धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी अस्तब्यस्त प्रतिष्ठानलाई छोडेर गायब भएको भन्दै यहाँका राजनीतिक दल र नागरिक दबाब सञ्जालले ३ दिने अल्टिमेटम दिएका छन् । 

धरानका विभिन्न ९ राजनीतिक दल र नागरिक दबाब धरान सञ्जालले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै उपकुलपति डा.गिरीलाई ३ दिनभित्र सम्पर्कमा आएर वार्ता गर्न अल्टिमेटम दिएका हुन् । उपकुलपति डा.गिरीले ३ दिनभित्र समस्या समधानको लागि वार्ता नथाले कठोर आन्दोलन गर्ने राजनीतिक दल र दबाब समुहले चेतावनी दिएका छन् । दबाब समुहका संयोजक राजेन्द्र शर्मा र सदस्य सचिव कमल तिगेलाले विज्ञप्ती जारी गर्दै वार्ता थाल्न वा अर्को चरणको कठोर आन्दोलनको सामाना गर्न तयार रहन चेतावनी दिएका छन् ।

राजनीति दलहरुले पनि प्रतिष्ठानमा देखिएको सबै खाले समस्या, विकृति, विसंगति, भ्रष्टचार तथा अनियमितता अन्त्यको लागि जस्तो सुकै कठोर कदम चाल्न पनि तयार रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् । दलका नेताहरुले तीन दिनभित्र देश विदेशको जुनसुकै कुनामा लुकेर बसेको भएपनि कार्यकक्षमा उपस्थित भएर नागरिक दबाब सञ्जालसँग चारै पदाधिकारीसहित अविलम्ब वार्ता गर्न उपकुलपति डा.गिरीलाई अपिल पनि गरेका छन् । 

दबाब सञ्जालले गत जेठ २४ गते चारै जना पदाधिकारीलाई एक साताको अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको थियो । अल्टिमेटम अवधि पुरा हुन २ दिन अघिदेखि उपकुलपति गिरी भने काठमाण्डौंमा छन् । त्यसबीचमा प्रतिष्ठानको अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराउने डा.विष्णु पोखरेललाई काठमाण्डौंबाटै स्पष्टीकरण पत्र काटेपछि चिकित्सक, विद्यार्थी, कर्मचारी र स्टाफ नर्सहरु विगत १० दिनदेखि आन्दोलनमा छन् । आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गर्न उपकुलपति डा.गिरीले समिति गठन गरेपनि आन्दोलनरत पक्षले उपकुलपतिको उपस्थितिमा मात्र वार्ता गर्ने अडान लिएपछि वार्ता अघि बढ्न सकेको छैन । 

bp-press1bp-press