धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्टमा समस्या आएपछि कोभिड अस्पतालमा रहेका संक्रमितहरुलाई सिलिण्डरबाट नै अक्सिजन आपुर्ति गर्न थालेको छ ।

कोरोना संक्रमणको दर उच्च भइरहेको बेला प्रतिष्ठानमा रहेको प्लान्टको जिओलाइट बिग्रिए पछि उत्पादनमा कमी भएको हो । जसले गर्दा प्रतिष्ठानले सिलिण्डरको भर पर्नुपरेको हो । अक्सिजन अभावले कोभिड अस्पतालमा विरामी भर्ना गर्न पनि छोडेको बताइएको छ । 

प्रतिष्ठानको अक्सिजन प्लान्टमा बिहिबारदेखि समस्या आएको हो । यसको असर कोभिड अस्पतालमा परेको छ । क्षमता अनुसार अक्सिजन उत्पादन हुन नसकेपछि विरामीहरुलाई मेनिफोल्डबाट अक्सिजन सप्लाई भइरहेको सहप्रवक्ता डा.चुडामणी पोखरेल बताउँछन् । उनले विरामी भर्ना पुर्णरुपमा बन्द गरिएको नभै प्लान्ट पुर्णक्षमतामा नचलेसम्म सिलिण्डरले थेग्न सक्ने जति मात्र विरामी उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था भएको बताउँछन् ।

डा.पोखरेलका अनुसार कोभिड अस्पतालमा मेनिफोल्डबाट अक्सिजन आपूर्ति भइरहेको छ भने प्लान्टबाट पनि केही मात्रामा अक्सिजन सप्लाई भइरहेको छ । तर, पुर्णक्षमतामा प्लान्ट सञ्चालन नहुँदा समस्या भएको उनी स्वीकार गर्छन् । ‘संक्रमित भर्ना बन्द गरेको होइन, हिजो पनि ४ जना भर्ना भएका छन्,’उनले भने, ‘भर्ना लिन्छौं, तर प्लान्ट पुर्णक्षमतामा नचलेसम्म सिलिण्डरले जति थेग्न सक्छ, त्यति नै मात्र उपचार गर्नुपर्ने बाध्यात्मक स्थिति छ ।’

प्रतिष्ठानले कोभिड अस्पतालमा प्लान्टबाट अक्सिजनको सप्लाई गरेको छ भने ब्याकअपको लागि मनिफोल्ड व्यवस्था गरेको जनाएको छ । मेनिफोल्ड भनेको थुप्रै सिलिण्डरहरु जोडेर अक्सिजनलाई पाइपलाइनबाट बेडसम्म पुर्याउने सिस्टम हो । अहिले अक्सिजन प्लान्ट पुर्णक्षमतामा नचलेसम्म मनिफोल्डबाट नै सप्लाई हुने डा.पोखरेलको दाबी छ । 

कहिले बन्छ प्लान्ट ?

अक्सिजन प्लान्टको एक सेटको जियोलाइट बिग्रिएको हो । यो बिग्रदा प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन क्षमतामा ह्वात्तै ह्रास आएको छ । अब कहिले मर्मत भइसक्छ, र पुर्णक्षमतामा सञ्चालन हुन्छ भन्ने टुंगो छैन । ‘प्राविधिहरुले मर्मत गरिरहेका छन्, अझै केही समय लाग्ने देखिएको छ,’डा.पोखरेलले भने ।