धरान: प्रदेश  नं १ मा कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनको लागि ३ करोड ८५ लाख बजेट निकासा भएको छ । 

प्रदेश सरकारको कोरोना जनसुरक्षा कोष सञ्चालक समितिको बैठकले प्रदेशका स्वास्थ्य संस्थाहरुमा बजेट निकासा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका अनुसार सबैभन्दा बढी आइसोलेन स्थापना, सञ्चालन तथा उपचार सेवा सम्बन्धी खर्चको लागि १ करोड १५ लाख बजेट निकासा भएको छ । यो बजेट जिल्ला अस्पताल पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु, खोटांग, ओखलढुंगा र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई १० लाखको दरले हो भने जिल्ला अस्पताल ताप्लेजुंगलाई १५ लाख बजेट निकासा भएको हो । 

यस्तै, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई आवश्यक पर्ने मास्क, सेनिटाइजर, पिपिई सेट, एन्टिजेन किट, आकस्मिक औषधीलगायत कोभिड रोकथाम, नियन्त्रण तथा उपचारका सामग्रीहरु खरिदको प्रयोजनको लागि ५० लाख बजेट निकासा भएको छ । झापाको भद्रपुरस्थित मेची अस्पताललाई २५ लाख, सुनसरीको इनरुवास्थित जिल्ला अस्पताललाई २० लाख, जिल्ला अस्पताल धनकुटालाई २० लाख, उदयपुरको बेल्टारस्थित कोभिड १९ अस्पताललाई २० लाख निकासा गर्ने निर्णय भएको छ । 

यस्तै, स्थायी प्रकृतिको हेल्थ डेस्क तथा स्क्रिनिङ पोइन्ट तयार गर्न, होल्डिङ सेन्टर बनाउनलागयतको लागि जिल्ला प्रशासन कार्यालय झापालाई २० लाख, होल्डिङ सेन्टर सुचारु गर्नको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १५ लाख, जिल्ला प्रशासन कार्यालय इलामलाई १५ लाख, जिल्ला प्रशासन कार्यालय मोरङलाई २० लाख र ओखलढुंगाको हर्कपुरमा होल्डिङ सेन्टर सञ्चालन तथा व्यवस्थापनको लागि १५ लाख बजेट निकासाको निर्णय भएको छ । यसैगरि, होल्डिङ सेन्टर सञ्चालन तथा व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय भोजपु, तेह्रथुम, संखवासभा, धनकुटा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, पाँचथर र ताप्लेजुङलाई ५ लाखको दरले ५० हजार बजेट निकासा गर्ने पनि निर्णय भएको छ ।