इटहरी: तँ चिता मात्रै म पुर्याउँछु भन्ने उखान ठ्याक्कै ब्यवहारमा लागु भएको छ इटहरीको कृषि–पशु पकेट क्षेत्रका किसानको जीवनमा । रैथानेजातका बाख्राले खासै आम्दानी नदिएर अवाक भएका किसानलाई इटहरी उपमहानगरपालिकाले उन्नत बोयरजातका बाख्रा बितरण गरेपछि पकेट क्षेत्रका किसानको सोच नै परिवर्तन भएको छ ।
बाख्रै नपाल्ने हो कि भन्ने सोचाईको बिकाश भएका बेला उपमहानगरले बोयर प्रजातिका बाख्रा किसानलाई बितरण गरेर उत्साह थपिदिएको हो । इटहरी १७ का ध्रुब नेपाल अहिले तिनै निःशूल्क पाएको बोयर हुर्काउँदै अब जीविकोपार्जन सहज हुने आकलन गर्न थालेका छन् । अहिले उनको खोरमा ४ वटा बाख्रा थपिएकाछन् ।
नेपालका अनुसार अघिल्लो छिमलमा उनले पालेको बोयर बोकाबाट १ सय ५० ओटा बाख्रा भरना भएका छन् भने यो सिजनमा दिनहुँ जस्तो छिमेकी बाख्रा लिएर आउने गरेका छन् । ‘लोकल जातको ३ महिनाको बोकालाइ ७ हजारसम्ममा मुस्किलले जान्थ्यो । यो पटक ३ महिनाको बोका १७ हजारसम्ममा बेचियो,’नेपालले सफलता सुनाए ।
उता इटहरी २० शन्ति टोलका गणेस पोख्रेलले नगरपालिकाबाटै कोरली बाच्छि पाए पछि त्यसलाई माउ बनाएर अहिले दूध बेच्न र आफूलाई खान पुर्याउन थालेका छन् । ‘दुध किन्न व्यापारी घरमै आउँछन् । घर नजिकै ठुलो दुग्ध सहकारी सँस्था हुनाले दुध बिक्रि नहोला कि भन्ने चिन्तै छैन ।’ पोख्रेलले भने ।
इटहरी १० कि सन्जा चौधरी र इटहरी १५ की शर्मिला चौधरीेले नगरपालिकाबाट सँचालित कृषि पकेट क्षेत्र अन्तर्गतको कार्यक्रमबाट मौसमी र बेमौसमी तरकारी उत्पादनको बारेमा ज्ञान लिए । उन्नत जातको बीउसमेत अनुदानमा पाएका उनीहरुले कुन सिजनमा कस्तो तरकारी लगाउँदा राम्रो उत्पादन गर्न सकिन्छ र रोग किराको प्रकोपबाट कसरी बच्न सकिन्छ भन्ने कुरा थाहा पाए । अहिले उनीहरुको करेसावारीमा मनग्ये तरकारीका फल्ने गरेको छ । घरखर्च टर्न समस्या छैन । ‘आफ्नोसहित छिमेकको बारी पनि भाडामा लिएर तरकारी खेती गरेका छौँ,’सन्जाले भनिन्,‘स्याहार गर्ने तरिका जानेर र राम्रो बीउ पाएपछि त तरकारी धेरै फल्यो नी ।’
उनकोजस्तै शर्मिलाको बारीमा पनि अहिले सिजनल तरकारी बढेका छन् । तर, लकडाउनको समय भएपनि उनीहरुलाई बेच्न भने समस्या छैन । ढाकीमा राखेर घरघर पुर्याउने उनीहरु धेरै फलेपछि अहिले व्यापारीहरु बारीमै किन्न पुग्छन् । ‘तरकारी राम्रो हुन थालेपछि त पैसा पनि बढ्यो,’शर्मिलाले भनिन्,‘अहिले घर चलाउन श्रीमानसँग मागिरहनु पर्दैन ।’
इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा कृषि र पशु विकास कार्यक्रम अन्तर्गत ३ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । कृषिभुमिमा तीव्र शहरीकरण हुनथालेपछि कृषि क्षेत्रलाई प्रोत्साहन गर्दै विभिन्न कार्यक्रम ल्याएको नगरपालिकाले नगरका २० वडालाई विभिन्न शीर्षकमा पकेट क्षेत्र छुट्याएरै कार्यक्रम सँचालन गरेको छ । जसमा किसानको समेत सहभागी हुने गरि साझेदारी कार्यक्रम देखि शतप्रतिशत सम्मको सहयोग गर्दै आएको छ ।
इटहरी उपमहानगरपालिकाले ७ वटा पशुपंक्षी र ६ वटा कृषि पकेट क्षेत्र घोषणा गरेर किसानलाई पर्यावरण मैत्री उत्पादनमा आकषर््ाण बढाई रहेको छ । वडा नं.१, २, ३, ५, ७, ८, १३ र २० गाई, वडा न ३, ७, १६, १७, १९, २० भैसी, वडा नं. ३, १३, १४, १५, १६, १८, १९ २० बाख्रा, वडा नं. ३, ४, १०, ११, १२, १९ बंगुर, वडा नं.१, ७, १० ,११, १४, १५,१६, १७, १८, १९ माछा, र वडा नं. १, १०, ११, १९, १४, १५, १६, १७, १८ लाई कुखुराको पकेट क्षेत्र निर्धारण गरेको छ ।
त्यस्तै कृषि तर्फ वडा नं. ३, ४, १९, २०, १४, १५, १६, १७, १८, १, ७ धान, वडा नं. २०, १६, १८, १९, १७, ३, ४ मकै, वडा नं.११, १३, १२, १४, १५, १६, २०,१९, १८, गहुँ, वडा नं. ३, २, १२, १३, १४, १५, १६, १७, १९, २० तरकारी, वडा नं. ४, ५, ६, ९ २०, १२ कौशी खेती र वडा नं. ३, २, ४, १७, १८, १९, २० लाई च्याउको पकेट क्षेत्र निर्धारण गरिएको छ ।
इटहरी क्षेत्र भित्र कुल कृषियोग्य जमिन ७ हजार १ सय ५ हेक्टरमा धानका लागि ८९.७४ हेक्टर, तरकारीका लागि ४२.१४ हेक्टर, मकैका लागि १३.५७ हेक्टर, गहुँका लागि ३१.४३ हेक्टरको जमिन उपयुक्त हुँदै आएको छ । योसँगै अन्य मौसमी र बेमौसी तरकारी तथा नगदे बालि एवंम दाल र तेलहन बालिको समेत खेती हुने गरेको छ । जसका लागि नगरपालिकाले उन्नत जातको बीउ, मल्चिङ प्लास्टिक, आधुनिक उपकरण, खेतीसीप लगाएतको सहयोग गरिरहेको कृषि शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिइन् । उनका अनुसार यो सहयोग दिने कार्य पकेट क्षेत्रको आधारमा हुने गरेको छ । ‘नगरपालिकाले त्यहाँको सम्भाव्यताको अध्ययन गरेर कुन वडामा के खेती गर्ने भन्ने कुराको निक्र्यौल यस अघि नै गरिसकेको छ,’अधिकारीले भनिन्,‘यसले गर्दा खास लाभग्राहीले नगरको सेवा पाउँदा उपयोगी हुने गरेको छ ।’
इटहरी उपमहनगरपालिकाकी उपप्रमुख लक्ष्मि गौतमका अनुसार कृषिमा छुटिएको बजेट मात्र नभए उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत कृषि पकेट क्षेत्रको आधारमा किसानलाई सहयोग जारी छ । जसका लागि कौसी खेती, नगदे वाली र तरकारी खेतीका लागि यस कार्यक्रमले सहयोग पुयाउँदै आएको छ । ‘कृषिको बजेटले मात्र नपुग्ला की भनेर उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत दर्जनौँ दिदीवहिनीलाई आयस्तर उकास्न सहयोगी कार्यक्रमको डिजाइन गरेका हौँ,’उनले भनिन्,‘न्यून आय भएकालाई बढि प्राथमिकतामा राखेर पकेट क्षेत्र छुट्याएकै क्षेत्रमा के कति कार्यक्रम अनुसार बजेट दिन सकिन्छ भनेर काम गरिरहेका छौँ । यसले महिलाको आयबृद्धिमा टेवा पुर्याइरहेको छ ।’
बढ्दैगएको शहरीकरणलाई मध्यनजर गरेर इटहरीलाई उत्पादनमा आत्मनिर्भर बनाउन शहरी क्षेत्रमा कौसीखेती कार्यक्रम प्रभावकारी बनिरहेको उनको तर्क छ । ‘भान्सामा चाहिने तरकारी आफ्नै कौसीबाट उत्पादन गर्न सकिन्छ । यो कुरा हामीले सहरी क्षेत्रका दिदीबहिनीलाई बुझाएका छौँ,’उनले भनिन्,‘नगरपालिकाले थोरै सहयोग गर्न सक्दा राम्रो नजिता आउँदो रहेछ । यसले शारिरीक श्रम पनि भयो र पकेटको खर्च पनि जोगियो । त्यसैले यसलाई अर्को पकेट क्षेत्र अन्तर्गत कार्यक्रम बनाएका हौँ ।’
नगरपालिकाले हरेक साल कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रमात्र नभइ उद्यमशीलता र अन्य विकास कार्यक्रमको शीर्षक अन्तर्गत पनि कृषिलाई छुने गरि कार्यक्रमको ढाँचा बनाइने गरेको गौतमले जानकारी दिइन् । उनका अनुसार यसरी बनाइने कार्यक्रम यसअघि नै निर्धारण गरेको पकेट क्षेत्र अन्तर्गत वितरण हुने गर्छन् । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न कृषिको विकास अनिवार्य भएको हुँदा कृषिलाई यान्त्रीकरण आवश्यक भएको तर्क गरे । किसानको क्षमता अभिबृद्धि गर्दै दीगोकृषि विकास लक्षित कार्यक्रममा नगरको ध्यान रहेको भन्दै किसानको सघन बसोबासको क्षेत्रलाई नगरका हरेक नीति कार्यक्रमले उचित प्राथमिकतामा राखेको स्पष्ट पारे ।
‘जति काम गर्नुपथ्र्यो त्यो बजेटको अभावको कारणले गर्न नसकिएको होला । तर, हामीलाई कृषिको विकासका लागि विशेष पहल गरिरहेका छौँ ।’ चौधरीले भने ‘ आउँदो आर्थिक वर्षका लागि कृषि क्षेत्रलाई पर्याप्त बजेट पर्ने गरि सिलिङ तोकिएका हुँदा यस क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ ।’
विज्ञका कुरा
इटहरी क्षेत्र खेती र पशुपक्षी पालका लागि लागि उर्वर भुमी भएको हुँदा यहाँ किसान अनुकुल मौसम रहेको विज्ञहरु बनाउँछन् । तरहरा कृषि अनुसन्धान निर्देशनालयकाका बरिष्ठ फलफूल बैज्ञानिक मनिष कुमार ठाकुरका अनसार इटहरी हावापानी सुहाउँदिलो आँप, लिचि, मेवा, कागती लगाएतका फलफूल हुन सक्छ । ‘अहिले छोटो समयमा धेरै उत्पादन गर्न सकिने फल ड्रागन फ्रुट् हो । यसले धेरै किसानको ध्यान तानेको हुँदा इटहरी भित्रको माटो र हावापानीमा यसको राम्रोसँग खेती गर्न सकिन्छ,’उनी भन्छन् ‘सरकारले यसलाई समेत पकेट क्षेत्रको रुपमा विकास गरि यसको बजारिकरणका लागि सहजिकरण गरिदिने र बेर्ना तथा खेती लगाउने बारे सघाउ पुर्याए किसानले बढि लाभ लिनसक्थे ।’
निर्देशनालयकै वागवानी अनुसन्धान इकाइका प्राविधिक एवंम तरकारी वालिविज्ञ डिल्लि भट्टराईका अनुसार इटहरीका २० ओटै वडा तरकारी खेतीका लागि उपयुक्त हावापानी भएको स्थान हो । ‘यहाँको माटोको उर्वराशक्ति र अनुकुल मौसमका कारण मौसमी र बेमौसी खेती गर्न वर्षभरी नै सकिने अवस्था छ,’उनले भने,‘नगरपालिकाले निरन्तर रुपमा किसानको सहयोगीको रुपमा काम गरिदिने र बजारको सहज प्रबन्ध मात्र गरिदिए प्राविधिक हिसाबले तरकारी फल्न एकदमै उपयुक्त माटो छ ।’
इटहरी बजार क्षेत्रमा धेरै किसानले माछाको व्यवसायीक खेती गरेका छन् । यसका लागि माछाको पकेट क्षेत्र नै छुट्याएर पोखरी खन्ने, पोखरी प्लास्टिकको सहुलियत देखि माछाका भुराको समेत प्रबन्ध गर्ने गरेको छ । तरहरा कृषि निर्देशनालय महस्य विकास केन्द्रकी बरिष्ठ माछा बैज्ञानिक उमिता शाहका अनुसार उन्नत जातका माछाबाट यस भेगमा राम्रो आम्दानी लिन सकिन्छ । उनका अनुसार माछालाई आवश्यक तापक्रमको सन्तुलन मिलेको क्षेत्र इटहरी नै भएको हुँदा छोटो समयमा माछाबाट राम्रो आम्दानी लिन सकिन्छ । ्
तरहरा कृषि अनुसन्धान केन्द्रमा महस्य विकास केन्द्र समेत भएको हुँदा कम लागतमा बढि मुनाफा लिन सकिने माछाको प्रजाती विकास भएको छ । जसका लागि टिलापिया, ग्रासकार्प र कपन कार्पका विकसित भुरा, पंगास, रहूको विकसित जात लगाएतका माछा यहाँबाट लगेर पनि किसानले यथोचित लाभ लिन सक्नेछन् ।
‘हामीसँग यहि वर्ष मात्रै २ करोड पिच ह्याचरी, १५ लाख पिस फ्राइ साइजका भुरा(३० दिनका), १ लाख पिस फ्रिङ्गरिङ साइजका भुरा (९० दिनका) र ४ टन खानेमाछा उत्पादित छन्,’शाहले भनिन्,‘अन्य साल किसानले सहुलियत लिएर जान्थे । यो सिजनमा अझैसम्म किसान आइपुगेका छैनन् । उत्पादित माछा खेर जालाकी भन्ने चिन्ता छ ।’ उनका अनुसार इटहरी क्षेत्रमा माछा राम्रोसँग फस्टाउने हुँदा किसानले यहाँ विकास गरेका उन्नत जातका माछा लगाए छोटो समयमा चाँडो प्रतिफल लिन सक्छन् ।
पकेट क्षेत्रका चुनौती
वडागत तहमा पकेट क्षेत्र छुट्याएर कृषिका कार्यक्रम सँचालन गर्दा सो क्षेत्रका किसानले लाभ लिएपनि अन्य क्षेत्रका सोहि प्रकृतीका काम गरिरहेका किसानहरु भने यो सेवा पाउन सकेका छैनन् । ‘राज्यको नीतिले एउटा वार्डमा एउटै उत्पादनलाई मात्रै फोकस गर्नु भन्नेछ,’उपमेयर लक्ष्मि गौतमले भनिन् ‘एउटा वडामा सबैखाले उत्पादन भएको हुँदा एकै उत्पादनलाई लक्षित गरि विशेष कार्यक्रम चलाउन कठिन हुने रहेछ ।’
अहिले चालु आर्थिक वर्षको अन्त्य भएको र अर्को आर्थिक वर्षका लागि नीति कार्यक्रम तय गर्ने समय घर्किनलागेकाले सोचेअनुसारकृषिका सबै कार्यक्रम गर्न नसकिएको उनको भनाई छ । यो चालु आर्थिकवर्षका लागि विदेशबाट फर्किएका युवा लक्षित स्वरोजगार कार्यक्रमका निम्ति छुट्याइएको ४० लाख रकम खर्च हुन पाएको छैन । ‘दुुइदुुइ पटक सुचना प्रकाशित गरि खबर गर्दा पनि हामीले राखेको मापदण्ड अनुसार युवा किसानको प्रश्ताव आब्हान नै भएन,’उनले भनिन्, ‘पकेट क्षेत्र छु्टयाएको आधारमा किसानको मागदाबि होला भन्ने थियो। लकडाउनको कारण हो की के भएर हो, किसान आएनन् ।’
कृषि बजेटको समस्या
चालु आर्थिक वर्षको करिव १ अर्व ९५ करोडको बजेटमा कृषि क्षेत्रलाई २ करोड ७५ लाख मात्र बजेट कृषि क्षेत्रकालागि छुट्याइनुले कृषिक्षेत्र जनप्रतिनिधिको प्राथमिकतामा परेपनि बजेट उच्च प्राथमिकतामा नपरेको प्रष्टै छ । इटहरी नगरले अर्थतन्त्रको आधार कृषिलाई मानेको छ । इटहरीको कुल भुभाग मध्ये करिब ७७.६७ प्रतिशत उत्पादनयोग्य भुमी छ । इटहरी नगर क्षेत्रको खाद्यान्न र तरकारीको मागलाई यहिको उत्पादनले पुर्याउने लक्ष्य अनुसार गाउँमा पकेट क्षेत्र र शहरमा कौशीखेतीको प्रावधान अनुरुप कार्यक्रम सँचालन गर्दै आएको नगरपालिकाको दाबी छ ।