धरान: वीपी कोइाराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक जना विरामीलाई हप्तामा १ पटक मात्र डाइलाइसिस गर्ने भएको छ ।

यसले गर्दा हप्तामा २ पटक डाइलाइसिस गराउदै आएका मृगौलाका विरामीहरु मारमा परेका छन् । डाइलाइसिस युनिटमा खटिएका स्टाफ नर्सहरुलाई कोरोना संक्रमण भएकोले दक्ष जनशक्ति अभाव भएको भन्दै प्रतिष्ठानले एक विरामीलाई हप्तामा १ पटक मात्र डाइलाइसिस गर्न थालेको हो । विरामीहरु भने आफुहरुको बाँच्ने अधिकार कुण्ठित गरेको र तड्पेर मर्ने अवस्था आएको भन्दै विरोधमा छन् ।

मृगौला पीडित सरोकार समाजका अध्यक्ष मानबहादुर बजगाईका अनुसार आज सोमबारदेखि प्रतिष्ठानको डाइलाइसिस युनिटले एक जना विरामीको हप्तामा १ पटक मात्र डाइलाइसिस गर्न थालेको हो । आज पहिलो दिन ६ जना विरामीको नियमित डाइलाइसिस हुन पाएन । हप्तामा २ पटक डाइलाइसिस गराइरहेकालाई १ पटक मात्र गराउदा धेरै समस्या हुने उनको भनाई छ । ‘हप्ता २ पटक डाइलाइसिस गर्दा त गाह्रो छ, झन् १ पटक मात्र गर्दा के अवस्था के होला ?’उनले भने,‘यो त सिधै आत्महत्या गर, तड्पेर मर भनेको होइन ?’

kidney-dialy

मृगौलाका विरामी तथा आफन्तजनहरुले विगतमा जस्तै हप्तामा २ पटक डाइलाइसिस गराउन पाउनुपर्ने माग गरेका छन् । उनीहरुले सोमबार दिनभर नै अस्पताल प्रशासनमा यही माग राखेर गएका थिए । तर, प्रशासनले भने चित्तबुझ्दो जवाफ दिन सकेन । अध्यक्ष बजगाईले निःशुल्क पाउनुपर्ने औषधी पनि वीपी प्रतिष्ठानको मेडिकल स्टोरमा सकिएर विरामीले बाहिर खरिद गर्नुपरेको तर अहिलेसम्म प्रतिष्ठानबाट पैसा फिर्ता नपाएको पनि गुनासो पोखे ।

विरामीका अभिभावक धरानका उत्तम राईले अस्पताल प्रशासनले जनशक्ति (नर्स) कमी भएको भन्ने जवाफ दिएको बताए । उनले यसअघि ५० जना नर्स नियुक्ती गर्ने भनेपनि समयमा नगर्दा यो समस्या आएको बताए । ‘५० जना नर्स लिने भनेको थियो, तर अहिलेसम्म किन लिएनन् ?’उनले भने,‘अब किड्नीको विरामी झुण्डिएर मर्नेबाहेक उपाय छैन ।’

अस्पताल प्रशासन भन्छ, ‘नर्सको कमी भयो’

अस्पताल प्रशासनले भने डाइलाइसिस युनिटमा खटिएका आधा दर्जन नर्सहरुलाई कोरोना संक्रमण भएको जनाएको छ । डाइलाइसिसमा १९ जना नर्सहरु खटिएकोमा ६ जनालाई संक्रमण भएको र ४ जना कोभिड अस्पतालमा खटिएकोले जनशक्ति पर्याप्त नभएको सहायक अस्पताल निर्देशक डा.प्रमोद वरालले बताए । ‘आधा जनशक्ति कमी भएकोले हप्तामा १ पटक मात्र डाइलाइसिस गर्ने भनेर डाइलाइसिस युनिटबाट जानकारी आयो,’उनले भने,‘गाह्रो भएको विरामीलाई इर्मजेन्सीबाट आउदा गर्ने व्यवस्था हुन्छ ।’ डाइलाइसिसमा खटिने नर्सलाई बिशेष तालिम दिइनुपर्ने भएकोले तत्काल अन्यलाई त्यहाँ खटाउन सकिने अवस्था नभएको पनि उनको भनाई छ ।