धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आज एकैदिन ३ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । 

मृत्यु हुनेमा एक जना सिरहाको गोलबजार ६ का २९ बर्षीय युवा, धरान ३ की ५३ बर्षीय महिला र मोरङको मिक्लाजुङ २ का ७५ बर्षीय वृद्ध छन् । प्रतिष्ठानका अनुसार सिरहाका संक्रमित बिहान सवा ११ बजे मृत्यु भएको थियो भने धरानकी संक्रमितको १ बजेर ३८ मिनेटमा मृत्यु भएको थियो । 

यस्तै, मोरङको मिक्लाजुङका वृद्धको दिउँसो १ बजेर ५ मिनेटमा मृत्यु भएको थियो । तर, उनको मृत्यु हुँदासम्म पिसिआर रिपोर्ट आएको थिएन । वृद्धको मृत्यु भइसके पछि मात्र पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ । मृतक वृद्ध हिजो प्रतिष्ठानमा भर्ना भएका थिए । कोरोनाको लक्षण देखिएपछि उनलाई कोभिडको शंकास्पद विरामी राखिने बेडमा राखेर उपचार भइरहेको थियो । आज मृत्यु भइसकेपछि मात्र उनको पिसिआर रिपोर्ट आएको थियो ।