धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टीहरुले उपकुलपतिको कार्यकक्षमा ताला लगाएका छन् ।

आफ्ना मागहरु पुरा गर्नतर्फ चासो नदिएको भन्दै चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजले आज बिहान ताला लगाएको हो । समाजले यसअघि नै तालाबन्दी गर्ने घोषणा गरिसकेको थियो । माघ २६ गते तालाबन्दी गर्नुअघि वार्तामा बोलाएर केही समय पर्खन माग गरेकोले आज बिहानसम्मको समय दिइएको समाजका अध्यक्ष डा.विष्णु पोखरेलको भनाई थियो । आफुहरुले दिएको समयभित्र मागहरुबारे पदाधिकारीबाट ठोस कुरा नआएको कारण तालाबन्दी गर्न बाध्य भएको उनले बताए ।

समाजले २ बर्षदेखि अवरुद्ध भएको बढुवा प्रक्रिया तत्काल अघि बढाउनुपर्ने प्रमुख माग अघि सारेको छ । यस्तै, समाजले बाँकी रहेका विभागीय प्रमुखको रोटेसन, शिक्षकहरुलाई दिइने टिचिङ ट्रेनिङ, रिसर्च ट्रेनिङ,फोहोर मैलाको उचित वैज्ञानिक एवं स्वास्थ्यकर व्यवस्थापन, इन्टरनेट सम्बन्धी कार्यदलले बुझाएको प्रतिवेदन अनुरुप कार्य गर्नेलगायतको मागहरु तत्काल पुरा गर्न सकिने जनाएको छ ।