धरान: मृगौलाको उपचार अत्यन्तै खर्चिलो हुन्छ । त्यसैले धेरैको उपचारमा घरबार नै सकिन्छ ।

मृगौलाको उपचारको दुई विकल्प हो, कि मृगौला प्रत्यारोपण गर्ने वा निरन्तर डाइलाइसिसको भर पर्ने । दुवै जो कोहीको लागि सहज हुन्न । त्यसमाथि अहिले नेपालमा लकडाउन छ । निरन्तर डाइलाइसिस गर्ने विरामीहरुलाई कति पीडा, समस्या होला ? यही बुझ्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित डाइलाइसिस गरिरहेका विरामीहरुलाई भेट्न पुग्यौं ।

झण्डै अढाई महिनादेखि उनीहरु वीपी प्रतिष्ठानभित्रको धर्मशालामा बसेका छन् । करिब दुई साताअघि धर्मशालालाई आइसोलेसन वार्ड बनाउने भएपछि उनीहरुलाई एकेडेमिक ब्लक(धर्मशाला उत्तर)मा स्थानान्तरण गरेको छ । त्यहाँ उनीहरुलाई बस्नको लागि एउटा हल उपलब्ध गराइएको छ । जहाँ मृगौलाका विरामी र उनका कुरुवाहरु बसेका छन् । लकडाउनले यातायात बन्द हुँदा उनीहरुको बास अढाई महिनादेखि वीपीमै छ ।

kidney

मृगौला पीडित सरोकार समितिका सचिव विशाल तामाङका अनुसार राज्यले दिएको सेवा सुविधा पाउन पनि समस्या भइरहेको छ । सरकारले निःशुल्क भनेको डाइलाइसिस गर्दा लाग्ने सामान पनि वीपी प्रतिष्ठानमा सकिएर निजी मेडिकलमा किन्नु परिरहेको छ । विगतमा किनेको पान विल अनुसार पैसा फिर्ता हुन्थ्यो, तर अहिले सरकारी रेट अनुसार मात्र थोरै पैसा फिर्ता गर्ने भन्दा झन् पीडा भएको उनले बताए । ‘कि सरकारले दिएको सुविधा अनुसार सबै सामान उपलब्ध होस्, कि हामीले बाहिर किन्दा जति पैसा परेको छ, त्यति फिर्ता होस्,’उनले भने ।

kidney1

मोरङ उर्लाबारीका विशाल आफ्नै वृद्ध ६७ बर्षीय आमाको डाइलाइसिस गराउन वीपीमा आएका हुन् । उनले २०७० सालदेखि आफ्नी आमाको डाइलाइसिस वीपीमा गराउदै आएका छन् । कन्काई नगरपालिका झापाका मानबहादुर बजगाई सरोकार समितिका अध्यक्ष हुन् । उनको २०६९ देखि दुवै मृगौलाले काम गर्न छोडेको पत्ता लागेको थियो । उनले २०७१ सालदेखि वीपीमा नियमित डाइलाइसिस गराउदै आएका छन् । लकडाउनको कारणले घर जान नपाएको र वीपीमा बस्दा पनि धेरै समस्या भइरहेको उनले बताए । ‘लकडाउनले धेरै समस्या भएको छ । रगतको जोहो गर्न पनि समस्या छ,’उनी भन्छन्,‘डेढ महिना जति त धरानको वडा १८ ले खाना खुवायो, त्यसपछि पनि २ पटक राहत दिएर हामीलाई सहज भयो ।’

अझ धनकुटाको चौबिसे गाउँपालिकाका ललितबहादुर गुरुङको पीडा अथाह छ । उनी वीपी प्रतिष्ठानको धर्मशालामा बसेको २ बर्ष भइसक्यो । गत फागुनदेखि उनी सातामा २ पटक डाइलाइसिस गर्नुपरिरहेको छ । ‘सरकारले छुट दिएपछि पनि एक पटक डाइलाइसिस गराउदा एक हजार जति खर्च हुन्छ,’उनी भन्छन् ।