ,’बस्नेतले भने,‘कम्युनिष्ट वर्गलाई न कलंकित पार्ने गरि ओलीले अहिले सँविधान विरोधी गरिविधि गरिरहेका छन्, यो नसच्याए हामी अस्थिरताको चक्रमा फस्नेछाँै । हामीले निरन्तर खबरदारी गर्नुको विकल्प छैन ।’ उनले लिगभन्दा बाहिर पुगेको सँविधानलाई ट्रयाकमा ल्याउन सबै पेशागत क्षेत्रका व्यक्तिहरुको सशक्त आन्दोलनको खाँचो रहेको समेत औल्याए ।