धरान: कोरोनाविरुद्धको खोप अभियानअन्र्तगत चार दिनसम्म धरानमा १२ सय भन्दा बढीले कोभिसिल्ड खोप लगाएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विजयपुर हस्पिटलमा रहेको खोप केन्द्रबाट १ हजार २ सय ८६ जनाले खोप लगाएका हुन् । ती मध्ये वीपी प्रतिष्ठानमा शनिबारसम्म ९ सय १६ जनाले खोप लगाएका छन् भने विजयपुर हस्पिटलमा शुक्रबारसम्म ३७० जनाले लगाएका छन् । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.प्रमोद वरालका अनुसार खोप अभियानको पहिलो दिन १२६ जनाले मात्र खोप लगाएका थिए भने दोस्रो दिन २९० र तेस्रो दिन शुक्रबार २८० जनाले खोप लगाएका थिए । आज चौथो दिन शनिबार २२० जनाले खोप लगाएको डा.वरालले जानकारी दिए ।

उनका अनुसार प्रतिष्ठानमा २ हजारको संख्यामा कोभिड विरुद्ध अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुले खोप लगाउनुपर्नेछ । यो लक्ष्य पुरा नभएसम्म खोप अभियान जारी रहने वरालले बताए । यसैगरि, विजयपुर हस्पिटलमा रहेको खोप केन्द्रमा धरान र बराहक्षेत्र नगरपालिकाका स्वास्थ्यकर्मी, सरसरफाईकर्मी, एम्बुलेन्स र शव वहान चालकहरुले खोप लगाउनुपर्ने छ । यहाँ पहिलो दिन १०८ जना, दोस्रो दिन १२६ र तेस्रो दिन शुक्रबार १३६ जनाले मात्र खोप लगाएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार खोप लगाउन अझै धेरै संख्यामा फ्रन्टलाइनहरु बाँकी रहेकोले अभियान जारी रहनेछ ।

सुनसरीमा ३५ प्रतिशतले लगाए खोप

khop-dhrn8

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार हिजो शुक्रबारसम्म लक्ष्य अनुसार ३५ प्रतिशतले मात्र खोप लगाएका छन् । सुनसरीका ४ स्थानको खोप केन्द्रमा शुक्रबारसम्म १ हजार ८ सय ४८ जनाले कोभिसिल्ड खोप लगाएको कार्यालय प्रमुख सागर प्रसाईले जानकारी दिए । यो तथ्यांक आज शनिबार वीपी प्रतिष्ठानमा खोप लगाएका २२० जना बाहेकको हो ।

सुनसरीमा वीपी प्रतिष्ठा धरान, विजयपुर हस्पिटल धरान, इटहरी हस्पिटल र इनरुवा हस्पिटलमा खोप केन्द्र राखिएको छ । त्यहाँ कोभिडविरुद्ध अग्रपंक्तिमा रहेर काम गरेकाहरुलाई पहिलो चरणमा खोप दिने अभियान जारी छ । ‘हिजो शुक्रबारसम्म ३५ प्रतिशतले खोप लगाएक छन्, यो संख्या राम्रो नै हो,’प्रसाईले भने । सुनसरीमा ५ हजार ४ सय २० जनालाई खोप दिने लक्ष्य राखिएको छ ।

खोप लगाउन फ्रन्टलाइनरहरु नै डराए

khop-dhrn12

स्वास्थ्य कार्यालयले तीन दिनमा खोप लगाउने संख्या सन्तोषजनक रहेको प्रतिक्रिया दिएपनि खोप लगाउन डराएको कारण खोप लगाउनेको संख्या अपेक्षा अनुसार भने छैन । विजयपुर हस्पिटलमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स र शव बाहन चालकहरु खोप लगाउन आउने ठाउँ हो । तीन दिनमा ६ सय जनाले खोप लगाउने अनुमान गरिएकोमा यहाँ ३ सय ७० जनाले मात्र खोप लगाएका छन् ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता धरानका थुप्रै व्यक्तिहरुले खोप लगाउन आएका छैनन् भने बराहक्षेत्र नगरपालिकाबाट पनि न्युन संख्यामा मात्र खोप लगाउन आएका छन् । मानिसहरु खोप लगाउन डराएको कारण संख्या थोरै भएको उनको भनाई छ । धरानमै पनि महिला स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स चालकहरु ३ दिनसम्म पनि खोप लगाउन नआएको उनले बताए । ‘डरको कारणले थुप्रै जना खोप लगाउन आएका छैनन् । तीन दिनसम्म अरुले खोप लगाएको हेर्ने र साइड इफेक्ट छैन भन्ने भएपछि मात्र आउन खोज्नेहरु छन्,’मेहताले भने,‘बराहक्षेत्रबाट त धेरै संख्यामा खोप लगाउन आउन बाँकी छ, अब आइतबारदेखि आउछन् कि भन्ने आशा छ ।’

khop-dhrn11

कोभिसिल्ड खोप परीक्षणकोरुपमा मात्र लगाइएको भन्ने कतिपयको बुझाईले गर्दा खोप लगाउन नआएको मेहता बताउँछन् । खोप लगाएपछि ज्वारो आउछ कि भन्ने डरको कारणले पनि नआएको उनको भनाइ छ । सुगर, प्रेसरका विरामी भएकाहरुले खोप लगाउनु हुन्न भन्ने बुझाईको कारणले पनि खोप लगाउन नआउनुको कारण रहेको मेहताले बताए ।

वीपी प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.वराल प्रतिष्ठानमा चिकित्सक तथा नर्सहरुले खोप लगाए पनि सफाईकर्मी, एम्बुलेन्स चालकहरुमा डरको कारण खोप लगाउन नआएको बताउँछन् । ‘डाक्टर, नर्सहरुले खोप लगाइरहनु भएको छ, तर अरुमा डर, त्रासको कारण खोप लगाउन आइरहनु भएको छैन,’डा.वरालले भने,‘सामाजिक सञ्जालहरुमा धेरै खालको भ्रमहरु प्रचार भइरहेकोले पनि डराएको हुनसक्छ, तर ३ दिनमा कसैलाई पनि केही नभएकोले अब विस्तारै सबै खोप लगाउन आउनुहुन्छ होला ।’