धरान: दुवै मृगौला काम गर्न छोडेपछि धरानमा उपचाररत उदयपुरको गाईघाट निवासी मनिषा राईलाई बेलायतबाट आर्थिक सहयोग जुटेको छ । 

इन्द्रेणी पोखरी सेरोफेरो समाज युकेले उपचारको लागि ७ लाख ४८ हजार ७ सय रुपैया आर्थिक सहयोग प्रदान गरेको हो । उक्त रकम आइतबार धरान १६ स्थित डेरामा पुगेर चण्डीराज राई र पुर्णदेवी राईले मनिषा र उनका श्रीमान् अभिषेक राईलाई हस्तान्तरण गरेका छन् । अभिषेकको पुख्यौली घर तथा जन्मथलो खोटाङको इन्द्रेणी पोखरी बलडाँडा हो । उनको परिवारको बसोबार हाल उदयपुरको गाइघाटमा छ । तर, विगत एक बर्षदेखि भने अभिषेक ३५ बर्षीया श्रीमतिको साथमा धरान १६ मा डेरा गरि बसेका छन् ।

मनिषाको उपचारको लागि धरानका चण्डीराज र पुर्णदेवी राईले सहयोगको लागि धरानबाट युकेमा रहेका आफन्तजन तथा इन्द्रेणी पोखरीबासीहरुसँग समन्वय गरेका थिए । आर्थिक अभावले उपचारमा समस्या भएको थाह पाएपछि सहयोग जुटाउन पहल गरिएको पुर्णदेवी राईले बताइन् । उनका अनुसार बेलायतबाट सहयोग जुटाउन अशोक राई, चित्रा राई र मिलन राईले समन्वय गरेका थिए । 

उपचारमा खेतबारी सकियो

kidney1

मनिषाको दुवै मृगौला काम गर्न छोडेको १ बर्ष भइसकेको छ । त्यसयता उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नियमित उपचार भइरहेको छ । अहिले पनि हप्तामा २ पटक जति त डाइलाइसिस गर्नुपर्छ । मनिषाको शरीरले अथाह पीडा भोगिरहेको छ, त्योसँगै उपचारको लागि खेतबारी बेच्नुपर्दा यो परिवार झनै पीडामा छ । 

श्रीमान् अभिषेकका अनुसार मनिषाको दुवै मृगौला फेल भएको थाह पाएदेखि नै नियमित डाइलाइसिस भइरहेको छ । त्यसयता उपचारको लागि ९, १० लाख जति खर्च भइसकेको उनले बताए । आफु साउदी अरबमा रहदा कमाएर जोहो गरेको केही रकम सकिएपछि खेतबारी पनि बेचेको अभिषेकको बताए । ‘अहिलेसम्म खर्च ९,१० लाख खर्च भइसक्यो । सिमपानीको खेत बेचियो, गाइघाटको पनि बेच्यौं,’उनले भने ।

अहिले पनि खर्च उस्तै छ । धरानमा डेरा गरेर श्रीमतिको उपचार र रेखदेखमा रहेका अभिषेकको कमाई छैन । आर्थिक अभावले छटपटी छ । आफन्तजनहरुबाट जसोतसो सहयोग जुटिरहेकोले राहत मिलेको छ । मनिषाको मृगौला प्रत्यारोपण गर्न प्रयास नगरेको पनि होइन, तर सम्भव भएन । खर्च धेरै हुने मात्र होइन, मृगौला दाता नै पाउन कठिन भयो । आफन्तको ब्लडग्रुप नै मिलेन । ‘अब त शरीर नै ज्यादै कमजोर भइसकेको छ,’अभिषेक भन्छन् ।

kidney2