धरान: धरानको वडा नं २ र ३ को सिमाना रहेको माछाभौडीमा सुन्दर पार्क निर्माण भइरहेको छ । उक्त पार्कमा आज पाँचमुखे रुद्राक्षको प्रतिमा राखिएको छ ।

मानिसको हत्केलामा राखिएको रुद्राक्ष माछा भौडीमा निर्माण भइरहेको पार्कमा राखिनुको थुप्रै अर्थ छ । हुन त यहाँ माछा वा जलपरीको प्रतिमा राखिनुपर्ने भनेर पनि छलफल भएको थियो । तर, वडा नं २ र ३ का बासिन्दाले पाँच मुखे रुद्राक्ष राख्ने समझदारी भएअनुसार उक्त प्रतिमा राखिएको हो । प्रतिमा तथा पार्कको नामकरण गर्न र उद्घाटन हुन भने बाँकी नै छ ।

धरानमा पौराणिक महत्व बोकेको पिण्डेश्वर महादेवको मन्दिर पनि छ । हिन्दु धर्मग्रन्थहरुमा पिण्डेश्वर मन्दिर क्षेत्रलाई रुद्राक्षको उत्पत्ति थलो अर्थात रुद्राक्षरण्य क्षेत्र पनि भनिएको छ । तर, यही क्षेत्रमा भने हिजोआज रुद्राक्षका बोटहरु लोप भए झैं छ । त्यसैले रुद्राक्षको प्रतिमाले रुद्राक्षरण्यको महत्वलाई पनि दर्शाउछ ।

यस्तै, माछा भौडी वडा न. २ र ३ को सिमाना भएको र दुवै अंक जोड्दा ५ हुने भएकोले पनि पाँच मुखे रुद्राक्ष राखिएको विगतको निर्माण समितिका संयोजक एवं स्थानीय युवा सुयोग पाख्रिन बताउँछन् । उनका अनुसार त्यहाँ ५ वटा चोक र बाटो भएकोले पनि पाँच मुखे रुद्राक्ष राख्ने सहमति भएको हो । यहाँ कैलाश पथ, देशीलाइन, सदन रोड, कृष्ण पाख्रिन मार्ग र दोभान लाइन गरि ५ वटा सडक छन् । व्यवस्थित शौचालय बनाउन र टायल राख्न पनि बाँकी नै भएकोले उद्घाटन हुन केही समय लाग्ने उनले बताए ।