धरान: धरान १५ स्थित अस्थायी प्रहरी चौकी आक्रमणमा संलग्न रहेको आशंकामा केही व्यक्तिहरु पक्राउ परेका छन् । 

घटना भएको ३ दिन बितिसक्दा पनि प्रहरीले उक्त घटनामा संलग्नहरु पक्राउ परेकोबारेमा औपचारिकरुपमा जानकारी दिएको छैन । पक्राउ परेकाहरुबारे प्रहरीले गुपचुप नै राखेको छ । स्रोतका अनुसार अहिलेसम्म घटनामा संलग्न ३ जना पक्राउ परिसकेका छन् । ती मध्ये कालु भन्ने मुख्य अभियुक्त पनि पक्राउ परिसकेको स्रोतको दाबी छ । ‘अहिलेसम्म ३ जना नै घटनामा संलग्न हो भन्ने छ, अरु पक्राउ पर्न बाँकी रहेकोले सार्वजनिक नगरिएको हो,’स्रोतले भन्यो ।

बिहिबार साँझ दुई जना युवाहरु ज्यान जोगाउन प्रहरी चौकीमा पुगेका थिए । उनीहरुलाई खोज्दै आएको हतियारधारी युवाहरुको समुहले प्रहरी चौकीभित्रै आक्रमण गरेका थिए । त्यसक्रममा चौकी इञ्चार्ज सुमन दाहालसहित अन्य प्रहरी घाइते भएका थिए । उनीहरु भाग्नु अघि चौकीमा ढुंगामुढा गर्दै तोडफोडसमेत गरेका थिए । घटना पछि प्रहरीले संलग्नहरुको खोजी तीब्र बनाएको थियो । 

ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले उक्त घटनाबारे सुचना दिइहाल्ने अवस्था नरहेको बताए । उनले भने,‘प्रगतिउन्मुख नै छ, तर सुचना दिइहाल्ने अवस्था छैन । काम भइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नरेन्द्र कार्कीले पनि अनुसन्धान जारी रहेको र प्रहरी टोली निष्कर्ष नजिक पुगेको बताए । ‘हाम्रो टिम लागिरहेको छ, नजिक नजिकै छौं । सफलता मिलेपछि प्रेस रिलिज गरिहाल्छौं,’उनले भने ।