धरान: धरानको सेउती खोलामा बर्षाको बेला ठुलो बाढी आउछ । उक्त बाढीले खोला किनारमा रहेको वस्तीलाई हरेक बर्ष जोखिम मात्र होइन, क्षति पनि पुर्याउने गरेको छ । 

यसपाली पनि बर्षा लागेसँगै सेउती खोला किनारमा रहेको धरान ५, तल्लो देउरालीका बस्तीबासीहरु चिन्तित छन् । उनीहरुले वस्ती जोगाउनको लागि सेउती खोलालाई बीच भागमा च्यानलिङ गरेर बाढीलाई बस्तीतर्फ पस्न नदिन उपमहानगरपालिकासँग माग गरेका छन् । स्थानीयको माग वमोजिम धरानका मेयर तिलक राईले हिजो (शुक्रबार) र आज शनिबार प्राविधिक, स्थानीय नेताहरुसहित स्थलगत अनुगमन पनि गरेका छन् । 

स्थानीय राजनीतिकर्मी स्वर्णिमहाङ फोम्बोका अनुसार सेउती खोलामा गिट्टी, ढुंगा थुप्रिदै गएको र वस्तीभन्दा माथि खोलाको माग हुँदा बर्षाको बाढी वस्तीतिर सोधै पस्ने भएकोले धेरै क्षति हुने खतरा छ । त्यसैले स्थानीयबासीले वस्ती जोगाउनको लागि खोलालाई बीचमा च्यानलिङ गरेर किनारतर्फ राख्न माग गरेका हुन् । सोही माग अनुसार शुक्रबार मेयर आएर स्थानीयसँग छलफल गरेका थिए भने आज शनिबार प्राविधिकसहित पुगेका थिए । ‘वस्ती जोगाउन बीचमा च्यानलिङ गरेर खोलाको बाढीलाई बस्तीमा आउन दिनुहुदैन । सँगसँगै सुन्दर वस्तीको पुछार र अधेरी खोलातर्फ बन्दै गरेको पुलसम्म यु टर्न गरेर रिङरोडको पनि अवधारणा बनेको छ,’फोम्बोले भने,‘त्यसैको लागि प्राविधिकसहित खोलाको भाग र बाटोको लागि जग्गा छुट्याउन स्थलगत अवलोकन भएको हो ।’

seuti1

मेयर तिलक राईले स्थानीयबासीले सेउतीमा ढुंगागिट्टी थुप्रिएको कारण बर्षामा बाढीले वस्ती क्षति गर्ने खतरा भएको भन्दै च्यानलिङ गर्न माग गरे अनुसार स्थानीय दैवि प्रकोप समितिमार्फत निर्णय गरेर जिल्लामा पठाइएको बताए । सेउतीमा वस्ती जोगाउन च्यानलिङ गर्ने र त्यही ढुंगा,गिट्टी उपयोग गरेर बाटो पनि बनाउने अवधारणा तयार भएको उनले बताए । ‘पानवारी जाने बाटोलाई पनि र वस्तीलाई पनि बाढीले क्षति पुग्छ । बर्षामा यो हरेक बर्ष समस्या देखिन्छ,’मेयर राईले भने,‘त्यसैले वस्तीलाई पनि जोगाउने र त्यहीको साधनस्रोत प्रयोग गरेर बाटो पनि बनाउन सकिन्छ । स्थानीयबासीले पनि रिङरोड बनाउन माग गरेका छन् ।’ यो अवधारणा कार्यान्वय भएमा खोला अतिक्रमण पनि रोकिने र वस्ती पनि जोगिने उनले बताए ।