धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पताल सञ्चालन आएको करिब ७ महिना पछि संक्रमित राख्ने बेडमा अक्सिजन पाइपलाइन जडान गर्न थालिएको छ ।

कोभिड अस्पतालमा अक्सिजन पनि नपाएर संक्रमितहरुले ज्यान गुमाउन थालेपछि चौतर्फी आलोचना र दबाब परेपछि मात्र प्रतिष्ठानले सबै बेडमा अक्सिजन पाइपलाइन जडान गर्न थालेको हो । आज दिउँसो प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह कोभिड अस्पतालको आकस्मिक निरीक्षण गर्न गएका थिए । त्यसक्रममा बेडमा अक्सिजन पाइपलाइन जडान गर्ने काम भइरहेको पाइएको उनले बताए । ‘सबै बेडमा अक्सिजन पाइपलाइन जडान गर्ने काम भइरहेको छ,’अस्पताल निर्देशक साहले भने । उनले बिग्रिएको भेन्टिलेटर बनाएर ८ वटा काम गरिरहेको पनि दाबी गरे । साथै संक्रमित विरामीहरुलाई स्वास्थ्यकर्मीहरुले राम्रो उपचार गरिरहेको पनि बताए । 

प्रतिष्ठानमा सय बेडको लेभल थ्री कोभिड अस्पताल सञ्चालनमा आएको हो । ती मध्ये ९ वटा मात्र भेन्टिलेटर जडान गरिएको छ भने अन्य ९ वटा बेडमा मात्र सिधै पाइपबाट अक्सिजन जडान गरिएको थियो । अन्य बेडमा अक्सिजन नै जडान नगरिएको कारण होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई सास फेर्न गाह्रो हुँदा पनि कोभिड अस्पतालले भर्ना लिन नसक्ने भएको थियो । भेन्टिलेटरहरु पनि अस्पताल सञ्चालन आएको ३ महिनामै बिग्रिए पछि कमिशनको चक्करले नक्कली सामान वा पुरानो सामान जडान गरेको आशंका गरिएको छ ।

covid

कोभिड अस्पतालमा उपचाररत संक्रमितलाई आवश्यक जाँच गर्दै स्वास्थ्यकर्मीहरु । तस्बिर: महेश्वर राई

अक्सिजन बेड नपाएर संक्रमितहरुले घरमा नै ज्यान गुमाउन थालेपछि प्रतिष्ठान व्यवस्थापन तथा पदाधिकारीहरुको चर्को आलोचना भएको थियो । सामाजिक विकास मन्त्री जीवन घिमिरे, सुनसरीका सिडिओले चाडो सुधार गर्न र क्षमता बढाउन निर्देशन दिएको थियो भने प्रदेश सभामुखसहित सुनसरी क्षेत्र नं १ का संघीय सांसद, प्रदेश सांसदहरुले पनि कोभिड अस्पतालको भेन्टिलेटर बिग्रिएको, अक्सिजन पाइपलाइन जडान नभएको बिषयमा चासो लिएका थिए । सोही क्रममा सबै बेडमा अक्सिजन पुर्याउने भनेर पदाधिकारीहरुले प्रतिवद्धता जनाएको थियो ।

लेभल थ्री भनेर घोषणा गरिएको यो अस्पताल गएको बैशाखमा तामझामका साथ शुरुवात गरिएको थियो । सरकारले लेभल थ्री घोषणा गर्नुको अर्थ हो, यहाँ सिरियस भएका कोरोना संक्रमितलाई सबै प्रकारको उपचार सेवा उपलब्ध हुनेछ । सरकारले पछि अस्पतालको वर्गीकरण हटाए पनि यहाँको कोभिड अस्पताल लेभल थ्री भनेरै शुरुवात भएको हो । तर, यो लेभल थ्री अस्पतालमा अहिले पनि ५० प्रतिशत भन्दा बढी बेडमा संक्रमितले अक्सिजन समेत नपाउने हालतमा छ ।

गत बैशाख १४ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्थलगत निरीक्षण गरेर सय बेडको लेभल थ्री कोभिड अस्पताल शुरुवात गरिएको थियो । तर, तयारी पुरा नगरी यो अस्पताल शुरुवात भएको घोषणा गरेको कारण ३ महिना बितिसक्दा पनि विरामी राख्न सकेको थिएन । नेबि संघ र तरुण दलले आन्दोलन तालाबन्दी, नाराबाजीलगायतको आन्दोलन थालेपछि दबाब थेग्न नसकेर हतार हतार अस्पतालमा विरामी राख्न थालिएको थियो । तर ३ महिना नबित्दै भेन्टिलेटर बिग्रिएको थियो ।