धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्यको लागि रिले अनसन शुरु गरिएको छ ।
संयुक्त संघर्ष समितिले आज सोमबारदेखि रिले अनसन शुरु गरेको हो । संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलको नेतृत्वमा आधा दर्जन डाक्टरहरु अनसनमा छन् । विगत दुई सातादेखि निरन्तर आन्दोलन जारी राखे पनि पदाधिकारीहरुले सुनुवाई नगरेपछि आन्दोलनको स्वरुप परिवर्तन गर्दै संघर्ष समितिले आजदेखि अनसन थालेको हो ।
सहसंयोजक डा.पोखरेलले प्रतिष्ठान सुधार र सुदृढिकरणको लागि चिकित्सक कर्मचारीहरु कति प्रतिवद्ध र समर्पित छन् भनेर देखाउन रिले अनसनस शुरु गरेको बताए । अनसनले पनि पदाधिकारीहरुको रवैया नफेरिए आमरण अनसन र सामुहिक राजिनामा गर्ने उनले चेतावनी दिए । पदाधिकारीहरुले प्रयोग गर्दै आएको प्रतिष्ठानको गाडी सदुपयोग हुन नसकेको भन्दै संघर्ष समितिले हिजो आइतबार चाबी जफत गरेको थियो । पदाधिकारीहरुले प्रयोग गर्दै आएको प्रतिष्ठानको गाडीको चाबी जफत गरेको थियो ।
अब पदाधिकारीहरुले प्रयोग गर्ने गाडीमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम लेख्ने पनि उनले बताए । यसले सार्वजनिक ठाउँमा लामो समय पार्किंग हुँदा जो कोहीले प्रश्न गर्नसक्ने र दुरुपयोग रोकिने डा.पोखरेलले बताए । ‘पदाधिकारी चढ्ने गाडीमा रातो नम्बर प्लेट छ, अब सचेत गराउन सबैले देख्ने गरेर वीपी प्रतिष्ठान लेख्नुपर्ने बनाउछौं । सार्वजनिक ठाउँमा लामो समय पार्किङ हुँदा सर्वसाधारणले प्रश्न उठाउने ठाउँ हुन्छ, र दुरुपयोग रोकिन्छ,’उनले भने ।