धरान: पारिश्रमिक वृद्धि तथा अन्य सेवासुविधाको माग गर्दै धरानको बगरकोटका लाउञ्ज एण्ड बारहरुमा लाइभ प्रस्तुत बन्द गरेका धरान ब्याण्ड एशोसिएशन र बगरकोट व्यवसायी मञ्चबीच सहमति जुटेको छ ।

एशोसिएशन र व्यवसायी मञ्चबीच हिजो बुधबार सहमति जुटेको हो । सहमति भएसँगै ब्याण्डहरुले हिजो साँझदेखि नै बगरकोटका लउञ्ज एण्ड बारहरुमा लाइभ प्रस्तुती पनि शुरु गरिसकेका छन् । एशोसिएशनका सदस्य एवं एसआरजे सुरज ब्यण्डका गिटारिष्ट संगम बमजन लामाले सहमति भएकोले हिजो साँझदेखि नै पर्फम शुरु गरिसकेको जानकारी दिए । उनले भने,‘सहमति भएकोले हिजोदेखि नै ब्याण्डहरुले पर्फम शुरु गरिसकेका छौं ।’

एशोसिएशनले पुराना ब्याण्डहरुलाई दैनिक प्रस्तुतीको पारिश्रमिक ६ हजार दिनुपर्ने, एकल संगीतकर्मीलाई १५ सय, २ जना संगीतकर्मीलाई २ हजार दिनुपर्ने, खाजा र खानाको व्यवस्था गर्नुपर्नेलगायत ८ बुँदे माग राखेर आइतबारदेखि लाइभ पर्फम बन्द गरेका थिए । बगरकोट व्यवसायी मञ्चका अध्यक्ष एवं एमएच लाउञ्ज एण्ड बारका सञ्चालक जीवन मेन्याङ्बोले शुक्रबार र शनिबार ५ हजार दिने तथा अन्य दिन ४ हजार दिने सहमति भएको बताए । यस्तै, नास्ता तथा पानी पनि उपलब्ध गराउने उनले बताए । ‘हामीबीच आन्तरिक सहमति भएको छ, यसलाई शनिबर लिखितरुपमा नै गर्ने कुरा छ,’उनले भने ।