धरान: मृगौलाका विरामीहरुले डाइलाइसिस गराउदा निःशुल्क पाउने औषधी तथा सामानहरु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सकिदा निजी मेडिकलहरुमा महंगोमा किन्न बाध्य हुनुपरेको छ ।

प्रतिष्ठानको औषधी पसलमा डाइलाइसिस गर्दा आवश्यक सामानहरु सकिएको भन्दै विरामीलाई बाहिर किन्न पठाउने गरिएको छ । सरकारले निःशुल्क उपलब्ध गराउदै आएको सामान बाहिर निजी मेडिकलहरुमा भने विरामीहरुले महंगोमा किन्न बाध्य छन् । मृगौलाका विरामी तथा तिनका आफन्तहरुले उपचारमा ठुलो खर्च गर्नुपरिरहेको हुन्छ । त्यसमाथि सरकारले दिने निःशुल्क औषधी तथा सामानहरु पनि थप खरीद गर्नुपर्दा आर्थिकरुपमा झनै पीडित हुनुपरेको उनीहरु बताउँछन् ।

पछिल्लो समय लगातार डाइलाइसिस गर्नुपर्ने सामानहरु महंगोमा किन्नुपरेपछि मृगौला पीडित सरोकार समाजले धरान उपमहानगरपालिकामा लिखित निवेदन दिएको थियो । समाजका प्रदेशस्तरीय उपाध्यक्ष उत्तम राईले निःशुल्क पाउने सामान र औषधी महंगोमा खरीद गर्नुपर्दा विपन्न परिवारलाई ठुलो मर्का परिरहेको छ । ‘भित्र सामान सकियो भनेर बाहिर किन्न पठाउछ, विपन्नलाई कति गाह्रो छ,’उनले भने,‘सहजरुपमा सामानहरु वीपी भित्रै पाउने वातावरण हुनुपर्छ ।’

मृगौला पीडित र औषधी व्यवसायीसँग छलफल

मृगौला पीडित सरोकार समाजले निवेदन दिएपछि उपमहानगरपालिकाको पहलमा बिहिबार वडा नं १८ मा छलफल भएको थियो । मेयर तिलक राईको आग्रहमा वडा नं १८ ले वीपी प्रतिष्ठान अघिको औषधी व्यवसायीहरुलाई पत्राचार गरेर छलफलमा बोलाएको वडाअध्यक्ष प्रविण राईले बताए । ‘नगरपालिकामा निवेदन परेपछि मेयर साबले छलफल गर्न बोलाउन भन्नुभयो, मैले पत्र काटेर नै औषधी व्यवसायीहरुलाई बोलाएर समस्याबारे छलफल भयो,’वडाअध्यक्ष राईले भने ।

छलफलमा मेयर राईले औषधी व्यवसायीहरुलाई अन्य औषधीमा जस्तो डाइलाइसिसको सामानमा नाफा नलिई सहुलियतमा उपलब्ध गराउन आग्रह गरेका थिए । मेयर राईको आग्रह वमोजिम औषधी व्यवसायीहरुले न्युनतम प्रतिशत मात्र मुनाफा नलिई औषधी दिन सहमत भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘मानवीय सेवा पनि हेरौं, अरुमा जस्तो नाफा नखानुस्, डाइलाइसिस सामानलाई थोरै मुनाफा राखेर दिनुस् भन्ने मेयर साबको प्रस्तावमा औषधी व्यवसायीहरु सहमत भए,’उनले भने ।

ढुवानी खर्च मात्र जोडेर दिन्छौं: औषधी व्यवसायीहरु

औषधी व्यवसायीहरुले डाइलाइसिसको सामानमा मुनाफा नखाई विरामीलाई उपलब्ध गराउन सहमत भएका छन् । नेपाल औषधी व्यवसायी संघ सुनसरीका सचिव एवं युनिक फार्मेसीका प्रोपाइटर पंकज झाका अनुसार सर्जिकल तथा डाइलाइसिस गर्ने सामानमा ढुवानी खर्च मात्र जोडेर नाफा नलिई बेच्न व्यवसायीहरु सहमत छन् ।

‘सर्जिकल तथा डाइलाइसिस गर्ने सामान ढुवानी खर्च मात्र जाडेर दिन्छौं, खानुपर्ने औषधीमा भने थोरै मात्र मार्जिन लिएर दिने भन्ने सहमति भयो,’उनले भने । शनिबार पुनः मेयर, वडाअध्यक्षसहित छलफल गरेर वीपी प्रतिष्ठानका उपकुलपतिलाई सहजरुपमा औषधी वीपी भित्रैबाट उपलब्ध गराउने बिषयमा भेट गर्ने पनि झाले बताए ।