मोरङः प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको उर्लावारीस्थित रातोहोली खोल्सीको किनारामा सन्थाल जातिको एकीकृत वस्ती निर्माणको शिलान्यास गरेका छन् ।

यो नेपालकै आकर्षक र नमूना एकीकृत वस्ती हुने सरकारको दाबी छ । उक्त बस्ती शहरी विकास मन्त्रालयले निर्माण गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको एकीकृत सन्थाल वस्ती निर्माणको लागि मन्त्रालयले मास्टर प्लान तयार गरिसकेको शहरी विकास मन्त्री प्रभु शाहले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले गरिबका लागि सरकारले काम गरिरहेको भन्दै अब कोहि पनि विपन्न भएकै आधारमा घरवार विहिन हुन नपर्ने बताए । उनले गरिखाने बर्गका लागि सरकारले सकेजति काम गर्ने भन्दै अल्पसँख्यक विपन्न वर्ग सरकारको पहिलो प्राथमिकतामा रहेको जानकारी दिए ।

उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत वस्ती विकास गर्ने तयारी भएको हो । यो वस्ती १८ महिना भित्र बनाएर हस्तान्तरण गरिसक्न निर्माण जिम्मा दिइएको छ । नगरपालिकामा १०६ परिवार सन्थाल र २६ परिवार उराव जातिको जग्गा नभएको र २७ परिवार सन्थाल जातिको घर बनाउन पुग्ने आफ्नै जग्गा भए पनि बनाउन नसक्ने स्थिति रहेको छ ।

अहिले मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो । पुरै वस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने जनाइएको छ ।