धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरुले चार जना पदाधिकारीहरु नमिल्दा समस्या भएको बताएका छन् । 

धरान नागरिक दबाब सञ्जालले आयोजना गरेको अन्र्तक्रियामा विभिन्न महाशाखा तथा शाखा प्रमुखहरुले चार जना पदाधिकारीहरु एक नहुँदा आफुहरुलाई काम गर्न कठिनाइ भएको र प्रतिष्ठान पनि थप धरासायी हुदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले चार जना पदाधिकारी मिल्नुको विकल्प नभएकोमा पनि जोडदिए ।

प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापाले चार जना पदाधिकारीहरुले विगतका एक बर्षमा शाखा, महशाखा प्रमुखहरुलाई एक ठाउँमा राखेर छलफल नै नगरको बताए । उनले कार्यकारणी समितिका व्यक्तिहरु मिलेर निर्णय गर्न नसकिरहेको भन्दै पदाधिकारीहरुको बेमेलको कारण समस्या बढेको बताए । चार जना पदाधिकारीहरुमा चारै जना डाक्टर भएको र मिलेन अघि बढ्नुको विकल्प नभएको थापाले बताए । 

उनले वीपीलाई भ्रष्टचारको अखडा हो भन्ने स्थापित गराउन केही व्यक्तिहरु सक्रिय रहेको भन्दै सबै पदाधिकारी पैसा बुझाएर भ्रष्टचार गर्न मात्र नआउने बताए । उनले भने,‘यहाँ आउने पदाधिकारी मन्त्री, सम्बन्धित व्यक्तिलाई पैसा खुवाएर आउछन्, र भ्रष्टचार मात्र गर्छन् भन्ने स्थापित गर्न खोजिएको छ, तर सबै त्यस्ता हुदैनन् ।’

bp-interac

उनले पदाधिकारीहरुलाई मात्र दोष दिनु ठिक नहुने भन्दै विभागीय प्रमुख, चिकित्सक, महशाखा, शाखा प्रमुखहरु सबै नै राजनीति गर्ने र अनुशासनमा नबस्ने भएकोले नै समस्या बढेको औल्याए । ‘कोही पनि अनुशासनमा छैनन् । सबैलाई राजनीति गर्नुछ, अनि कसरी संस्था अघि बढ्छ ?’उनले भने,‘चार जना बसेर महाशाखा, शाखा प्रमुखहरुलाई एक ठाउँमा राखेर छलफल त गरेका छैनन् । पानी सफा हुनलाई पहिला मुहान सफा हुनुपर्छ, पहिला चारै जना सुध्रिनु पर्छ ।’

कर्मचारी प्रशासन शाखा प्रमुख उमेश कोइरालाले पदाधिकारी नियुक्तीमा नै समस्या भएको औल्याउदै प्रशासनिक दक्षता भएका व्यक्तिहरु मात्र पदाधिकारीमा नियुक्त गरिनुपर्ने बताए । ‘पदाधिकारीमा प्रशासनिक दक्षता भएको व्यक्ति नियुक्ती हुनुपर्छ, मेडिकल डाक्टरले हुदैन,’उनले भने ।

कर्मचारी प्रशासन शाखाका महेश्वर राईले वीपी सुधार हुनुपर्छ भनेर धरानमा ९ राजनीतिक दल मिले जस्तरी नै वीपीका चार जना पदाधिकारीहरु पनि मिल्नुपर्नेमा जोडदिए । चार जना पदाधिकारी नै डाक्टर नियुक्त भएको भन्दै उनले प्रतिष्ठानमा आवश्यक मेशिन, उपकरणहरु खरिद नभइरहेकोमा पनि प्रश्न गरेका थिए । ‘९ वटा दल मिल्न सक्छ भने वीपीका चार जना पदाधिकारी किन मिल्न नसक्ने ?,’उनले भने,‘चारै जना डाक्टर हुनुहुन्छ, तर एमआरआई, सिटिस्क्यान मेशिनहरु किन खरीद नभएको ? त्यसको महत्व डाक्टरलाई भन्दा बढी कसलाई थाह हुन्छ ?’

bp-interat2

परीक्षा शाखा प्रमुख प्रकाश श्रेष्ठले वीपीमा एउटा नराम्रो काम भएमा हप्ता दिनसम्म मिडियामा समाचार आइरहने तर राम्रो काममा चर्चा नहुने भन्दै असन्तुष्टी प्रकट गरे । उनले वीपीका उत्पादन चिकित्सकहरु विश्वको जुनसुकै मुलुकमा आफुलाई अब्बल सावित गरिरहेको र सुलभ मुल्यमा बिशेषज्ञ सेवा वीपीले दिइरहेको बताए । उनले भने,‘हरेक दिन जसो नेगेटिभ समाचार मात्र आउछ । एउटा नराम्रो कामको चर्चा साताभरि हुन्छ । तर राम्रो कामको चर्चा नै हुदेन ।’

प्रतिष्ठानकी मेट्रोन गायत्री राईले पनि पदाधिकारीहरु नमिल्दा काम गर्ने सहज वातावरण नभएको बताइन् । इलेक्ट्रोमेड इञ्जिनियर राहुल मिश्रले केही मिडियाले आफ्नो चरित्र हत्या गर्ने गरि समाचार प्रकाशित गरेको भन्दै प्रमाणित गरिदिए जागिर छोड्न तयार रहेको बताए ।अन्र्तक्रियामा राजनीतिक दलहरुकोतर्फबाट बोल्दै सुजेन्द्र गोले तामाङले रजिष्ट्रारमा नियुक्त भएपछि नियमावलीले तोकेको भन्दा विपरीत हालका रजिष्ट्रारले प्राध्यापक चिकित्सकको हैसियतमा तलब र सतप्रतिशत आकर्षण भत्ता पनि लिइरहेको भन्दै प्रश्न उठाएका थिए ।