धरान: जथाभावी खोला उत्खनन् गर्दा गाउँनै जोखिममा परेको भन्दै मोरङको केराबारी गाउँपालिका–८ आमजुङीका स्थानीयहरु यतिवेला आन्दोलनमा उत्रिएका छन् ।

गाउँमा सञ्चालित क्रसर उद्योगले मापदन्ड बिपरित गाउँ नै जोखिममा पर्ने गरी खदम खोलामा उत्खनन् गरेको भन्दै स्थानियहरु आन्दोलित बनेका हुन् । दुई दिनदेखी उनीहरु आन्दोलित छन् । उनीहरुले भीम पौडेलले सञ्चालन गरेको क्रसर उद्योग हटाउन माग गदै आन्दोलनमा उत्रिएका छन् । स्थानीयले क्रसर उद्योग र गाउँपालिका घेराउ गरेका थिए । खोलामा आएको बाढीका कारण करिब चार दशकयता त्रासमा बाँचिरहेका उनीहरुका लागि क्रसर उद्योगले मनपरी उत्खनन् गरिदिँदा झनै पीडित बनेका छन् ।

‘२०३५–३६ साल देखी नै हल्का खोला पस्दै आएका हो, पछि २०४५ सालको भुकम्पले झनै उग्ररुप लिदै गाउँमा खोला पस्यो, त्यतीबेला स्काभेटरको जमाना पनि थिएन, गाउँले मिलेर नै थुन्ने, छेक्ने काम गरियो’आमजुङका बृद्ध तुलशी बहादुर भण्डारीले भने,‘वर्षातको समयमा वषौदेखी हामी सुत्न सकेका छैनौं, अझै भीम पौडेलको क्रसर उद्योगले मनपरी खनिदिदा हामी ५ सय घरपरिवार विस्थापित हुने खतरा बढ्यो, यो क्रसर उद्योग तुरुन्त हट्नु पर्छ ।’

krasar

खोलामा करिब १० वर्ष यता क्रसर उद्योग सञ्चालनमा छन् । हाल सिबम एग्रिगेट इण्डष्ट्रिज र महादेव मिनिरल इष्डस्ट्रिजले क्रसर उद्योग सञ्चालनमा छन् । गाउँलेले बनाएको पुरानो ड्याम नै उत्खनन् गर्न सुरु गरेपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको अर्का स्थानीय जीत बहादुर बस्नेतले बताए । ‘खोलाको बिचतिर उत्खनन् गरेकै थिए, तर पूर्वतर्फ पुरानो ड्याम नै भत्काएर उत्खनन् गर्न थालेपछि गाउँ नै जोखिममा पर्यो,’उनले भने,‘क्रसर उद्योगको माल कमाउने मात्र ध्यान छ, गाउँलेको बारेमा सोच्नु पदैन, हामी कसरी बस्ने ?’

मापदण्ड विपरीत उत्खनन् कार्य रोक्न अनुरोध गर्दा नरोकेपछि आन्दोलनमा उत्रिदा चोरीको आरोप समेत लगाएको उनले बताए । ‘हामीले त उत्खनन् कार्य रोक्नुस् भन्यौं, तर, उहाँहरुले रोक्नु भएन त्यसपछि बाध्य भएर आन्दोलनमा उत्रियौं । तर भिम पौडेलले पैसा चोरेको आरोप लगायो,’उनले भने,‘म लगायत चार जनालाई १७ लाख ५० हजार पैसा चोरेको आरोप लगाउदै भिम पौडेलले बेलाबारी प्रहरी चौकीमा उजुरी दिएको छ, यस्तो झुठो आरोप लगाएर हुन्छ ?’

krasar2

आन्दोलनमा उत्रिएकी स्थानीय खड्गमाया खड्काले पौडेलले क्रसर उद्योग सञ्चालन गरेर दुःख मात्र दिएको दुखेसो पोखिन् । उनले गाउँको ५ सय घरपरिवारको जग्गा किनेर क्रसर उद्योग सञ्चालन गर्न सुझाब दिइन् । ‘भिम पौडेललाई गिटी बालुवाले पुगेको छैन भने हाम्रो ५ सय घरपरिवारको जग्गा किन्नुपर्छ, जति चलाउनु मन लाग्यो चलाउँदा हुन्छ तर गाउँलेलाई जोखिम पारेर हामी चलाउँन दिदैनौं,’उनले भनिन् । क्रसर उद्योगले गाउँको विकास भन्दा पनि धुलो धुँवा मात्र खुवाएर रोगी बनाएको उनीहरुको आरोप थियो ।

त्यसो त गाउँपालिका अध्यक्ष रोहित कार्की स्वयम् क्रसर उद्योग सञ्चालक हुन् । स्थानीयले गाउँपालिका अध्यक्ष कार्की र क्रसर उद्योग सञ्चालक भिम पौडेलको मिलेमतोमा मनपरी खोला उत्खनन् कार्य भइरहेको गम्भिर आरोप लगाए । ‘हामीले अध्यक्ष ज्यूलाई खोलामा जथाभावी उत्खनन् गर्यो, आएर हेरदिनुस् भन्दा आउनु हुन्न तर, उद्योग सञ्चालकले बोलाउँदा चै उद्योगमा आएर मिटिङ गर्नुहुन्छ, यहीबाट उहाँको नियत के हो प्रष्ट हुन्छ,’बस्नेतले थपे ।
क्रसर उद्योगले २५–३० फिट गहिराईसम्म उत्खनन् गरेकोले जोखिम बढेको उनको दाबी छ । गाउँलेको स्पष्ट माग के हो भन्दा क्लिक धरानले जिज्ञासा राख्दा उनले भने ‘अब खोला पस्ने ठाउँमा तुरुन्त ड्याम लगाइदिनु पर्यो, अनी यो खनेको ठाउँमा पुर्नुपर्यो, क्रसर उद्योग हटाउनुपर्छ ।’

krasar3

गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक शान्ति लिम्बु भुजेलले खोला उत्खनन्को विषयमा व्यावसायीहरुलाई पटक–पटक सचेत गराउँदा समेत उत्खनन् कार्य नरोकिएको जवाफ दिइन् । ‘हामीले गाउँपालिकाको तर्फबाट पटक पटक अनुगमन गर्दा मापदण्ड विपरीत उत्खनन् भयो, तुरुन्त रोक्नुस् भन्दा व्यावसायीहरु आफुमाथी नै आइलागेर घर समेत घेरे,’उनले भनिन्,‘यो रोक्न नसकेकोमा मेरो तर्फबाट पनि जिम्मेवारी लिनुपर्छ । तर, यसमा व्यावसायीहरुले सबैलाई आफ्नो प्रभावमा पारेर काम गर्नुहुन्छ, यो मेरो क्षमताले भ्याउँने अवस्थामा छैन ।’