धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको बेथिती र संक्रमितले अक्सिजन बेडसमेत नपाएको व्यापक जनगुनासो आएपछि आज प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रतिष्ठान आएका थिए ।

मन्त्रालयका सचिव, प्रदेश ल्याब प्रमुख, स्वास्थ्य महाशाखा प्रमुखसहित आएका मन्त्री घिमिरेकै अघि सुनसरीका सिडिओ फडिन्द्रमणी पोखरेलले वीपीका पदाधिकारीहरुलाई कडाशैलीमा प्रश्नहरु तेस्र्याए, जुन प्रश्न केही दिनयता धराने जनताहरुले निरन्तर गरिरहेका छन् । बैठकमा सिडिओ पोखरेलले 'कोभिड अस्पतालमा जडान गरेको नयाँ भेन्टिलेटर किन बिग्रियो ?' भन्दै प्रश्न गरेको थिए । साथै, 'बिग्रनुमा को जिम्मेवार छन् ?' भन्दै थप प्रश्न पनि गरेका थिए ।

कोभिड अस्पताल उद्घाटन गरेको झण्डै ४ महिना पछि मात्र संक्रमित राखेर सञ्चालनमा ल्याइएको थियो । तर, सञ्चालनमा आएको ३ महिना पनि नपुग्दै कोडिभ अस्पतालको भेन्टिलेटरहरु बिग्रिएपछि संक्रमितहरुले उपचार नपाई ज्यान गुमाउन थालेका छन् । मिलेमतोमा पुरानो सामान जडान गरेको र व्यापक अनियमितता गरेको भन्दै प्रतिष्ठानका उपकुलपतिको चर्को आलोचना जनस्तरमा भइरहेको छ ।

सिडिओ पोख्रेलले अक्सिजन प्लान्ट स्थायी बनाएको बारे पनि प्रतिष्ठानका पदाधिकारीलाई कडारुपमा प्रश्न गरेका थिए । ‘अक्सिजन प्लान्ट पनि अस्थायी रहेछ, वीपी जस्तो हस्पिटलमा स्थायी हुनुपदैन ? यो बिषयमा पनि कुरा राखेको हुँ,’सिडिओ पोख्रेलले भने,‘भोलीको दिनमा के आइलाग्छ भनेर पनि ध्यान दिनुपर्ने हो कि अहिले जे छ, त्यसैमा मात्र सिमित रहने हो ?’

प्रतिष्ठानमा अहिले भेन्टिलेटर मात्र होइन, कोरोना संक्रमितहरुलाई सास फेर्न गाह्रो हुँदा अक्सिजन बेड पनि पाइरहेका छैनन् । सिरियस अवस्थाका संक्रमितहरुलाई मात्र उपचार गर्ने भनेर विगतमा सरकारले नै लेभल थ्री अस्पताल घोषणा गरेको भएपनि मात्र ९ वटा बेडमा अक्सिजन पट जडान गरिएको छ । सय बेडमा १० बेड भेन्टिलेटर छ भने ९ बेड मात्र अक्सिजन पट छ । अहिले होम आइसोलेसनमा बसेकाहरुलाई सास फेर्न गाह्रो भएपछि भर्ना गर्न खोज्दा प्रतिष्ठानले घरमा नै सिलिण्डरबाट अक्सिजन दिएर राख्नु भन्ने गरेका छन् । बैठकमा सिडिओ पोख्रेलले बुँदागतरुपमा डेढ दर्जन जति सुझावहरु प्रतिष्ठानका पदाधिकारीहरुलाई कडा शब्दमा राखेका थिए ।

कमीकमजोरी सुधार गर्ने प्रतिवद्धता

बैठकमा प्रतिष्ठानमा देखिएका कमीकमजोरी सुधार गर्ने भन्ने निचोडमा पुगेको थियो । मन्त्री घिमिरेले पनि कमीकमजोरी तत्काल सुधार गर्न निर्देशन दिएका छन् । बैठकमा सहभागी धरानका मेयर तिलक राईका अनुसार वीपीको कोडिभ अस्पतालमा संक्रमितहरुले समयमा नै खाना नपाएको, राम्रो हेरचाह नभएको गुनासोबारे पनि कुरा उठेको थियो । ‘संक्रमितहरु वीपीमा जानु भन्दा घरमै बस्न चाहिरहेका छन् । वीपीमा आए पनि मृत्यु भइरहेको छ । आइसियु, भेन्टिलेटर बेड नपाएर फर्कनु परेको बिषयमा पनि कुरा उठ्यो,’मेयर राईले भने,‘कमीकमजोरीको समिक्षा भयो, र सुधार गर्दै जाने प्रतिवद्धता आएको छ ।’

बैठकले प्रतिष्ठानको धर्मशालालाई आइसोलेसनबाट पुरै कोभिड अस्पतालको रुपमा विकास गर्नेबारे पनि छलफल भएको छ । अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढीसकेको र चाडै पुरा हुने जानकारी उपकुलपति गिरीले दिएका थिए । यद्यपी, करिब २ महिना समय लाग्ने बताइएको छ ।