वीपीमा सुनसरीका थप ३ जना कोरोना संक्रमितको मृत्युु

धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । 

मृत्यु हुने तीनै जना सुनसरी जिल्लाका हुन् । प्रतिष्ठानका अनुसार सुनसरीको बराहक्षेत्र ५ का ८२ बर्षीय महिलाको आज बिहान साढे ६ बजे मृत्यु भएको थियो । दीर्घ रोगी रहेकी वृद्धालाई बैशाख १२ गते संक्रमण पुष्टि भएको थियो भने प्रतिष्ठानको कोभिड अस्पतालमा १७ गते भर्ना गरिएको थियो । 

यस्तै, आज दिउँसो ४ बजेर १५ मिनेटमा गढी गाउँपालिका ६ सुनसरीका ७१ बर्षीय वृद्धको पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई उच्च रक्तचाप र मृगौलाका विरामी उनलाई हिजो नै संक्रमण पुष्टि भएको थियो भने हिजो नै प्रतिष्ठानमा भर्ना गरिएको थियो । 

यसैगरि, गए राती साढे ११ बजे सुनसरीको इटहरी ९ का ७६ बर्षीय पुरुषको पनि मृत्यु भएको थियो । उनको मृत्यु बारे प्रतिष्ठानले आज दिउँसो अबेर मात्र औपचारिक जानकारी गराएको हो । उनलाई बैशाख २६ गते संक्रमण पुष्टि भएको थियो भने प्रतिष्ठानमा २८ गते हिजो मात्र भर्ना गरिएको थियो । मृतक सबैको शवलाई नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ ।